सूचनाको शक्ति - The Power Of Information

        

पाँच महिना बित्यो, फर्किएनन् नेपालबाट भारत गएका गैँडा

बर्दिया राष्ट्रिय निकुञ्ज परिसरमा रहेको एकसिङे गैँडा ।

भारतको कतरनियाघाट वन्यजन्तु आरक्षमा पुगेका बर्दिया राष्ट्रिय निकुञ्ज गैँडा पाँच महिना बितिसक्दा समेत फर्किएका छैनन् । आहारा र उचित वासस्थानको खोजीमा भारत पुगेको गैँडा नफर्किँदा बर्दियामा गैँडाको सङ्ख्या घटेको छ । बर्दिया राष्ट्रिय निकुञ्जभित्र गैँडाको उचित वासस्थान घट्दै गएपछि करिब २० ओटा गैँडा भारततर्फ गएका हुन् ।

भारतीय पक्षले नेपालका गैँडा भारतमा आएको बताएपछि अनुगमन गर्दा गैँडा भारत गएको पुष्टि भएको थियो । नेपालमा वासस्थान अभाव भएकोले उचित वासस्थानको खोजीमा गैँडा भारत पुगेको संरक्षणकर्मीहरूको भनाइ छ । बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने गेरुवा नदीमा पानी सुकेको छ । नदी सुकेपछि निकुञ्ज नै सुख्खाग्रस्त बन्दै गएको छ ।

गैँडालाई बस्नको लागि प्राकृतिक घोल खोला, नदी र घाँसे मैदानको आवश्यकता पर्दछ । निकुञ्जभित्र भएका प्राकृतिक नाला सुक्दै गएको हुनाले कृत्रिम पोखरी निकुञ्जले बनाउँदै गएको छ । हाल निकुञ्जभित्र १८२ ओटा पानी पोखरी निर्माण गरिएको छ । निकुञ्जले गेरुवा नदीको लालमाटी क्षेत्रमा थुप्रिएको नदीजन्य पदार्थ खोतलेर नहर बनाइ पानी ल्याएको छ ।

पानी ल्याएपछि गैँडा फर्कन्छन् भन्ने अपेक्षा गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोककुमार रामले बताए । ‘अहिले केही गैँडा फर्केको अनुमान गरेका छौँ,’ उनले भने, ‘यस वर्षको गैँडा गणना रोकिएको हुनाले यकिनका साथ भन्न सकिँदैन ।’ नदीमा अझै पनि पर्याप्त पानी नभएको पनि उनले बताए ।

उनले निकुञ्जले करिब ६५ लाख खर्चेर लालमाटी क्षेत्रको ढुङ्गा गिट्टी बालुवा हटाई पानी ल्याएका बताए । हरेक वर्ष यसरी नै पानी ल्याउने गरेको उनले बताए । भारत गएका गैँडालाई नेपालतर्फ फर्किउन भनेर वासस्थान सुधारका कामहरू गरिरहेको उनले बताए । सन् २०२१ मा गरिएको गैँडा गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा गैँडा थिए ।

यस अवधिमा बाघको आक्रमण र प्राकृतिक कारणले तीन वटा गैँडा मरेका छन् । यस वर्ष गर्ने भनिएको गैँडा गणना आर्थिक अभावका कारण रोकिएको छ । गैँडा गणना रोकिएपछि बर्दियामा हाल कति गैँडा छन् भन्ने यकिन नभएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले बताए ।

उनले गणना नभए पनि अनुगमनबाट भारततर्फ गएको पुष्टि भएको उनले बताए । निकुञ्जका प्रमुख रामका अनुसार बर्दियामा सन् १९८६ मा चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा स्थानान्तरण गरिएको थियो । त्यसपछि पटक पटक गरी बर्दियामा ५५ वटा पोथी र ४५ वटा भाले गैँडा बर्दियामा स्थानान्तरण गरिएको थियो ।

ती मध्ये चोरीशिकारबाट ३६ र प्राकृतिक कारण २४ ओटा गैँडा मरेका थिए । विगत १५ वर्षयता बर्दियामा गैँडाको चोरीशिकार शून्य छ । सुरुमा खाता जैविक मार्ग हुँदै भारतीय सीमावर्ती क्षेत्रमा गैँडा पुगेका थिए । भारतले गैँडाको लागि पानी पोखरी र घाँसे मैदान बनाएपछि नेपालका गैँडा भारततर्फ पुगेका हुन् ।

नेपालमा पानीको कमी हुनु र भारतमा कृत्रिम पोखरीको व्यवस्थापन गरी वासस्थान निर्माण गर्दा भारततर्फ गैँडा गएको संरक्षणकर्मी रामबहादुर शाहीले बताए । नेपालमा वासस्थान सुधार नगरेमा बर्दिया राष्ट्रिय निकुञ्जका गैँडा भारततर्फ जाने उनले बताए । उनले नेपालले स्थायी रूपमा पानीको अभाव हुन नदिनका लागि योजना बनाएर अगाड बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार ०९:१७

लोकप्रिय