प्रकृति जब आफ्नो सन्तुलन गुमाएर विनाशकारी रूपमा प्रस्तुत हुन्छ, तब मानिसको वर्षौँको मेहनत, सपना र अस्तित्व क्षणभरमै बगर वा खरानीमा परिणत हुन्छ । प्राकृतिक विपत्तिले कसैको पहुँच, धनी वा गरिब भन्दैन। यसले केवल विनाश र कहिल्यै नपुर्ने घाउहरू छाडेर जान्छ। यस्तै एउटा कहालीलाग्दो र मर्मस्पर्शी यथार्थको जीवित उदाहरण हुन्, भोटेकोशी बाढीपीडित लक्ष्मी पाण्डे र उनको परिवार ।
गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको भीषण ताण्डव चलिरहँदा लक्ष्मी पाण्डे र उनका परिवार आफ्नै पसलमै थिए । त्यसदिन उनीहरु डेढ घण्टासम्म मृत्युसँग सङ्घर्ष गर्दै बाँच्न सफल भए । १० गतेको बाढीले त्रिशुली नदि किनारका पुरै बस्ती बगर बनायो । त्यही बस्तिमा रहेको एउटा घर जसलाई बाढीले बगाउन सकेन र त्यही घरमा रहेका ६ जना मानिसको सकुशल उद्वार भयो ।
अहिले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा त्यो आधा डुबेको घरको तस्वीर र भिडियो ‘भाइरल’ बनेको छ । तर, त्यो भाइरल घर र दृश्यहरूका पछाडि लक्ष्मी पाण्डेको मर्मघाती रोदन, नमेटिने घाउ र रित्तिएको भविष्य लुकेको छ । त्यो कहालीलाग्दो क्षण, घटना भएको दिन अरू सामान्य दिनहरू जस्तै नै सुरु भएको थियो । बाढी आउनुअघि लक्ष्मी र उनका श्रीमान् आफ्नो घरनजिकै सञ्चालनमा रहेको पसलमा थिए ।
लिकर डिस्ट्रिब्युटरमा दैनिक काम र हरहिसाबमा उनीहरु व्यस्त थिए । अचानक बाहिर सडकमा प्रहरीको गाडीले माइकिङ गर्दै गरेको आवाज सुनियो । खोलामा पानीको बहाव अत्यधिक बढेकाले तुरुन्त घर छाडेर सुरक्षित ठाउँमा जान प्रहरीले चेतावनी दिँदै थिए । प्रहरीको सूचना सुन्नासाथ लक्ष्मीको मनमा चिसो पस्यो । ‘घरमा ११ वर्षकि छोरी र वृद्धा आमा हुनुहुन्थ्यो । छोरा स्कुल गैसकेको थियो । त्यसपछि हामीहरु पसलको काम र सामान सबै त्यत्तिकै छाडेर हतार–हतार घरतिर दौडियौं,’ उनी भन्छिन् ।
उनीहरु घर पुग्दा नपुग्दै बाढीले भयंकर र रौद्र रुप लिइसकेको थियो । ‘जन्मेर यो उमेरसम्म आइपुग्दा पहिलोपटक त्यस्तो डरलाग्दो बाढी देखेका थियौँ,’ उनी भन्छिन् । बाढी खोलाको बाटो मोडिएर सोझै बस्तीतिर आयो । घरभन्दा तल रहेका पुल र पर्खालहरू भत्काउँदै अगाडि बढेपछि वरिपरि भागाभाग भयो । बाहिर निस्कने सबै बाटाहरू बाढीले छेकिसकेका थिए ।
तल्लो तल्लामा पानी ह्वात्तै पसेपछि लक्ष्मी, उनका श्रीमान्, ११ वर्षीया छोरी, सासूआमा र छरछिमेकी गरी ५–६ जना ज्यान बचाउन हतार–हतार घरको चौथो तल्लाको बलेनीमा पुगेर अड्किए । चौथो तल्लाको त्यो सानो बलेनीमा बिताएको डेढ घण्टा लक्ष्मी र उनको परिवारका लागि जीवन र मृत्युको बिचको एउटा भयानक पुल जस्तै थियो ।
३४–३५ वर्ष पुरानो बलियो जगमा बनेको घर भए पनि बाढीको धक्काले सिङ्गो घर डमडम हल्लिरहेको थियो । पानीको सतह निरन्तर बढ्दै तेस्रो तल्लासम्म पुग्यो । ‘अब त सकियौँ, बचेनौँ, आज हाम्रो जीवनको अन्तिम दिन हो’ भन्ने त्रास र आशङ्काले मनमा डेरा जमाएको थियो । ११ वर्षीया छोरी स्कुलको ड्रेसमै थिइन् । बेस्सरी आत्तिएकी छोरीलाई अँगालो हालेर आफू रोइरहेको सम्झँदै उनी भक्कानिन्छिन् ।
करिब डेढ घण्टा मृत्युसँग लडेर घरको संघारमा भगवान जप्दै बसेका उनका परिवारलाई बचाउन स्थानीय चार–पाँच जना साहसी युवाहरू ‘भगवान्’ बनेर आएको उनी बताउँछिन् । ‘उहाँहरू हाम्रा लागि साक्षात भगवान् बनेर आउनुभयो, उहाँहरूले आफ्नो ज्यान जोखिममा राखेर डोरी फाले र निकै मुस्किलले एक–एक गरी सबैको सकुशल उद्धार गर्नुभयो,’ उनी भन्छिन्, ‘डेढ घण्टामै जिन्दगीभरको कमाई सकियो र रह्यो रित्तो हात !’
बाढीसँगैको त्यो डेढ घण्टाको त्यो जीवन र मृत्युको परिक्षामा ज्यान बचाउन त सफल भए, तर लक्ष्मीको जीवनभरको कमाई, सम्पत्ति र सर्वस्व गुम्यो । बाढी साम्य भएपछि जब उनीहरू घर फर्किँदा त्यहाँ सबै थोक सखाप भइसकेको थियो । ३४–३५ वर्षअघि बनाएको बलियो घरको तल्ला–तल्लासम्म बाढी, हिलो र लेदो पसेको थियो । घरभन्दा पनि ठूलो आघात उनीहरुको जीविकोपार्जनको स्रोतमा पर्यो ।
पसलका करिब १५ देखि २० लाख रुपैयाँ बराबरका सामान, गोदाम, काउन्टरमा भएको नगद, सुनका गहना, लत्ताकपडा र महत्त्वपूर्ण कागजपत्र सबै बाढीको भेलले बगाएको उनी बताउँछिन् । ‘अहिले त घरको आँगनबाटै खोला बगिरहेछ, पसल र गोदामको ठाउँमा बगरबाहेक केही बाँकी छैन । सम्पत्तिको नाममा हामीसँग शरीरमा भएको कपडाबाहेक केही रहेन,’ उनी भन्छिन् । वर्षौँको अथक मिहिनेत र पसिनाले कमाएको सम्पत्ति एकैछिनमा बाढीले स्वाहा पारिदियो ।
मिडियाको चासो तर राहत शून्य
अहिले लक्ष्मीको घर सामाजिक सञ्जाल र मिडियामा भाइरल छ । धेरै मानिसहरू फोन गर्छन्, रिपोर्टरहरू प्रत्यक्ष भेट्न आउँछन्, तर सबैको एउटै प्रश्न दोहोरिन्छ, ‘त्यतिबेला चौथो तल्लामा अड्किँदा कस्तो अनुभव भएको थियो ?’ पटक–पटक उही पीडादायी र भयानक कथा दोहोर्याउनु पर्दा उनको घाउ झन् कोट्याएझैँ हुन्छ । भाइरल हुनुले उनको रित्तिएको पेट भरेको छैन, न त बगेको पसल र घर नै फिर्ता ल्याइदिएको छ ।
‘मान्छेहरू सोध्छन्, भिडियो बनाउँछन् र जान्छन् । तर हाम्रा लागि आफन्तबाहेक अरू कसैले सहयोग वा राहतको चासो दिएका छैनन् । हामी सडकमा आएका छौँ, अब कसरी अघि बढ्ने भन्ने चिन्ताले पिरोलेको छ,’ उनी भन्छिन् । बाँचिसकेपछि जीविकोपार्जन कसरी गर्ने, बैंकको ऋण कसरी तिर्ने र छोराछोरीको भविष्य के हुने भन्ने नयाँ र झन् कठिन सङ्घर्ष सुरु भएको उनी बताउँछिन् ।
पुनःस्थापनाको आशा
अहिले पाण्डे र उनको परिवार काठमाडौंमा आफन्तको शरणमा आश्रय लिएर बसेका छन् । अर्काको घरमा कति दिन बस्ने र कसरी पुनः जीवन सुरु गर्ने भन्ने अनिश्चितताले उनलाई गाँजेको छ । मृत्युको मुखबाट जोगिएका लक्ष्मीको परिवारलाई अब केवल मानिसहरूको क्षणिक सहानुभूति र भाइरल बनाउने सञ्चार माध्यम मात्र होइन, साँच्चिकै पुनःस्थापना, आर्थिक सहयोग र दीर्घकालीन राहतको खाँचो छ । राज्य र सम्बन्धित निकायले उनी जस्ता सर्वस्व गुमाएका पीडितहरूको आँसु पुछ्न र उनीहरूलाई पुनः खुट्टामा उभ्याउन ठोस कदम चाल्नु अति आवश्यक देखिन्छ ।
