२०८३ असोज २८ , बुधबार 14, October 2026, Wednesday

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो

बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको छ । दसैँ मनाउन आफ्नो घर जाने यात्रु बढेसँगै कलंकीलगायत उपत्यकाका विभिन्न नाकामा यात्रु तथा सार्वजनिक सवारीसाधनको चाप देखिन थालेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २५ र २६ गते दुई दिनमा मात्रै एक लाख नौ हजार ६३६ जना यात्रुले उपत्यका छाडेका छन् । बाहिरिनेमा ६७ हजार ६९० पुरुष र ४१ हजार ९४६ महिला रहेका छन् ।

प्रहरीको तथ्यांक अनुसार असोज २५ गते ५२ हजार ८२७ जना र २६ गते ५६ हजार ८०९ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए । असोज २७ गतेको तथ्यांक भने सार्वजनिक भइसकेको छैन । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू गाउँ फर्किन थालेपछि कलंकी क्षेत्रमा पनि घर जाने यात्रुको चहलपहल बढेको छ ।

यात्रुहरू परिवार तथा आफन्तसँग चाडपर्व मनाउन आवश्यक सामानसहित गन्तव्यतर्फ लागिरहेका छन् । उपत्यकाबाट बाहिरिने यात्रुको चाप नागढुंगा–थानकोट, साँगा र दक्षिणकाली लगायतका नाकामा बढेको छ । पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी नागढुंगा नाकाबाट २७ हजार ६४९ र भक्तपुर नाकाबाट २० हजार ६१५ जना यात्रु बाहिरिएका छन् ।

यात्रुको चाप बढेसँगै ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरी टिकटमा हुने कालोबजारी, ठगी तथा यात्रुका गुनासो सम्बोधन गरिरहेको जनाएको छ । प्रहरीले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था बुझ्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार