सरकारी सेवाबाट राजीनामा दिने लहर निरन्तर छ । यही असोज १ देखि १४ गतेसम्म मात्र ७६ कर्मचारीले राजीनामा दिए । यो समयमा नौ दिनबाहेक अन्य दिनमा सरकारी बिदा रहेको थियो । त्यही नौ कार्यदिनमा ७६ कर्मचारीको राजीनामा आएको हो । विशिष्ट श्रेणीका सचिव एक, सहसचिव छ, उपसचिव १३ राजीनामा दिएका छन् ।
अवकाशअगावै राजीनामा दिने शाखा अधिकृतको संख्या १६ छ । राजपत्रअनङ्कित सहायकस्तरका कर्मचारीहरू मध्येबाट २३ जना राजीनामा दिँदै सरकारी सेवा टुटाएका छन् भने १७ जना तहविहीन कर्मचारीहरू पनि राजीनामा दिँदै सेवाबाट बाहिरिएका छन् । निजामती सेवामा नयाँ सरकार आएसँगै राजीनामा दिँदै बाहिरिने क्रम सुरु भएको थियो ।
त्यसरी राजीनामा दिने ‘ट्रेन्ड’ अझै रोकिएको छैन । खासगरी सरकारले अध्यादेश जारी गरी पुराना कर्मचारीलाई बिदा गर्ने चर्चा चलेसँगै वैशाखबाटै राजीनामाको क्रम सुरु भएको थियो । अझ तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐन संशोधनको मस्यौदा तयार पारी गत जेठ १२ मा कानुन मन्त्रालय पठाएपछि सरकारले ३०–५५ वर्ष लगाउँदै कर्मचारी हटाउन लागेको विषयले आधिकारिकता पाएको थियो ।
त्यही मस्यौदाले संसदीय चरण पार गर्दै कानुन आउँछ वा अध्यादेशका रूपमा भन्ने अन्योलबीच असार महिनामा मात्र २०८ कर्मचारी अवकाशअगावै राजीनामा दिँदै बाहिरिएका थिए । सरकारले संघीय निजामती ऐन अध्यादेशबाट ल्याउने वा विधेयकबाट भनी प्रस्ट नपार्दा ३० वर्षभन्दा बढी सेवाअवधि भएकाहरू त्रासमा परेका थिए ।
सरकारले असोज १५ मा संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । तर, निजामती सेवामा अध्यादेशको त्रासले छाडेको छैन । सरकारले यही असोज २१ मा तीनवटा अध्यादेश जारी गरेको थियो । कतिपय कर्मचारीहरू अझै अध्यादेश सम्भावना देख्दै राजीनामा दिँदै छन् । यही त्रासका बीच संघीय संसद् सचिवालयमा कार्यरत आठ जनाले असोज २२ मा राजीनामा दिएका थिए ।
त्यसैगरी अन्यत्रका कर्मचारीले पनि राजीनामा दिएको हुन सक्ने अनुमान निजामती किताबखानाका एक अधिकारीको छ । तर, सबैको राजीनामा किताबखानामा पुगीनसकेको, पुगेकाहरूको पनि इन्ट्री र एकीकृत तथ्याङ्क तयार हुन बाँकी रहेको ती अधिकारीले जानकारी दिए । अध्यादेश र ऐनबाटै ५५ वर्षे उमेरहद र ३० वर्षे सेवाहद लगाउँदै हटाउने हुँदा पाकिसकेको सेवासुविधाबाट बञ्चित हुनुपर्ने स्थितिसँगै वैशाखयता राजीनामा दिने लहर चलको हो ।
नियमित अवकाशबाहेक राजीनामा दिँदै सेवा छाड्ने निजामतीको संख्या ६१४ पुगेको छ । जसमध्ये चार जना त सचिव (विशिष्ट श्रेणी)का छन् । सहसचिव (राजपत्राङ्कित प्रथम श्रेणी) ३१ जना छन् भने राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरू १०८ जना छन् ।
शाखा अधिकृतबाट राजीनामा दिएर बाहिरिनेको संख्या १२६ पुगेको छ । राजपत्रअनंकित सहायकस्तरका कर्मचारीहरू १८२ जना राजीनामा दिँदै सेवाबाट बाहिरिइसकेका छन् । तहविहीन १६२ कर्मचारीहरूले राजीनामा दिएका छन् । अध्यादेशको त्रासले राजीनामा दिनेको तथ्याङ्क आइसक्दा यो संख्या अझ ठूलो हुने निजामती किताबखानाका अधिकारीको बुझाइ छ ।

