२०८३ असोज २१ , बुधबार 7, October 2026, Wednesday

मौनताभित्रको पीडा : विनाशकारी बाढी क्षेत्रमा २४ दिन बिताउँदा…

किरण भण्डारी
किरण भण्डारी । प्रारम्भिक बालविकास विज्ञ

करिब २४ दिन म भोटेकोशीको विनाशकारी बाढी प्रतिकार्यमा प्रत्यक्ष रूपमा संलग्न थिए । प्रभावित समुदायसँग यति धेरै दिन बिताइरहँदा मैले देखेका, सुनेका र महसुस गरेका कुरालाई शब्दमा उतार्न अझै सजिलो छैन । मैले भेटेकी एकजना महिला रिमा दिदीले त्यो दिनको बाढी सम्झँदै भक्कानिँदै भन्नुभयो, ‘पहिले बाढी आउँदा खोलाको पानी बिस्तारै बढ्थ्यो । तर यसपालि त यति फरक थियो कि खोला नै जमिनमाथिबाट उठेर सुनामीजस्तै हामीतिर आएको जस्तो लाग्यो । के भइरहेको छ भनेर बुझ्न नपाउँदै सबै समाप्त भयो ।’

उहाँको कुरा सुनिरहँदा त्यो क्षण कति भयावह थियो होला भनी कल्पना गर्न पनि गाह्रो भयो । विनाशकारी बाढी आएको चौथो दिन म फिल्डमा खटिएको थिएँ । प्रस्थान गर्नुपर्ने कुरो निधो भएको तीन घण्टा भित्र हतार–हतार आवश्यक सामान प्याक गरेँ र सहकर्मी शान्तिसँग नुवाकोटको बट्टार, विदुरतर्फ लागेँ । सोसल मिडियामा देखेका भिडियो र समाचारले मनमा डर र बेचैनी त थियो नै । तर जिम्मेवारीबाट पछि हट्ने अवस्था थिएन । न मेरो साथीहरूलाई त्यहाँको वास्तविक अवस्था थाहा थियो, न मलाई ।

करिब तीन घण्टाको यात्राभरि हामी त्यहाँ आधारभूत सामानसमेत पाइएला कि नपाइएला भनेर कुरा गरिरह्यौँ । त्यसैले बाटोमै केही खानेकुरा, छाता, साबुन, डिटर्जेन्ट र केही आवश्यक सामग्री किनेर अघि बढ्यौँ । बट्टार पुग्नासाथ वातावरणले नै ठूलो विपत्तिको महसुस गराइहाल्यो । आकाशमा लगातार हेलिकप्टरको आवाज गुञ्जिरहेको थियो । उद्धार र प्रतिकार्यका लागि हेलिकप्टरहरू उडिरहेका थिए । सेनाको क्याम्प वरपर बेपत्ता भएका आफन्तको खबर पाइन्छ कि भन्ने आशामा मानिस ठूलो संख्यामा पर्खिरहेका थिए ।

कसैले आफ्ना परिवारका सदस्य भेटिएको बारे सोधीखोजी गरिरहेका थिए । बट्टार बजारमा गाडी चलिरहेका थिए । मानिसहरूको भीड थियो । माथि हेलिकप्टरको निरन्तर आवाज थियो । त्यति धेरै चहलपहलबिच पनि पूरा सहर सुनसानमय थियो । सहरको मौनता शोकको चिच्याहट थियो । आवाज थियो, भीड थियो, मानिसहरू दौडिरहेका थिए; तर वातावरणमा एउटा गहिरो भारीपन थियो । मानौँ पूरा सहरले एउटै पीडा बोकेको थियो । बट्टारबाट हामी अत्यधिक प्रभावित त्रिशूली क्षेत्रतर्फ लाग्यौँ । त्यहाँ पुगेपछि आँखाअगाडि देखिएको दृश्य बुझ्नै कठिन थियो ।

जहाँ कुनै समय घरहरू थिए, त्यहाँ बालुवा, ढुङ्गा र भग्नावशेषको बगर थियो । कतिपय ठाउँमा सडक कहाँ थियो भनेर छुट्याउनसमेत सकिँदैनथ्यो । ठूला भवनहरू माटो, बालुवा र ढुङ्गामुनि पुरिएका थिए । बस्तीका बस्ती च्यातिएर गएका थिए । म पहिले नै ती ठाउँहरुमा नगएकाले सुरुमा क्षतिको वास्तविक परिमाण बुझ्न धौ–धौ भयो । पछि पुराना तस्बिर हेरेर मैले फिल्डमा देखिरहेको अवस्थासँग तुलना गर्दा मात्रै हामी कति ठूलो बिपत्तिसँग जुधी रहेका छौँ भन्ने चाल पाएँ । स्थानीय मानिसहरू बारम्बार एउटै कुरा भन्थे, ‘खोला त यहाँबाट धेरै टाढा थियो, पचासौँ फिट तल बग्दथ्यो; यहाँसम्म आइपुग्छ भनेर कहिल्यै कल्पना गरेका थिएनौँ ।’

त्यो कुरा सुन्दा बल्ल मैले अनुमान गरेँ कि यो केवल खोलाको बगरमा वा अत्यन्त जोखिमयुक्त ठाउँमा बनेका केही अस्थायी घरहरूको बस्ती मात्र थिएन । यहाँ वर्षौंदेखि स्थापित घरहरू, सरकारी कार्यालय, बैंक, विद्यालय, व्यवसाय, सडक र अन्य ठूला पूर्वाधारहरु थिए । बाढीपछिको अवस्था मात्र हेर्दा धेरैको मनमा स्वाभाविक प्रश्न आउन सक्छ; यदि यो ठाउँ पहिलेदेखि नै अत्यन्त जोखिमयुक्त थियो भने यति धेरै संरचना यहाँ किन बने ? बैंकहरूले यहाँका घर र व्यवसायमा लगानी किन गरे र आफै पनि यही क्षेत्रमा किन बस्न पुगे ? सरकारी संरचना, विद्यालय, व्यवसाय, सोलार प्लान्ट तथा अन्य ठूला लगानी यहाँ किन आए ?

तर स्थानीय मानिसहरूका कुरा सुन्दै जाँदा बुझेँ– वास्तविकता बाढीपछिको दृश्य हेरेर हामीले तुरुन्त अनुमान गरेजति सरल थिएन । यो एउटा स्थापित बस्ती र आर्थिक क्षेत्र थियो । निजी र सार्वजनिक दुवै क्षेत्रको ठूलो लगानी थियो । यहाँ बैंक र व्यवसाय चल्थे । ठुला–ठुला सोलार प्लान्ट थिए, ठूलो क्षेत्रफलमा कृषि तालिमको प्रयोग गतिविधि सञ्चालन भएका खेतीपाती थिए साथै अन्य धेरै स्थायी पूर्वाधार थिए । त्यसैले यसलाई केवल ‘बगरमा बनेको बस्ती’ भनेर बुझ्नु न्यायोचित हुँदैन ।

नेपालका धेरै ठाउँमा पुस्तौँदेखि नदी र खोला आसपास विकास भएका बस्तीहरू जस्तै यो पनि एउटा स्थापित बस्ती थियो तर यसपालिको बाढीको आकार, शक्ति र फैलावट मानिसहरूले विगतमा कल्पना गरेको सीमाभन्दा धेरै पर पुग्यो र क्षणभरमै सबै समाप्त भयो । पहिलो दिनको साँझ फेरि अर्कै अनुभव बन्यो । हामी प्रभावित क्षेत्रको अवलोकन गरि फर्किएपछि बस्ने ठाउँ खोज्न थाल्यौँ तर कयौ किलोमिटरसम्म एउटा पनि होटलमा कोठा खाली थिएन । करिब १० मिनेट त पुरै शून्य महसुस भयो ।

अब के गर्ने ? रात कसरी काट्ने ? आदि । पछि याद आयो यहाँ नुवाकोट दरबार छ सायद त्यहाँ बस्ने ठाउँ भेटिन सक्छ । धेरै प्रयासपछि बल्लतल्ल दुईटा कोठा खाली छ भन्ने खबर पाएपछि हामी उकालो लाग्यौँ । भोलिपल्ट बिहानदेखि हाम्रो दिनचर्या पूर्ण रूपमा प्रतिकार्यमै केन्द्रित भयो । होल्डिङ सेन्टरमा जाने, तत्काल आवश्यकता पहिचान गर्ने, सहयोगका लागि समन्वय गर्ने र देखिएका समस्या सकेसम्म छिटो समाधान गर्ने । दुःखको समयमा थोरै भएपनि सहयोग गर्न सकौँ भन्ने मनसाय थियो हामीमा ।

कतिपय होल्डिङ सेन्टरमा साना बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सयौँ मानिस एउटै हलभित्र बस्न र सुत्न बाध्य थिए । खानाको व्यवस्था धेरै ठाउँमा राम्रोसँग भइरहेको देखिन्थ्यो, तर सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता भने प्रमुख समस्या बनेका थिए । पहिचान भएका आवश्यकताका आधारमा हामीले सातवटा होल्डिङ सेन्टरमा १४ वटा पानीका ट्यांकी, धारा जडान गरि उपलब्ध गरायौँ । त्यस्तै करिब २० वटा होल्डिङ सेन्टरमा शौचालय सफा गर्न, लुगा धुन, व्यक्तिगत सरसफाइ गर्न र वरपरको वातावरण सफा राख्न सरसफाइ तथा स्वच्छता सामग्री उपलब्ध गरायौँ ।

बाहिरबाट हेर्दा यी साना सहयोगजस्ता देखिन सक्छन् । तर सयौँ मानिस अस्थायी रूपमा एउटै स्थानमा बसिरहेको अवस्थामा यिनै आधारभूत सुविधाले मानिसको मर्यादा जोगाउन र थप रोग फैलिने जोखिम कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् । तर भौतिक आवश्यकता संकटको एउटा पाटो मात्रै थियो । होल्डिङ सेन्टरभित्रको भावनात्मक पीडा अझ कठिन थियो । धेरैले आफ्न्त गुमाएका थिए । कतिपय बालबालिकालाई विद्यालयबाट उद्धार गरिएको थियो, तर उनीहरूका आमा–बुबा साथै अन्य परिवारका सदस्यहरू बाढीमा बेपत्ता थिए ।

केहि साना नानीहरू आमा–बुबा आउनुहुन्छ र आफूलाई घर लैजानुहुन्छ भन्ने आशामा देखिन्थे । उनीहरू यहाँ किन बसिरहेको भन्नेबारे नै बेखबर थिए । धेरै बालबालिकाहरु आफ्ना आफन्तहरु आउँछन् भन्ने आशमै होल्डिङ सेन्टरमा बसी रहेका थिए । त्यो अवस्था सोच्दा आज पनि आँखा रसाउँछ । त्यही कुरा लेख्न बस्दा मन भारी हुन्छ । ती साना बालबालिकाले आफूले पर्खिरहेका आफन्त अब कहिल्यै आउँदैनन् भन्ने थाहा पाउँदा, उनीहरूको मनमा के बित्ला ? कल्पना गर्न पनि गाह्रो छ । कतिपय बालबालिकाले त आफ्नै आँखाअगाडि त्यो भयावह बाढी देखेका थिए ।

उनीहरूले कोरेका चित्र, बोलेका शब्द र उनीहरूको व्यवहारमा डर, अन्योल र अव्यक्त पीडा देखिन्थ्यो, यस्ता अनुभव, जुन उनीहरूको उमेरका बालबालिकाले कहिल्यै भोग्नु नपरोस् । कसैले आफ्ना सहपाठी गुमाएका थिए । कसैले दाजुभाइ–दिदीबहिनी । कसैले आफन्त । त कसैले छिमेकी । उनीहरूको कुरा सुन्ने क्रममा कतिपय क्षणमा मन सम्हाल्न निकै गाह्रो हुन्थ्यो । हामी त्यहाँ अरूलाई साथ दिन गएका थियौँ । त्यसैले कहिलेकाहीँ आफ्नै आँसु झार्न पनि सकिँदैनथ्यो । हामीले आफ्नै भावना देखाउँदा उनीहरूको पीडामाथि थप भार नपरोस् भन्ने लाग्थ्यो । तर अनयासै आँखा रसाउँथे । फेरि आफैलाई सम्झाउँथ्यौँ, हामी त यहाँ उनीहरूलाई साथ दिन आएको हौँ ।

बुझ्दै जाँदा अर्को वास्तविकता पनि बुझियो; होल्डिङ सेन्टरमा बसेका मानिसहरू मात्रै प्रभावित जनसंख्या थिएन । धेरै विस्थापित परिवार आफन्त वा साथीको घरमा बसिरहेका थिए । कतिपय परिवार छुट्टाछुट्टै ठाउँमा पुगेका थिए । अझै पनि केही परिवार आफ्ना बेपत्ता सदस्यको खबर पर्खिरहेका थिए । कसैको जीवनभरको कमाइ केही क्षणमै समाप्त भएको थियो । घर रहेनन् । जमिन पुरियो । व्यवसाय हराए । सडक र सार्वजनिक पूर्वाधार नष्ट भए । परिवार छुट्टिए । बालबालिकाले आफू सुरक्षित महसुस गर्ने परिचित संसार नै गुमाए ।

जहाँ केही समयअघि घर, व्यवसाय, विद्यालय, मन्दिर, चर्च, सडक, मानिसको चहलपहल र सामान्य जीवन थियो, त्यही ठाउँ यति छोटो समयमा पूर्ण रूपमा बदलिन सक्छ भन्ने विश्वास गर्न गाह्रो हुन्थ्यो । ती दिनहरूले विपद्लाई हेर्ने मेरो दृष्टिकोण नै परिवर्तन गरिदिएका छन् । हामी प्रायः विपद्को कुरा गर्दा संख्या प्रयोग गर्छौँ; कति मानिसको ज्यान गयो, कति प्रभावित भए, कति घर भत्किए, कति परिवार विस्थापित भए, कति किलोमिटर सडक नष्ट भयो ।

ती तथ्यांक अत्यन्त आवश्यक छन् । तर, जब तपाईं आफ्नो बच्चा गुमाएको मानिसको छेउमा उभिनुहुन्छ, जब आमा–बुबा फर्केर आउनुहुन्छ भनेर पर्खिरहेको सानो बालबालिकाको आँखामा पर्खाई देख्नुहुन्छ, कसैले आफ्नो जीवनभर कमाएको सबै कुरा आफ्नै आँखाअगाडि बगेको कथा सुन्नुहुन्छ, त्यसपछि त्यो संख्या केवल संख्या रहँदैन । हरेक संख्या पछाडि एउटा मान्छे हुन्छ । हरेक भत्किएको घरपछाडि एउटा परिवारको संघर्षको इतिहास हुन्छ । हरेक बेपत्ता व्यक्तिपछाडि अझै पनि कसैले प्रतीक्षा गरिरहेको हुन्छ ।

र यो विपद्बाट प्रभावित हरेक बालबालिका पछाडि एउटा यस्तो जीवन छ, जसलाई आजको राहतले मात्र पर्याप्त हुँदैन । उनीहरूलाई दीर्घकालीन हेरचाह चाहिन्छ । सुरक्षा चाहिन्छ । मनोसामाजिक सहयोग चाहिन्छ । शिक्षा, स्थिरता र फेरि सपना देख्न सक्ने वातावरण चाहिन्छ । यी करिब २४ दिन शारीरिक र भावनात्मक रूपमा कठिन रहे । थाकेका क्षण आए । मन भारी भएका क्षण आए । कहिलेकाहीँ आफू नै भित्रबाट कमजोर भएजस्तो पनि लाग्यो । तर आफ्ना लगभग सबै कुरा गुमाएर पनि फेरि उठ्ने प्रयास गरिरहेका मानिसहरूलाई हेर्दा मेरो आफ्नै थकाइ निकै सानो लाग्थ्यो ।

मानिसहरूलाई अझै सहयोग आवश्यक हुँदा थाक्ने अनुमति मलाई छैन । अझै काम बाँकी हुँदा आत्तिने फुर्सद पनि छैन । अहिले पनि प्रयास जारी छ । सुन्ने, बुझ्ने, समन्वय गर्ने र सकेसम्म सहयोग पुर्याउने । यति ठूलो विनाशबिच पनि म एउटा आशा लिएर हिँडिरहेको थिएँ । मनमा सधै लाग्थ्यो उनीहरूले केवल घर र जीविकोपार्जन मात्र पुनर्निर्माण गर्ने छैनन्, आफ्नो आत्मविश्वास फेरि जोड्नेछन् । सुरक्षाको अनुभूति फेरि खोज्नेछन् । सम्बन्धहरू जोड्नेछन् । र एक दिन फेरि सपना देख्नेछन् । यस त्रासदीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली ।

आमा–बुबा, दाजुभाइ–दिदीबहिनी, साथी, घर र आफ्नो परिचित संसार गुमाएका ती साना बालबालिकाले जीवनमा फेरि प्रेम, सुरक्षा, हेरचाह र आशा पाउन सकून् । र, बाँच्न सफल भएपनि अब लामो पुनःस्थापनाको यात्रा अगाडि रहेका सबै परिवारले फेरि अघि बढ्ने साहस पाऊन् । हामी कसैले पनि आपतकालको तत्कालीन चरण सकिएपछि पनि उनीहरूको साथबाट टाढा नजाऔँ । किनकि विपद् सकिएको घोषणा हुन सक्छ, तर मानिसको पीडा त्यही दिन सकिँदैन । पुनःस्थापना घर बनाउनु मात्र होइन । कहिलेकाहीँ त्यो मानिसलाई फेरि जीवनमाथि विश्वास गर्न सिकाउने यात्रा पनि हो । यस्तो पीडा फेरि कहिल्यै कसैले भोग्नु नपरोस् ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधबार