आगामी २०८३ सालको बडा दसैँमा अष्टमी दुई दिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको पात्रोअनुसार आगामी दसैँ असोज २५ बाट सुरु हुनेछ । अष्टमी दुईदिन परेकाले यस वर्षको दसैँ समग्रमा ११ दिनको हुने समितिले जनाएको छ । दसैँको अष्टमी कात्तिक १ र २ गते परेको छ ।
असोज २५ गते घटस्थापना र कातिक ४ गते विजया दशमी परेको छ । यसवर्षको दसैँको टीका असोज १६ गते परेको थियो । असोज ६ गते घटस्थापना थियो । यस वर्षको दसैँ १९ दिनपछि धकेलिएको हो । यसअघि विंसं. २००० सालमा पनि दसैँको अष्टमी दुई दिन परेको थियो । समितिले माघ १५ गते नै पञ्चाङ्ग पात्रो तयार पारिसकेको जनाएको छ ।
आगामी वर्षको पात्रो फागुन २ गतेदेखि बिक्रीका बजारमा आउने समितिले जनाएको छ । २०८३ साल असोज ३१ गते फूलपाती, कातिक १ गते र २ गते महाअष्टमी, कालरात्री, गोरखकाली पुजा, नेवारी समुदायको कुछी भ्वयः र काति बिहु पर्व परेको छ । त्यसैगरि ३ गते महानवमी र ४ गते विजया दशमी परेको छ । आगामी वर्षको तिहार पनि यस वर्षभन्दा २० दिनपर सरेको छ ।
तिहार कात्तिक २१ गतेबाट सुरु हुनेछ । कात्तिक २१ गते काग तिहार, धन्वन्तरी जयन्ती, २२ गते कुकुर तिहार, लक्ष्मीपूजा, दीप मालिका, सुखराती, नरक चतुर्दशी, २३ गते गाई तिहार (औंशी), २४ गते गोबर्द्धन पूजा, म्हपूजा र २५ गते भाईटीका परेको छ । आगामी वर्षभरि नै चन्द्र र सूर्यग्रहण नहुने समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए ।
