चीनले लद्दाखका २८ स्थानलाई आफ्नो क्षेत्र दाबी गरेको छ । भारतले ती २८ स्थानको नाम परिवर्तन गर्ने निर्णय गरेपछि चीनले कडा आपत्ति जनाएको हो । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मंगलबार भनेकी छन्, ‘भारतले एकतर्फी र गैरकानुनी तरिकाले बनाएको तथाकथित ‘लद्दाख केन्द्र शासित प्रदेश’लाई कहिल्यै मान्यता दिएको छैन र तथाकथित ‘मानक नाम’ (स्ट्यान्डर्ड नेम्स) घोषणाप्रति कडा विरोध गर्छौँ ।’
भारतको गृह मन्त्रालयले यही अक्टोबर २ तारिख लद्दाखका २८ स्थानका लागि ‘मानक नाम’ घोषणा गर्ने तथा तिनलाई आधिकारिक नक्सामा समावेश गर्ने निर्णय गरेको हो । ती स्थानमा गोगरा र हट स्प्रिङजस्ता क्षेत्र पनि पर्छन् । जहाँ २०२० मा भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो । यस विषयमा गरिएको प्रश्नमा चिनियाँ प्रवक्ता माओ निङले भनेकी छन्, ‘यो कदम अवैध र अमान्य छ र चीन–भारत सीमाको पश्चिमी भागमा सम्बन्धित क्षेत्रहरू सधैँ चीनको हिस्सा रहेको तथ्यलाई परिवर्तन गर्न सक्दैन ।’
भारतले अक्टोबर २ मा आधिकारिक रूपमा ती क्षेत्रहरूलाई तोकेको थियो। यसमा गोगरा र हट स्प्रिंग जस्ता क्षेत्रहरू समावेश छन्, जहाँ २०२० मा भारतीय र चिनियाँ सेनाहरू बीच तनाव उत्पन्न भएको थियो । यसैबीच लद्दाखका विषयमा भारतले पनि जवाफ दिएको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले लद्दाख भारतको अभिन्न अंग भएको बताएका हुन् । उनले भनेका छन्, ‘केन्द्र शासित प्रदेश लद्दाख भारतको अभिन्न अंग हो र चीनको कुनै दाबीले यो तथ्य बदल्न सक्दैन ।’

