लुम्बिनी प्रदेश सरकारले सङ्घीयता कार्यान्वयनपछि बाँकेमा १५ वटा पुल निर्माण सम्पन्न गरेको छ । लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको सडक पूर्वाधार विकास कार्यालय, बाँकेका प्रमुख चन्द्रबहादुर शाहले पुल निर्माण सम्पन्न भएपछि हजारौँ स्थानीय बासिन्दालाई आवागमनमा सहजता भएको बताए ।
उनले १५ वटा पुल निर्माण सम्पन्न भएको, दुई वटा पुल निर्माण सम्पन्न हुने चरणमा पुगेको र थप दुई वटा पुल निर्माणका लागि बहुवर्षीय ठेक्का आह्वान भइसकेको जानकारी दिए । बैजनाथ गाउँपालिका–६ को जेठी नाला र कोहलपुर नगरपालिका–१३ स्थित गेरुवा खोलामा पक्की पुल निर्माण भइरहेको छ ।
‘प्रदेश सरकारले आवश्यकताका आधारमा पुल निर्माणलाई प्राथमिकता दिएको छ,’ कार्यालय प्रमुख शाहले भने, ‘नयाँनयाँ स्थानमा स्थानीयको मागका आधारमा पुल निर्माणको काम अघि बढाइएको छ ।’ कार्यालयका अनुसार डुडुवा नाला, जेठी नाला, किरण नाला, गौरी नाला, गेरुवा नाला, गडगैचा नाला, गन्धैला नाला, दोन्द्रा नाला र रोहिणी खोलामा पुल निर्माण सम्पन्न भइसकेको छ ।
किरण नाला अन्तर्गत खजुरा–२, सिगाउँस खजुरा–४, चल्तुवा र सिर्जनाटोल तथा साईगाउँमा पक्की पुल निर्माण गरिएको छ । जसमध्ये सिर्जनाटोल र साईगाउँका पुल निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सम्पन्न हुन ढिलाइ भएको छ । जेठी नाला अन्तर्गत चार वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने एचगाउँमा नयाँ पक्की पुल निर्माण भइरहेको छ ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले सङ्घीयता कार्यान्वयनपछि पुल निर्माणको क्षेत्रमा मन्त्रालयले अभूतपूर्व काम गरेको बताए । मन्त्री खत्रीले भने, ‘सङ्घीयता कार्यान्वयनपछि लुम्बिनीमा दर्जनौँ पुल निर्माण गरिएको छ । यसबाट सवारीसाधन सञ्चालनमा सहजता भएको छ ।’ सडक निर्माणमा समेत मन्त्रालयले प्राथमिकता दिएको उनले बताए ।
