२०८३ असोज २१ , बुधबार 7, October 2026, Wednesday

पूर्वाधारको पर्खाइमा पर्यटकीय क्षेत्र ‘रामारोशन’

प्राकृतिक सौन्दर्य, उच्च पहाडी पाटन, तालतलैया र जैविक विविधताले भरिपूर्ण अछामको रामारोशनमा पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेको छ । तर पर्यटकको संख्या बढ्दै गए पनि सडक, सञ्चार, आवास र खानेपानीलगायत आधारभूत पूर्वाधारको विकासले अपेक्षित गति लिन सकेको छैन ।

समुद्री सतहदेखि करिब दुई हजार ५० मिटरदेखि तीन हजार ७९२ मिटरसम्मको उचाइमा फैलिएको रामारोशन ‘बाह्र बण्ड, अठार खण्ड’ का नामले पनि परिचित छ । यहाँ १२ वटा ताल र १८ वटा ठूला पाटन तथा मैदान छन् । करिब ५२ बिघामा फैलिएको किनेमिने मैदान रामारोशन क्षेत्रकै ठूला मैदानमध्ये एक मानिन्छ । मैदानको बीचबाट कैलाश खोला बग्छ ।

रामारोशनका १२ तालमा सुनिवन, गेराहा–जिंगले, बाटुल्ला, लामादह, लिप्सेडाली, तल्लो धौने, माथिल्लो धौने, गाग्रे, रामे, ताउलो, डउटे र दल्लेना रहेका छन् । पर्यटन समितिको विवरणअनुसार जिंगाले ताल तीमध्ये सबैभन्दा ठूलो हो । किनेमिने, रोशनलगायत १८ वटा पाटनले क्षेत्रको प्राकृतिक आकर्षण थपेका छन् ।

रामारोशन प्राकृतिक सौन्दर्यसँगै जैविक विविधताका दृष्टिले पनि महत्वपूर्ण क्षेत्र मानिन्छ । यहाँ १२ प्रजातिका लालीगुराँस, डाँफे, मुनाल, कस्तुरी, झारल र घोरललगायत वन्यजन्तु तथा विभिन्न प्रजातिका जडीबुटी पाइने बताइएको छ । क्षेत्रमा सिमसार तथा उच्च पहाडी घाँसे मैदान पनि छन् । रामारोशन नामसँग रामे र रोशन नामका दुई दाजुभाइसँग सम्बन्धित स्थानीय किंवदन्ती जोडिएको छ ।

स्थानीय धार्मिक विश्वासअनुसार यहाँ शिव–पार्वतीको बासस्थान रहेको मानिन्छ । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक विविधताका कारण रामारोशनलाई सुदूरपश्चिमको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा लिइन्छ । पछिल्ला वर्षमा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट रामारोशनको प्रचार बढेसँगै आन्तरिक पर्यटकको आगमन पनि बढेको स्थानीय बताउँछन् ।

तर पर्यटकहरू आउनका लागि मुजाबगरदेखि रामारोशनसम्मको सडक अझै प्रमुख चुनौतीका रूपमा रहेको छ । वर्षायाममा पहिरो तथा खोला बढ्दा सडक अवरुद्ध हुने र कतिपय पर्यटक बाटोबाटै फर्किनुपर्ने अवस्था आउने गरेको स्थानीयको भनाइ छ । सडक निर्माण वर्षौंदेखि अधुरो रहेको उनीहरू बताउँछन् ।

रामारोशन जोड्ने सडक जयगढ–मझथाना–गौडाखोला, दर्ना–मुजाबगर र मुजाबगर–रामारोशन गरी तीन खण्डमा निर्माण गर्ने योजना अघि बढाइएको थियो । यी खण्डको कुल लम्बाइ ६८.९७६ किलोमिटर छ । मुजाबगर–रामारोशन खण्ड १७.६८८ किलोमिटर रहेको र त्यसका लागि ५७ करोड ४० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि सडकको अवस्था अपेक्षाअनुसार सुधार हुन नसकेको स्थानीयको गुनासो छ । रामारोशन आउने पर्यटकको औपचारिक तथ्यांक भने राखिएको छैन । दैनिक पर्यटक आउने गरेको स्थानीय तथा पर्यटन व्यवस्थापनमा संलग्न अधिकारीहरूको भनाइ भए पनि आगन्तुकको व्यवस्थित अभिलेख नहुँदा संख्या यकिन गर्न कठिन छ ।

रामारोशन पछिल्लो समय प्रदेश तथा संघीय सरकारका पर्यटन योजनामा समेत समेटिन थालेको छ । संघीय सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमा रामारोशन र बडीमालिकालगायत क्षेत्रमा व्यवस्थित पर्यटन विकासका लागि कार्यान्वयनयोग्य योजना तयार गर्ने विषय समावेश गरिएको छ ।

रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत पूर्णबहादुर विकले क्षेत्रको पर्यटन व्यवस्थापन र प्रवर्द्धनका गतिविधि बढाउनुपर्ने बताए । उनका अनुसार पर्यटन पूर्वाधार विस्तारका लागि थप लगानी आवश्यक छ ।

संरक्षण क्षेत्र घोषणा

रामारोशनको संरक्षण र पर्यटन विकाससँग जोडिएको पछिल्लो कदमका रूपमा सुदूरपश्चिम प्रदेश सरकारले बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरेको छ । प्रदेश वन ऐन, २०७७ अनुसार बाजुरा र अछामका उच्च पहाडी वन तथा प्राकृतिक क्षेत्र समेटेर संरक्षण क्षेत्र घोषणा गरिएको हो ।

संरक्षण क्षेत्रमा बाजुराका बडीमालिका र त्रिवेणी नगरपालिका तथा अछामका मेल्लेख र रामारोशन गाउँपालिकाका केही क्षेत्र समेटिएका छन् । कुल ४९८.४ वर्ग किलोमिटर क्षेत्रफल रहेको संरक्षण क्षेत्रमा रामारोशन गाउँपालिकाका वडा नं. ४, ५ र ६ का क्षेत्र पनि समेटिएका छन् । यस क्षेत्रमा जैविक मार्ग निर्माण, जलाधार तथा वन्यजन्तुको बासस्थान संरक्षण, पर्यापर्यटन प्रवर्द्धन र स्थानीय समुदायको सहभागितामा संरक्षणका कार्यक्रम सञ्चालन गर्ने योजना छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले संरक्षण क्षेत्र स्थापनाअघि वन्यजन्तु, वनस्पति, सिमसार तथा स्थानीय रोजगारीका सम्भावनाबारे अध्ययन गरेको जनाएको छ । रामारोशन क्षेत्रका ताल तथा सिमसारलाई भविष्यमा रामसार सूचीमा सूचीकृत गर्ने सम्भावनाबारे समेत अध्ययन भइरहेको बताइएको छ ।

पर्यटनसँगै स्थानीय उत्पादनको बजार

पर्यटकको आगमन बढेसँगै स्थानीय उत्पादनले समेत बजार पाउन थालेको स्थानीय कालिबहादुर बटालाले बताए । उनका अनुसार कोदो, फापर, सिस्नो, महलगायत स्थानीय कृषि उत्पादन तथा परिकार पर्यटकमार्फत बिक्री हुने गरेका छन् । तर सडकको कमजोर अवस्थाका कारण स्थानीय उत्पादनलाई बाहिरी बजारसम्म पुर्याउन अझै कठिनाइ रहेको उनको भनाइ छ ।

प्राकृतिक स्रोत, धार्मिक महत्व, जैविक विविधता र उच्च पहाडी पर्यटनको सम्भावना रहेको रामारोशनमा पर्यटकको आकर्षण बढे पनि त्यसलाई दीर्घकालीन पर्यटन विकासमा रूपान्तरण गर्न पूर्वाधार र व्यवस्थापनमा सुधार आवश्यक देखिन्छ । सडक, सञ्चार, खानेपानी तथा आवाससँगै ताल र सिमसारको संरक्षणलाई अघि बढाउन सके स्थानीय उत्पादनको बजार विस्तार र रोजगारी सिर्जनामा समेत पर्यटनको योगदान बढाउन सकिने स्थानीय तथा पर्यटन क्षेत्रका सरोकारवालाको अपेक्षा छ ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधबार