सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा हात्तीपाइले रोगविरुद्धको अभियान लम्बियो, कोहलपुरमा सिकलसेलका ७५ जना बिरामी फेला

१३ पटकसम्म अभियान सञ्चालन गर्दा पनि लक्ष्य पुरा नभएपछि बाँकेका तीन पालिकामा १४ औं पटक सुरु गरिएको हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियानमा यस पटक पनि धेरैले औषधी सेवन नगर्दा अभियान लम्बिएको छ । बाँके जिल्लाका तीन वटा पालिकामा १४ औं पटक गत फागुन पाँच गतेबाट सुरु गरिएको अभियानमा पनि धेरैले औषधी सेवन गर्न नमानेपछि अभियानलाई लम्ब्याइएको बताइन् ।

स्वास्थ्य कार्यालय बाँकेका किटजन्य फोकल पर्सन दुर्गा गौतमले नेपालगन्जमा हालसम्म ५३ प्रतिशतले मात्र औषधी सेवन गरेको जनाउँदै नरैनापुरमा ६८ प्रतिशत र डुडुवामा ७० प्रतिशतले औषधी सेवन गरेको हुँदा अभियानको समय बढाइएको बताइन् । ८० प्रतिशतले औषधी सेवन नगर्दासम्म अभियान असफल मानिने हुँदा कम्तीमा यस पटक ८० प्रतिशत प्रगति पुर्याउने लक्ष्यका साथ अभियानलाई अगाडि बढाइएको फोकल पर्सन गौतमले बताइन् ।

बाँके जिल्लाका तीन वटा पालिकामा लक्ष्य पूरा नहुँदा सन् २०३० सम्म नेपाललाई हात्तीपाइले रोग मुक्त देश घोषणा गर्ने योजना समेत प्रभावित हुने देखिएकोले जसरी पनि तीन वटा पालिकामा ८० प्रतिशतलाई औषधी खुवाउनुपर्ने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर ३, ४, ५, ७, ८, ९, १३, १६, २१, २२ र २३ मा हालसम्म ५० प्रतिशतले औषधी खाएको हुँदा सो प्रतिशतलाई बढाएर कम्तीमा ८० प्रतिशत पुर्याउन दिनरात खटिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

अभियान सुरु भएको तीन महिना पुग्न लाग्दा समेत लक्ष्य हासिल नहुँदा अहिले धर्मगुरुहरूलाई सँगै लिएर घरघरमा पुगी औषधी खुवाइरहेको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य फोकल पर्सन गौतमले बताइन् । उनले अहिले वडा नम्बर पाँचलाई फोकस गरेर अभियानलाई अगाडि बढाइएको बताइन् । सो अभियानलाई सफल पार्न नेपालगन्जमा रहेका विभिन्न गैर सरकारी सङ्घसंस्थालाई पनि परिचालन गर्ने निर्णय गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसका लागि सङ्घसंस्थाका अगुवा र प्रतिनिधिसँग नेपालगन्जमा छलफल गरेर निर्णय गरिएको नेपालगन्ज उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । उनले चिकित्सक, स्वास्थ्यकर्मी लगायत पढेलेखेका र जानकारहरूले नै हात्तीपाइले रोग विरुद्धको औषधी सेवन नगरिदिएका कारण हात्तीपाइले रोग निवारण चुनौतीपूर्ण बनेको बताए । ६ वर्षमै अभियान सकिने गरी १४ वर्षअघि सुरु गरिएको अभियान सोही कारणले अझैसम्म पनि सफल नभएको प्रमुख चन्दको गुनासो छ । औषधी सेवन गर्नेले सेवन गरिरहने तर नगर्नेले गर्दै नगर्ने गरेका कारण अभियान निष्कर्षमा पुग्न नसकेको जनाइएको छ ।

कोहलपुरमा ७५ जना सिकलसेलका बिरामी फेला

बाँकेको कोहलपुर नगरपालिकामा सेवा प्रवाहदेखि हालसम्म ७५ जना सिकलसेल थालसेमियाका बिरामी फेला परेका छन् । विक्रम संवत् २०७७ साल चैत २९ गतेबाट कोहलपुर नगरपालिकाले छुट्टै युनिट स्थापना गरी सेवा प्रारम्भ गरेको थियो । जसमा ७० जना सिकलसेल र पाँच जना थालसेमियाका बिरामी फेला परेका हुन । आर्थिक वर्ष २०८१÷८२ को हालससम्म एक सय ३६ जनाको परीक्षण गरीएको छ ।

जसमा सिकलसेल बाहक १० जना, सिकलसेल रोगी चार जना र थालेसिमिया एक जनामा रोग पहिचान भएको थियो । सिकलसेल बाहकले बाहकसँग मात्रै विवाह गर्दा उपयुक्त हुने कोहलपुर नगरपालिकाका सिकलसेल फोकल पर्सन शिव गौतमले बताए । उनका अनुसार कोहलपुर नगरपालिकाको १५ वटा वडामध्ये ३, ४, ५, ६, ७ र १५ वडामा थारू समुदायको धेरै बाहुल्यता छ । थारू समुदायका व्यक्तिहरूमा यो रोग लाग्ने भएकाले समुदाय स्तरमै पुगेर अभिमुखीकरण कार्यक्रमहरू नियमित गर्दे आएको पनि फोकल पर्सन गौतमले बताए ।

यो रोग लाग्न नदिन बिहे गर्नु पूर्व रोग परीक्षण गर्नुपर्ने उनको सुझाव रहेको छ । यो रोग नियन्त्रण गर्नका लागि सिकलसेल नगर कमिटी पनि गठन गरिएको छ । कोहलपुर नगरपालिकाले परीक्षण गरेर रोग पत्ता लागिसकेपछि थप उचार गर्नुपर्ने अवस्थामा भेरी अस्पताल नेपालगन्जमा रिफर गर्ने गरिएको नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताए । उनले कोहलपुरमा सिकलसेल थालेसिमियाको परीक्षण युनिट राख्दा रोगको पहिचानमा सहयोग पुगेको र आगामी दिनमा पनि यो कार्यक्रमले निरन्तरता पाउने बताएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार ०९:०१

लोकप्रिय