म समाजका लागि केही गर्ने सपना बोकेको एक सामान्य नागरिक हुँ । कानुन, न्याय र अधिकारका कुरा उठाउन चाहने मेरो बानीले मलाई सामाजिक रूपमा क्रियाशील बनायो । समाजमा जस्तो देखेँ, त्यही लेखेँ, समाजको कालो चित्र, शिक्षा प्रणालीको विकृति, राजनीति र पाखण्डको पर्दाफास गरेँ । लेख्दै जाँदा गाली आए, आलोचना भोगें, साथीभाईबाट पराया जस्तै भए । भावनामा बहकिएर एउटा पिताले सन्तानको भविष्यलाई समाजसेवाको बलि चढाए ।
सरोकारवालाले गाली गर्छन, सत्ता व्यवस्था चुप बस्छ, तर त्यो पीडाले शब्द बनायो, त्यो सत्यले रचना जन्मायो । लेख लेखेर आफैलाई एक्लो बनाएँ, तर आत्मालाई हलुका बनाएँ । म विश्वास गर्थें, सस्तो, सर्वसुलभ र समान शिक्षाले मात्र देशमा परिवर्तन सम्भव छ । मेरा छोराछोरी निजी विद्यालयमा पढ्दै थिए । हुनसक्छ, त्यहाँ व्यवहारिक ज्ञान खासै थिएन, तर गृहकार्य, कक्षाको अभ्यास र प्रमाणपत्रमा उनीहरू अग्रपंक्तिमा थिए ।
म सन्तुष्ट थिएँ, तर एकदिन लाग्योप रुपान्तरणको यात्रा, परिवर्तन त आफैंबाट सुरु गर्नुपर्छ । मैले नि सोचें, यदि म नै सामुदायिक विद्यालयलाई विश्वास नगरेर निजीमा सन्तान राख्छु भने मैले बोलेका न्याय, समानता, समान अवसरका कुरा खोक्रा हुनेछन । यही सोचले म प्रेरित भएँ र छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरें । सोचें , राज्यको शिक्षाले पनि उस्तै अवसर दिन्छ । तर मेरो त्यो सपना, त्यो आदर्श धरासायी भयो ।
सामुदायिक विद्यालयको अवस्था म कल्पना पनि गर्न नसक्ने गरी कमजोर थियो । ब्यवस्थापन समिति आफ्नै राजनीतिक स्वार्थमा, शिक्षकहरू राजनीति, नेतागिरी र व्यक्तिगत फाइदामा रमाइरहेका थिए । पठनपाठन अस्तव्यस्त थियो । अनुशासन शून्य । मेरा सन्तानलाई सिकाइमा समस्या देखिन थाल्यो । मैले विद्यालयमै अतिरिक्त कक्षा, ट्युसन, जति उपाय थिए अपनाएँ । निशुल्क शिक्षाको नाममा अतिरिक्त शुल्क तिर्नुपर्यो । तर पनि नतिजा शून्य ।
मेरो एक वर्षको पैसा, परिश्रम र सन्तानको मूल्यवान समय सबै खेर गयो । त्यो नतिजा हेर्दा मेरो आत्मा जलेको महसुस भयो । मैले निराश र सर्वश्व गुमाएको होइन, तर मलाई लाग्यो, म समाजको लागि सोच्दा सोच्दै आफ्नै सन्तानको भविष्य जलाएँ । एउटा पिताको त्यो पश्चाताप, त्यो पीडा शब्दले व्यक्त गर्न कठिन छ । म भित्रभित्रै पोलिन थालेँ, तर त्यो पोलाइ कसैलाई देखाउन पनि सक्दिन । मलाई लाग्यो, मैले देशको भविष्यको सपना देखेर आफ्नै घरमा अँध्यारो बादल भित्र्याए !
शिक्षक, कर्मचारी, जनप्रतिनिधि सबै राजनीतिको नाममा आफ्नो स्वार्थमा रमाइरहेका छन । आफ्ना बच्चालाई निजी विद्यालयमा लुकाएर सामाजिक सेवाको ढवाङ्ग पिटनेहरुकै सङ्गत परेर मैले पनि भरोसा राखें । भरोसा विश्वासको आधार थियो शैक्षिक हवको ऐतिहासिक गर्विलो चर्चित नारा । तर त्यो भरोसा मेरो जीवनकै ठुलो गल्ती बन्यो । मेरा सन्तान निराश छन् । उनीहरूले अब नेपालमा भविष्य देख्दैनन् । उनीहरूको सपना अब विदेश पलायनमा सीमित भएको छ ।
आज म बोल्न सक्दिन, किनकि मेरो आवाजलाई मैले नै गुमाएको छु । म भित्रभित्रै जलेको छु । मलाई लाग्छ, देश बनाउने सपना देख्दा आफ्ना सन्तान गुमाउनु पर्ने रहेछ । त्यो पछुतो, त्यो पीडा जीवनभर नसेलाउने घाउ बनेर बसेको छ । शिक्षामा राजनीति नहोस्, शिक्षामा सम्भावना होस् । किनभने शिक्षामा भोलिको राष्ट्र लुकेको हुन्छ । यो सिकाई हो, भोगाई हो, दोषारोपण कतै कत्ति होइन, तर सरकार, म तिम्रो ओठे–भाषणबाट कत्ति सन्तुष्ट छैन ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
भुमबहादुर भण्डारी । युवा नेता एवं समाजसेवी