त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार भएका सञ्जय साहको परिवारमा अहिले खुसीको सीमा छैन । लामो समयसम्म सञ्जय जीवितै छन् भन्ने आशामा बसेका परिवारले केही दिनपछि भने उनको सकुशल उद्धार हुने आशा कमजोर हुँदै गएको बताएका छन् ।
सञ्जयका मामा ऋषिदेव साह काठमाडौंमै थिए । बुधबार शुक्रबार सञ्जयलाई सुरुङबाट जीवितै उद्धार गरिएको खबर उनले सञ्चारमाध्यमबाट थाहा पाए । त्यसपछि घरबाट फोन आएपछि उनी तत्काल छाउनी अस्पताल पुगे । अस्पताल पुगेर सञ्जयलाई प्रत्यक्ष देखेपछि मात्रै आफूलाई उद्धारको खबर साँच्चिकै भएको अनुभूति भएको उनले बताए ।
ऋषिदेवले भने, ‘सञ्जय साह मेरो भान्जा पर्छन् । म काठमाडौंमै बस्छु । उद्धार भयो भनेर थाहा पाएपछि घरबाट पनि फोन आयो । त्यसपछि म यहाँ आएको हुँ ।’ उनका अनुसार लामो समय सुरुङभित्र बस्नुपरेका कारण सञ्जय केही कमजोर देखिए पनि अहिले उनको अवस्था सामान्य छ ।
परिवारसँग कुराकानी गर्दा उनले सबैलाई चिनेका छन् र खासै समस्या नभएको जानकारी दिएको ऋषिदेवले बताए । तर सञ्जयले सुरुङभित्र बिताएका १० दिन भने निकै कठिन थिए । अचानक आएको बाढीले सुरुङभित्र रहेका कामदारहरूलाई ज्यान जोगाउन भागाभागको अवस्था सिर्जना गरेको थियो ।
ऋषिदेवका अनुसार बाढी आउन थालेपछि सञ्जयलाई पनि त्यसको जानकारी भयो । सुरुङभित्र काम गरिरहेका अन्य व्यक्तिहरूलाई समेत भाग्न भनिएको थियो । त्यसपछि सञ्जय आफू सुरक्षित हुने ठाउँ खोज्दै माथिल्लो भागतर्फ पुगे ।
‘अचानक बाढी आएछ । त्यहाँ अरु काम गर्ने मान्छेहरू पनि थिए । भाग–भाग भनेपछि ऊ पनि सुरुङभित्र माथितिर गएको रहेछ,’ उनले भने । सुरुङभित्र चार–पाँच तलाजस्तो संरचना रहेको र सञ्जय छैटौँ तलातर्फ पुगेको उनले बताए । तर वैकल्पिक बाटोतर्फबाट पनि पानी आउन थालेपछि अवस्था झन् जोखिमपूर्ण बनेको थियो ।
पानीको बहावबाट जोगिन सञ्जयले बगाएर ल्याएको काठको सहारा लिएका थिए । पानी नपसेको स्थानमा पुगेपछि उनी त्यहीँ बसेर आफ्नो ज्यान जोगाइरहेका थिए । ‘बगाएर ल्याएको काठ अड्काइदिएछ । छैटौँ तलामा पानी गएन रे । त्यहीँ बसेर दुई–चार दिन त्यसै बिताएछ,’ ऋषिदेवले भने ।
त्यसपछि सुरुङभित्र रहेको भेन्टिलेसनजस्तो स्थानमा समेत सञ्जयले आश्रय लिएको परिवारले जानकारी पाएको छ । उनलाई सबैभन्दा ठूलो समस्या भनेको खानेपानी र खानाको थियो । लामो समयसम्म खानेकुरा नपाएपछि उनले सुरुङभित्र उपलब्ध पानी नै कपडाबाट छानेर पिउने गरेको ऋषिदेवले बताए ।
‘खाने कुराको त झन् समस्या भयो । गन्जी–टीसर्ट खोलेर गन्जीले पानी फिल्टर गरेर त्यही पानी हल्का–हल्का पिएछ,’ उनले भने । सञ्जयको यो अवस्था सुन्दा परिवारलाई अहिले पनि विश्वास गर्न गाह्रो भइरहेको छ । १० दिनसम्म अँध्यारो सुरुङभित्र, बाढी र पानीको जोखिमबीच कसरी उनले आफूलाई जोगाए भन्ने कुरा परिवारका लागि पनि चमत्कारजस्तै बनेको छ ।
सञ्जयको उद्धार हुनुअघि भने परिवारको आशा विस्तारै कमजोर हुँदै गएको थियो । सुरुका दिनमा सुरुङ ठूलो भएकाले भित्र कतै सुरक्षित स्थानमा बसेका हुन सक्ने आशा थियो । तर दिन बित्दै गएपछि परिवारले नराम्रो खबर आउनसक्ने सम्भावना स्वीकार गर्न थालेको थियो । ऋषिदेवले भने, ‘सातआठ दिन भइसकेको थियो, अब त माया मारिसकेका थियौँ । जीवितै होला भन्ने आशा पनि बिस्तारै कम हुँदै गएको थियो ।’
तर शुक्रबार बिहान आएको खबरले परिवारको अवस्था एकाएक बदलियो । लामो समयदेखि पर्खिरहेको खुसीको खबर सुनेपछि आफूहरू निकै भावुक भएको उनले बताए । ‘उद्धार भयो भन्ने खबर सुन्दा मलाई मात्रै होइन, पुरै नेपाललाई नै खुसी लागेछ भन्नुपर्छ । यस्तो अवस्थामा १० दिनपछि जीवितै भेटिनु चमत्कार नै भयो,’ उनले भने ।
सञ्जयलाई भगवानको कृपाले नयाँ जीवन पाएको परिवारले महसुस गरेको छ । विशेषगरी कृष्ण जन्माष्टमीको दिन उनको उद्धार भएकाले परिवारले यसलाई अझ विशेष रूपमा लिएको ऋषिदेवले बताए । ‘शुक्रबार हिजो भगवानको जन्म दिन हो । यही दिन हाम्रो भान्जाको पनि पुनर्जन्म भयो भन्नुपर्यो । भगवानकै कृपा हो, चमत्कार नै भयो,’ उनले भने ।
अहिले सञ्जय अस्पतालमा उपचाररत छन् । परिवारका सदस्यहरू उनको स्वास्थ्यमा क्रमिक सुधार आउने विश्वासमा छन् । लामो समयसम्म सुरुङभित्र बस्दा शरीर कमजोर भएपनि अहिले उनी आफन्तलाई चिन्न सक्ने, फोनमा कुराकानी गर्न सक्ने र सामान्य अवस्थामा रहेको ऋषिदेवले बताए ।
सञ्जयको उद्धारपछि उनको परिवारमा मात्रै होइन, घटनाबारे जानकारी राखिरहेका सर्वसाधारणमा समेत खुसी छाएको छ । लामो समयसम्म बेपत्ता रहेका व्यक्तिलाई जीवितै उद्धार गर्न सकिन्छ भन्ने आशा यस घटनाले जगाएको परिवारको भनाइ छ । ऋषिदेवले सुरुङभित्र अझै जोखिममा रहेका वा सम्पर्कविहीन व्यक्तिहरूको पनि सकुशल उद्धार होस् भन्ने कामना गरेका छन् ।
