मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै ५०० को सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिको अवस्थामा रहेको पाइएको छ । यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन् ।
भारी वर्षाबाट अवरुद्ध म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरी लगायतका स्थानमा सडक मर्मत भइरहेको छ । उक्त सडक सञ्चालनका लागि अझै एकसाता लाग्ने त्यस सडक आयोजनाका प्राविधिकहरूले जनाएका छन् । उक्त सडक सञ्चालनमा नआउँदा ७० बढी कन्टेनर र १०० बढी विद्युतीय सवारीसाधन जोमसोमस्थित बसपार्कमा राखिएको छ ।
बेनी–जोमसोम सडक अवरुद्ध रहेकै अवस्थामा कोरलानाकाबाट भने केही मालवस्तु बोकेका कन्टेनर जोमसोम ल्याइएको छ । कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम—कोरला खण्डमा अवरुद्ध सडक मर्मत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका ती केही मालवस्तुवाहक कन्टेनर जोमसोम ल्याइएको हो ।
यसअघि बाढी पहिरोबाट नाका क्षेत्रमा विद्युत् र इन्टरनेटको समस्या कारण चीनबाट ल्याइएका सामानको भन्सार जाँचपास हुन नसक्दा सयौंको सङ्ख्यामा ती कन्टेनर रोकिएका थिए । भारी वर्षापछिको बाढीपहिरो र नदी कटानले म्याग्दी खण्डका दर्जनौँ स्थानमा विद्युत् पोल क्षतिमा हुँदा एक सातादेखि मुस्ताङमा केन्द्रीय ३३ केभी विद्युत् प्रसारण लाइन र इन्टरनेट सेवा अवरुद्ध थियो ।
त्यसबाट उपल्लो मुस्ताङ भन्सार कार्यालयको नियमित सेवा प्रभावित हुँदै आएको थियो । कोरला नाकामै रोकिएका कन्टेनर चालक गोबिन्द गुरुङले कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका करिब ३०० कन्टेनर तथा २०० बढी विद्युतीय सवारी साधन भन्सार जाँचपासका लागि अहिले पनि रोकिएको बताए ।
चीनबाट कोरला नाका हुँदै पैठारी गरी नेपाल भित्र्याइएको दसैँतिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्याउन नसक्दा नेपाली व्यापारीमात्र होइनन् उपभोक्ता समेत इच्छाइएको सामग्री खरिद गर्नबाट वञ्चित हुनुपरेको छ । त्यसबाट नेपाली बजारसमेत आर्थिक रुपमा चलायमान हुन सकेको छैन ।

