नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिंगेपिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ ।
नेपाल पर्यटन बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न काठमाडौं उपत्यकासहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा स्थानीय तह तथा पर्यटन सम्बद्ध संघसंस्थासँगको सहकार्यमा लिंगेपिङ निर्माण तथा सञ्चालन गर्न लागेको हो ।
बोर्डले ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालयन उद्धार संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल संघ नेपाल, होटल व्यवसायी महासंघ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी संघसंस्थासहित पर्यटकीय क्षेत्रका सम्बन्धित निकायसँग सहकार्य गरेको छ ।
सम्झौता अनुसार, विभिन्न पर्यटकीय गन्तव्यमा लिंगेपिङ निर्माण गरी दसैँको अवधिभर सञ्चालन गरिनेछ । विशेषगरी पर्यटकको आवागमन बढी हुने तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त स्थानमा पिङ राखिने व्यवस्था गरिएको हो ।
पर्यटन बोर्ड र सम्बन्धित स्थानीय तह तथा संस्थाबीच भएको सम्झौतामा पिङ निर्माण तथा सञ्चालन गर्दा आवश्यक सुरक्षा व्यवस्था, भीड व्यवस्थापन र दुर्घटना न्यूनीकरणका उपाय अनिवार्य रूपमा अपनाउनुपर्ने उल्लेख छ ।
दसैँको कार्यक्रम सम्पन्न भएपछि पिङ हटाई निर्माणस्थललाई पूर्ववत् अवस्थामा फर्काउने जिम्मेवारीसमेत सम्बन्धित पक्षको हुने सम्झौतामा उल्लेख छ । नेपाल पर्यटन बोर्डले नेपालीहरूको मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवद्र्धन गर्दै सांस्कृतिक पर्यटनलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले दसैँमा लिंगे पिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अघि बढाएको जनाएको छ ।
