सूचनाको शक्ति - The Power Of Information

        

खोस्टे भाषणमै सीमित सहिदका सपना !

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइएको छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक वर्ष यस दिन सम्झना गरेर मनाइने बाहेक अरु केही विशेष भने हुन सकेको छैन ।

यस दिन हुने औपचारिक कार्यक्रममा राजनीतिक दलका नेताहरुले सहिदको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्न भने छाडेका छैनन् । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

हरेक वर्ष नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको आहूति दिएका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ ।

सम्झनामै सीमित सहिद दिवस

राजनीतिक परिवर्तनको एउटा ऊर्जाशील चिनो र गौरवका रूपमा लिइने सहिद दिवस २००७ सालको प्रजातान्त्रिक आन्दोलनपश्चात् मनाइँदै आएको छ । गौरवका साथ सहिद दिवस मनाइनुपर्ने हो । तर इतिहासकै खल्लो सहिद दिवस सावित हुँदै गएको छ । दुर्भाग्यवश सहिद दिवसको न रौनक छ न कुनै उत्साह नै । केवल समय घुमफिरको कर्मकाण्डीमा सहिद दिवस सीमित बन्दै गएको हो ।

सहिद दिवसको औचित्य के ?

इतिहासदेखि आजसम्म राणा शासनविरुद्धको आन्दोलन होस् वा २०६२–०६३ को जनआन्दोलन, या भनौं जनयुद्ध, आजसम्म जति पनि आन्दोलन भए र ति आन्दोलनमा ज्यानको बलिदान दिएका सहिदहरुको रूप फरक भए पनि सार भने एउटै हो । सदियौंदेखि वञ्चित भएका अधिकारको सुनिश्चित गर्ने, सम्पूर्ण नेपाली जनताको मर्म र भावना समेट्ने लोकतान्त्रिक संविधान निर्माणपछि समुन्नत, समृद्धि र समावेशीसहित सुशासन तथा शान्तिको चयन नै हो ।

तर जुन हिसावले सहिद दिवस मनाइँदै आइएको छ के त्यतिमै सहिद दिवस सिमित हुने हो र ? केवल दुई–चार ठाउँमा गेट बनाइँदैमा, सडक र चौतारोको नाम परिवर्तन गर्दैमा, साइनबोर्ड फेर्दैमा र बोलिमा मात्र भक्ति देखाउँदैमा सहिदको मर्यादा, मान, सम्मान होला र ?

सहिदहरुको सपना र आज देशको हविगत

संविधानमा सबै पक्षको चित्त नबुझेको वा मधेसीको माग समावेश नभएको नाममा मुलुक झनै बर्बाद हुँदै गएको सबै माझ जगजाहेरै छ । जसले गर्दा सम्पूर्ण सहिदको भावनामाथि खेलवाड भएको भन्दै आलोचना पनि हुने गरेको छ । देश र जनताले नयाँ संविधान प्राप्त गरेपछि त झन् सहिद दिवसको औचित्यलाई राजनीतिक दलहरुले नै निरर्थक तुल्याएका छन् भन्नेमा कुनै दुईमत छैन ।

सबै राजनीतिक दलले आजसम्म संविधानको मर्म अनुसार काम गर्न नसक्दा लाज छोप्नकै लागि आरोप–प्रत्यारोपको पराकाष्ठामा पुगेका छन् यस प्रति आम सर्वसाधारण अवगत नै छन् । सहिदका बलिदानले स्थापना भएको लोकतन्त्रमा केवल वाक स्वतन्त्रता र राजनितिक दलहरुले एकआर्कालाई आरोपप्रत्यारोप लगाउने स्वतन्त्रता बाहेक जनताका जनजीविकाका सवाल झन् नाजुक भैरहेको अवस्था छ । देश र जनताको सुन्दर भविष्यको कामना गर्दै नेपालमा सयौं ब्यक्तिले ज्यानको आहूति दिएता पनि सहिदका कैयौं सपना पूरा भएका छैनन् ।

सहिदका विवादित विषय

कुनै बेला फलानो सहिद आफ्नो र ढिस्काना सहिद अर्काको भनेर झगडा गर्ने राजनीतिक दलहरु सहिदलाई आफ्नो सत्ता आरोहणको भर्याङ बनाइरहेका छन् । देशको स्वाधिनता, राष्ट्रियता र लोकतन्त्रका लागि आफ्नो ज्यानको बलिदान दिनेलाई सहिद मानिन्छ । तर नेपालमा अपराधिक समूहले हत्या गरेका, झडपमा मारिएका र काल गतिले मरेका ब्यक्ति समेतलाई राजनैतिक दवाबमा सहिद घोषणा गर्ने परम्परा चलेको छ ।

देशको स्वार्थका लागि लड्दा लड्दै ज्यानको आहूति दिने ब्यक्तिलाई राज्यले सहिदको सम्मान दिन मृतकको देश र जनता प्रतिको त्याग र समर्पण हुनुपर्दछ । तर कुनै सम्बन्धित दलको सदस्य भएकै नाताले जवर्जस्ती सहिद घोषणा गर्नु वास्तविक सहिद प्रतिको अपमान र सहिद शब्दकै बदनाम गर्ने कार्य भएन र ? वि. सं १९९७ सालमा तत्कालिन राणा शासनको बिरोधमा उत्रने क्रममा ज्यानको आहुती दिन तयार भएका शुक्रराज, धर्मभक्त, दशरथ र गंगालाल सहिद हुन् ।

त्यसपछिका लोकतात्न्त्रिक आन्दोलनहरुमा देश र जनताको पक्षमा निर्भयताका साथ ज्यानको बाजी लगाएर लोकतन्त्रको स्थापमा मद्दत पुर्याउनेहरु सहिद हुन् । देश र जनताको लागि ज्यानको आहूति दिने ब्यक्तिहरु सहिद हुन् । तर सरकारले घोषणा गरे अनुसार अहिले नेपालमा सहिदको संख्या १२ हजार १९७ रहेको छ ।

राजनीतिक दलै पिच्छे सहिद

माओवादी केन्द्रले घोषणा गरेको सहिद

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालामा झण्डै आठ हजार ५०० जनालाई सहिद घोषणा गरी एक लाख रुपैयाँका दरले राहत दिने घोषणा गरेको थियो । त्यसमा अचम्मको कुरा त के थियो भने उक्त संख्यामा करिव दुई हजारको त नाम थर समेत खुल्न सकेको थिएन । त्यसबेला उक्त कार्यको बिशेषगरी नेपाली कांग्रेसले चर्को बिरोध गरेको थियो ।

नेपाली कांग्रेसले घोषणा गरेको सहिद

माओवादीले सहिद घाषणा गर्दा चर्काे विरोधमा उत्रिएको कांग्रेसले पनि आफू सत्तामा भएका बेला लाजै पचाएर निश्चित मापदण्डबिना सहिद घोषणा गर्ने कार्यलाई साथ दियो । कांग्रेस समेतको समर्थनमा बनेको माधवकुमार नेपालको सरकारले सत्ता साझेदार २२ दलको समर्थनमा युद्ध र अन्यबेला मारिएका सुरक्षाकर्मी, राजनैतिक कार्यकर्ता र अन्य गरी झण्डै चार हजार ब्यक्तिलाई सहिद घोषणा गरेको थियो ।

पहिलो संविधान सभाको निर्वाचनअघि भएको मधेस आन्दोलनका क्रममा मारिएका ५३ जनालाई मधेसवादी दलहरुले सहिद माने । तिमध्ये केहीलाई सरकारले मधेसी सहिदको घोषणा गरिसकेको छ । कुनै अमूक दलकै सदस्य भएकै नाताले जवरजस्त सहिद घोषणा गर्नु वास्तविक सहिद प्रतिको अपमान र सहिद शब्दकै बदनाम गर्ने कार्य भएको भन्दै आलोचना पनि हुने गरेको छ ।

जुन उद्देश्य र लक्ष्यका साथ सहिदहरुले बलिदान दिएका थिए त्यहि उद्देश्य र लक्ष्य हासिल गर्न प्रतिबद्ध भई लागेमा नै सहिदप्रतिको सच्चा सम्मान गरेको ठहर्नेछ । देशमा देखिएको वर्तमान संकटपूर्ण घडीलाई सहिदहरुले देखाएको मार्गको माध्यमबाट निकास पहिल्याई शान्ति कायम गर्ने मार्गमा लाग्न अब ढिला गरिनुहुँदैन ।

राजनीतिक दलका प्रतिनिधिले सहिदहरुको सपना पूरा गर्ने प्रतिबद्धता फगत शब्दमा मात्र सिमित नहोस् । सहिद दिवस मनाउन लागेको ७४ वर्ष पुग्दासम्म पनि सहिदहरुको सपनाले सार्थकता नपाउनु यो कस्तो विडम्बना ? जे होस् अब आउने दिनमा सहिद दिवस औपचारिक रुपमा मात्र सिमित नहोस्, सहिद दिवसको सप्ताहले केहि परिवर्तन ल्याओस् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार १६:०१

लोकप्रिय