२०८३ भदौ २० , शनिबार 5, September 2026, Saturday

नेपालमा बाढी आउँदा भारतलाई किन चिन्ता ?

तिब्बतको सीमानजिकै आएको विनाशकारी बाढीका कारण नेपालमा ज्यान गुमाउनेको संख्या एक हजार ४०० नाघेको छ । नेपालमा आएको यो विनाशकारी बाढीले एउटा यस्तो जोखिम उजागर गरेको छ, जुन कुनै एउटा देशको सीमाभित्र मात्र सीमित रहँदैन ।

भारत र नेपालले हिमालयबाट बग्ने नदीहरू साझा गर्छन् । तर, नेपालमा आउने बाढी र भारतमा हुने विनाशबीचको सम्बन्ध सामान्य रूपमा नदीको पानी तल्लो तटीय क्षेत्रतर्फ बग्ने प्रक्रियाभन्दा धेरै जटिल रहेको विज्ञहरू बताउँछन् ।

हिमालबाट आउने केही बाढीले ठूलो मात्रामा लेदो, ढुंगा र भग्नावशेष बोकेर तीव्र गतिमा बहन्छन् । अन्य बाढी भने समथर तराई क्षेत्रमा पुग्दा आफ्नो गति र शक्ति गुमाउँदै सामान्य बाढीमा परिणत हुन सक्छन् । नेपालबाट बग्ने पानी भारतमा पुगेर कत्तिको ठूलो विपद्मा परिणत हुन्छ भन्ने नेपालमा कति वर्षा भयो भन्नेमा मात्र निर्भर हुँदैन ।

यो भारततर्फको वर्षाको मात्रा, नदीको जलस्तर, तटबन्ध, ढल निकास तथा विकास निर्माणका संरचनामा पनि निर्भर हुन्छ । नेपालको यो बाढी भारतका लागि गम्भीर चेतावनी केवल पानी दक्षिणतर्फ सीमा पार गरेर बग्ने भएकाले मात्र नभएर दुवै देशले विशाल र तीव्र रूपमा अस्थिर बन्दै गएको हिमाली नदी प्रणाली साझा गर्ने भएको विज्ञहरूको भनाइ छ ।

नेपालका कतिवटा नदी भारततर्फ बहन्छन् ?

नेपालमा ६ हजारभन्दा बढी नदीनाला तथा खोलाहरू छन्, जसमध्ये अधिकांश दक्षिणतर्फ बग्दै भारत र त्यसपछि गंगा नदीमा मिसिन्छन् । नेपालमा तीनवटा मुख्य नदी प्रणाली छन्, जसमा पूर्वमा कोसी, मध्य भागमा गण्डकी र पश्चिममा कर्णाली । पश्चिमी सीमामा महाकाली नदी पनि रहेको छ ।

शिवालिक र चुरे पर्वतशृंखलाबाट उत्पत्ति हुने वाग्मती, कमला, राप्ती र बबईजस्ता दर्जनौँ साना नदीहरू कम चर्चित भए पनि तिनका जलाधार क्षेत्र साना र भिराला भएकाले तीव्र तथा थप अप्रत्याशित बाढी निम्त्याउन सक्ने बताइएको छ । नेपालबाट सातदेखि नौवटा मुख्य नदी भारतीय समथर भूभागतर्फ बग्छन् ।

इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड)का जलवैज्ञानिक मनिष श्रेष्ठका अनुसार भारतमा आउने बाढीका लागि तिनै नदीहरू प्रमुख रूपमा जिम्मेवार छन् । भारतको केन्द्रीय जल आयोगले कोसी, गण्डक, वाग्मती र कर्णाली (घाघरा)लाई मुख्य सीमापार नदीका रूपमा पहिचान गरेको छ ।

भारतका कुन–कुन राज्य सबैभन्दा बढी जोखिममा छन् ?

बिहार भारतको सबैभन्दा बढी जोखिममा रहेको राज्य हो । उत्तरी बिहारको करिब तीन–चौथाइ भूभाग आधिकारिक रूपमा बाढीको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा वर्गीकृत गरिएको छ । राज्यलाई जलमग्न गराउने लगभग सबै मुख्य नदी नेपालबाट उत्पत्ति हुन्छन् । तीमध्ये बिहारको शोक भनेर चिनिने कोसी नदी सबैभन्दा कुख्यात छ ।

त्यसपछि गण्डक, वाग्मती र कमला नदी पर्छन् । तर, जोखिम बिहारमा मात्र सीमित छैन । पूर्वी उत्तर प्रदेश कर्णाली (घाघरा), राप्ती र गण्डक नदीको बाढीको जोखिममा छ । गोरखपुर, बहराइच, लखिमपुर खीरी र श्रावस्तीजस्ता जिल्ला नियमित रूपमा प्रभावित हुने गर्छन् । उत्तराखण्डले महाकाली–शारदा नदी प्रणाली साझा गर्छ ।

पश्चिम बंगलाको उत्तरी क्षेत्रमा मेची र महानन्दा नदीको बहाव पुग्छ । ‘परिमाणका हिसाबले बिहार शीर्ष स्थानमा छ । उत्तर प्रदेश दोस्रो स्थानमा छ, जसका बाढीका खबर प्रायः ओझेलमा पर्ने गर्छन्,’ ईसिमोडका जलवैज्ञानिक प्रदीप मान डंगोल भन्छन् । बिहारले बाढीको सबैभन्दा ठूलो भार सहन्छ, तर उत्तर प्रदेश पनि यस जोखिमको महत्वपूर्ण र प्रायः उपेक्षित हिस्सा हो ।

नेपालमा आउने बाढीले भारतको भाग्य कसरी निर्धारित हुन्छ ?

जलवैज्ञानिकहरूका अनुसार यसलाई तीन चरणको शृंखलाका रूपमा बुझ्न सकिन्छ । पहिलो हो वर्षा । कहाँ र कति भीषण वर्षा हुन्छ भन्ने कुराले बाढीको प्रकृति निर्धारण गर्छ । भारत पुग्ने बाढीको उच्चतम बहाव प्रायः उच्च हिमाली क्षेत्रबाट नभई तल्लो क्षेत्र अर्थात् शिवालिक, चुरे र तराईबाट उत्पन्न हुन्छ ।

यहाँका साना र भिराला जलाधार क्षेत्रमा भीषण मनसुनी वर्षा हुन सक्छ । दोस्रो हो नदीको प्रकृति । नेपालका नदी पहाडको फेदीमा पुगेपछि भिरालोपनमा एक्कासि आउने परिवर्तन पार गर्छन्, आफूसँग ल्याएका गेग्रान र लेदो थुपार्छन् र समथर तराईमा विभिन्न शाखामा फैलिँदै तीव्र रूपमा दिशा परिवर्तन गर्ने बहुशाखीय नदीका रूपमा बग्छन् ।

तेस्रो हो जब पानी भारततर्फ प्रवेश गर्छ । बाढी कति भयावह बन्छ भन्ने पानीले अगाडि कस्तो अवस्थाको सामना गर्छ भन्नेमा निर्भर हुन्छ । यसमा भारततर्फ परेको वर्षाको मात्रा, गंगा नदीको जलस्तर, तटबन्ध र ब्यारेजको अवस्था तथा तटीय क्षेत्रमा बनेका सडक, रेलमार्ग र बस्तीका कारण अवरुद्ध भएको ढल निकासलगायत पक्ष महत्वपूर्ण हुन्छन् ।

त्यसैले सीमामा पुग्ने पानीको उच्चतम बहाव मुख्यतः नेपालमा हुने वर्षाले निर्धारण गर्छ । तर, बाढीको भयावहता भने कम्तीमा भारतभित्रको अवस्थामा समेत उत्तिकै निर्भर हुन्छ । सन् २००८ को कोसी विपद्ले यसको स्पष्ट उदाहरण हो । त्यतिबेला नदीमा पानीको बहाव तटबन्धले थाम्न सक्ने क्षमताभन्दा धेरै कम थियो ।

त्यो महाविपद् असाधारण बाढीका कारण नभई तटबन्ध भत्किएका कारण आएको थियो । ‘सीमामा आइपुग्ने बाढीको उच्चतम बहावका लागि मुख्यतः नेपालको वर्षा जिम्मेवार हुन्छ । तर, बाढी पुगिसकेपछि यसको भयावहता कति हुन्छ भन्ने कम्तीमा भारतभित्रको अवस्थामा समेत उत्तिकै निर्भर हुन्छ,’ विपद् जोखिम न्यूनीकरणसम्बन्धी इसिमोडका इन्टरभेन्सन म्यानेजर साश्वत सन्याल भन्छन् ।

नेपालको वर्षा कसरी भारतको बाढी जोखिम बन्छ ?

सन् २००८ को कोसी नदीको तटबन्ध फुट्दा बिहारमा करिब ४०० जनाको मृत्यु भएको थियो । तर, आश्चर्यजनक रूपमा त्यसबेला नदीमा असाधारण वा असामान्य रूपमा उच्च बहाव थिएन । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) कानपुरका भूविज्ञानका प्राध्यापक राजीव सिन्हाका अनुसार त्यसबेला पानीको बहाव नदीको कुल बहन क्षमताको १० प्रतिशत मात्र थियो ।

उक्त महाविपद् दशकौँअघि निर्माण गरिएको र उचित मर्मत सम्भार नगरिएको तटबन्ध फुटेका कारण भएको थियो । ‘सन् १९५० र १९६० को दशकमा बनेका तटबन्धको उचित मर्मतसम्भार गरिएको थिएन । ती खिइँदै गएका थिए । अन्ततः तिनमा कमजोर बिन्दु सिर्जना भए । नदीले तिनै संवेदनशील बिन्दुबाट तटबन्ध फुटाएर भारतका ती क्षेत्रमा प्रवेश ग¥यो, जहाँ सम्भवतः १०० वर्षदेखि कुनै बाढी आएको थिएन,’ सिन्हा भन्छन्, ‘यो असफलता जलवैज्ञानिक नभई संरचनात्मक थियो ।’

नेपालबाट भारतले कतिअघि पूर्वसूचना पाउन सक्छ ?

सन्यालका अनुसार सामान्य मनसुनी बाढीका लागि पानी कति छिटो तल्लो तटीय क्षेत्रतर्फ बग्छ भन्नेमा निर्भर गर्दै भारतले करिब १२ घण्टादेखि दुई दिनसम्मको पूर्वसूचना पाउन सक्छ । नेपालको पहाडी फेदीबाट कोसी र गण्डक हुँदै बिहारको समथर भूभागसम्म पानी पुग्न करिब एक दिन लाग्न सक्छ । घाघरा नदी हुँदै पुग्न अलि बढी समय लाग्छ ।

चुरे क्षेत्रका नदीबाट आउने आकस्मिक बाढी भने केही घण्टामै पुग्न सक्छ । पहिरोले नदी थुनिएर फुट्दा वा लेदोसहितको बाढी आउँदा यो समय अझ छोटिन सक्छ । हालैको बाढीमा रसुवाबाट आएको बाढीको उच्चतम बहाव भारतीय सीमाको नजिकै रहेको त्रिवेणीसम्म पुग्न करिब साढे सात घण्टा लागेको थियो ।

भारत र नेपालले जलमापन तथा मौसम स्टेसनको सञ्जालमार्फत वास्तविक समयको वर्षा र नदीको जलस्तरसम्बन्धी तथ्यांक आदानप्रदान गर्छन् । नेपालको जल तथा मौसम विज्ञान विभागले वर्षा र नदीको जलस्तरसम्बन्धी तथ्यांक भारतको केन्द्रीय जल आयोगलाई उपलब्ध गराउँछ, जसलाई भारतले बाढी पूर्वानुमानका लागि प्रयोग गर्छ । तर, अझै पनि महत्वपूर्ण कमीहरू रहेको सन्याल बताउँछन् ।

तीमध्ये सबैभन्दा तीव्र बहाव हुने चुरे जलाधार क्षेत्रमा वास्तविक समयमा अनुगमन गर्ने स्टेसनको संख्या निकै कम हुनु प्रमुख हो । दुई देशबीच कुनै एकल साझा पूर्वानुमान मोडेल छैन । तटबन्धको अवस्था, नदीको बहाव मार्गमा आउने परिवर्तन तथा गेग्रान र लेदोसम्बन्धी नियमित सूचना आदानप्रदान पनि सीमित छ ।

अर्को निर्णायक पक्ष ‘अन्तिम माइल’सम्मको पहुँच हो । जिल्ला कार्यालयमा पूर्वसूचना पुग्नु र जोखिममा परेको परिवारसम्म सूचना पुग्नु एउटै कुरा होइन । यी सीमापार नदीका लागि, सिन्हा भन्छन्, ‘सूचना आदानप्रदान र पूर्वसूचना प्रणालीमा सहकार्य अत्यन्तै महत्वपूर्ण छ । हामीलाई हिमताल, तिनको प्रवाह र समयसँगै तिनमा भइरहेको परिवर्तनको द्रुत र निरन्तर अनुगमन आवश्यक छ ।’

नेपाल र भारतका बाढीबारे सबैभन्दा ठूलो भ्रम के हो ?

नेपालले भारततर्फ पानी ‘छोड्छ’ वा ‘बगाउँछ’ भन्ने सोचाइ एउटा आम भ्रम भएको वैज्ञानिकहरू बताउँछन् । नेपालसँग यसो गर्न सक्ने क्षमताका ठूला जलाशय लगभग छैनन् । नेपालको मुख्य भण्डारण बाँध ‘कुलेखानी’मा ०.१ घन किलोमिटरभन्दा कम पानी अटाउँछ । ‘त्यसैले त्यहाँबाट छोड्नका लागि केही पनि छैन,’ सन्याल भन्छन् । कोसी र गण्डक ब्यारेज भारतद्वारा नै सञ्चालित छन् ।

जब बाढीको पानी सीमामा पुग्छ, त्यो मुख्यतः माथिल्लो तटीय क्षेत्र अर्थात् नेपालमा परेको वर्षाका कारण हुन्छ, नेपालले ढोका खोलेका कारण होइन । तर, यो दाबीको पछाडि एउटा महत्वपूर्ण तथ्य पनि छ । उत्तरी बिहार र पूर्वी उत्तर प्रदेशलाई जलमग्न बनाउने धेरैजसो पानी नेपालमा वर्षाका रूपमा परेको हुन्छ । त्यसैले नेपालको वर्षाले भारत पुग्ने बाढीको समय र परिमाणले मुख्य रूपमा निर्धारण गर्छ ।

नेपालले गंगा नदीको औसत वार्षिक बहावमा करिब ४० प्रतिशत हिस्सा योगदान गर्छ । सुख्खा याममा यो हिस्सा अझ बढी हुन्छ । यसले नेपालको जलविज्ञानलाई भारतका लागि अत्यन्त महत्वपूर्ण बनाउँछ । ‘यसलाई केवल आरोप र कारकको कथाका रूपमा लिनु अति सरलीकृत सोच हो । वर्षा हुनु कुनै स्वेच्छिक निर्णय होइन,’ सन्याल भन्छन् ।

कुनै निश्चित पानीको बहाव विपद्मा परिणत हुन्छ कि हुँदैन भन्ने नेपालमा जत्तिकै भारतभित्रको अवस्थामा समेत निर्भर हुन्छ, जस्तै गंगा नदीको जलस्तर, भारततर्फ परेको वर्षा, तटबन्धको मजबुती, ढल निकास र गेग्रानको अवस्था । ‘यसको प्रभाव दुवैतर्फ पर्छ । भारतको सुरक्षाका लागि बनाइएका तटबन्ध र ब्यारेजले पानीको सतह बढाएका छन् र नेपालको तराई क्षेत्रमा डुबान निम्त्याएका छन्, जुन नेपालको दीर्घकालीन चिन्ताको विषय हो,’ सन्याल थप्छन् ।

नेपाल र भारतले एउटै नदी प्रणाली साझा गर्छन्, जहाँ एउटा देश माथिल्लो तटीय क्षेत्रमा छ भने अर्को तल्लो तटीय क्षेत्रमा । त्यसैले यसको समाधान एकअर्कालाई दोष दिनुमा होइन, बरु तथ्यांकको राम्रो आदानप्रदान, सटिक पूर्वानुमान र प्रभावकारी नदी व्यवस्थापनमा छ ।

भारतका लागि सबैभन्दा चिन्ताको विषय के हुनुपर्छ ?

‘भारत चिन्तित हुनुपर्छ, तर नेपालको कोसी नदीका कारणले मात्र होइन,’ राजीव सिन्हा भन्छन् । विज्ञहरूका अनुसार वास्तविक चेतावनी हिमालय क्षेत्रमा भइरहेको परिवर्तन र पानी, ढुंगा, बरफ तथा अत्यधिक मात्रामा गेग्रान तथा लेदो एक्कासि मिसिँदा उत्पन्न हुने जोखिम हो । सिन्हाका अनुसार हालै नेपालमा आएको विपद् भारतले हालैका वर्षमा भोगेका विनाशकारी घटनासँग मिल्दोजुल्दो छ ।

यसमा सन् २०२१ को चमोली विपद् र सन् २०२५ मा उत्तराखण्डको धरालीमा आएको विपद् समावेश छन् । नेपालको यो घटना सम्भवतः तीभन्दा पाँच देखि १० गुणा ठूलो थियो । ‘मुख्य कुरा के हो भने यी सामान्य बाढी होइनन्,’ सिन्हा भन्छन् । परम्परागत बाढीमा मुख्यतः पानी हुन्छ । तर, भीषण वर्षा, पग्लिएको बरफ वा अचानक छुटेको पानी अत्यधिक मात्रामा गेग्रान र लेदोसँग मिसिँदा त्यो बाक्लो, उच्च ऊर्जायुक्त लेदोको बहावमा परिणत हुन्छ, जसले आफ्नो बाटोमा आउने लगभग सबै कुरा विनाश गर्न सक्छ ।

सन् २०२१ को चमोली विपद्को पाठ पनि यही थियो । उत्तरी भारतको चमोली उपत्यकामा हिमालयन ग्लेसियरको ठूलो टुक्रा खस्दा गेग्रान र पानीको भीषण बहाव आएको थियो । त्यस घटनामा करिब २०० जनाको मृत्यु भएको थियो । जलविद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेको थियो । यो दृश्य सन् २०२५ मा उत्तराखण्डको धरालीमा पनि स्पष्ट देखिएको थियो ।

भीषण वर्षापछि आएको आकस्मिक बाढी र लेदोको बहावले गाउँका केही भागलाई लेदोमुनि पुरेको थियो । त्यसमा जलवायु परिवर्तनको असर पनि जोडिएको छ । विज्ञहरूका अनुसार अत्यधिक वर्षा झन् तीव्र बन्दै गएको छ । यो क्षेत्र विश्वव्यापी औसतभन्दा तीव्र गतिमा तातिरहेको छ । न्यानो वायुमण्डलले बढी आद्र्रता धारण गर्छ र मनसुनले कम समयमा अझ भीषण वर्षा गराउन सक्छ । उच्च हिमाली क्षेत्रका जोखिम पनि बढ्दै गएका छन् ।

पर्माफ्रोस्ट पग्लिँदै जाँदा हिमताल विस्फोट तथा पहिरो र हिमपहिरोका घटना बढ्ने अपेक्षा गरिएको छ । यसले अझ तीव्र र लेदोसहितका बाढी निम्त्याउन सक्छ, जसको पूर्वानुमान गर्न कठिन हुन्छ । अझ बढी चरम घटनाको अर्थ सीमाको दुवैतर्फ बढी पहिरो जाने, नदीमा गेग्रान थुप्रिने, नदीको सतहमाथि उठ्ने र नदीको पानी बोक्ने क्षमता घट्ने अवस्था पनि हो । यी सबै एउटै व्यापक हिमाली जोखिम प्रणालीका रुपान्तरण हुन् । यसप्रति भारतको जोखिम निकै उच्च छ ।

स्रोत : बीबीसी
प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार