नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे रहेको जनाएको छ । विजयादशमीका दिन बिहान ८ः४९ बजे देवी विसर्जन गरेपछि उक्त साइतमा टीका लगाउनु उत्तम हुने समितिले जनाएको छ ।
टीका लगाइदिने र लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्नेछ । समितिका अनुसार असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना गरिनेछ । घटस्थापनाको शुभसाइत बिहान ११ः४७ बजे रहेको छ । त्यस्तै, असोज २६ गते सोमबार बिहान १०ः०७ बजे पश्चिम मोहडा फर्काएर झण्डा फेर्ने शुभसाइत छ ।
असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा र असोज ३१ गते शनिबार फूलपाती परेको छ । फूलपातीका दिन श्री तुलजाभवानी यात्राको साइत बिहान ७ः३७ बजे र स्थिरासनको साइत बिहान १०ः३९ बजे रहेको छ । कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ भने कार्तिक ३ गते मंगलबार महानवमी परेको छ ।
विजयादशमीका दिन टीकाको साइतका साथै श्री तुलजाभवानी यात्राको साइत बिहान १०ः५१ बजे र स्थिरासनको साइत दिवा ११ः५२ बजे रहेको छ । सोही दिन खड्ग यात्रासमेत हुनेछ । समितिका अनुसार कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरेपछि यस वर्षको नवरात्र तथा दसैँ समापन हुनेछ ।

