२०८३ भदौ २० , शनिबार 5, September 2026, Saturday

बाँकेमा स्थानीय तहका अस्पताल सञ्चालनमा समस्या

बाँके जिल्लाका स्थानीय तहहरुमा १५ शैय्याका आधारभूत अस्पताल निर्माण कार्य धमाधम हुँदै गए पनि भवन निर्माणपछि अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण, औषधि र नियमित खर्च व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

संघीय सरकारको नीति तथा कार्यक्रम अनुसार स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने अभियान अन्तर्गत जिल्लाका अधिकांश स्थानीय तहमा अस्पतालका भवन निर्माण भइरहेका छन् । केही स्थानीय तहमा भवन निर्माण सम्पन्न भइसकेका छन् भने केहीमा निर्माण अन्तिम चरणमा पुगेको छ ।

तर, अस्पतालको भौतिक संरचना तयार भएपनि त्यसलाई नियमित र दिगो रूपमा सञ्चालन गर्ने विषय स्थानीय तहका लागि मुख्य चुनौती बनेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए । संघीय सरकारले आवश्यक बजेट उपलब्ध नगराउँदा स्थानीय तहको आफ्नै स्रोतबाट १५ शय्याको अस्पताल सञ्चालन गर्न कठिन भएको अध्यक्ष खाँको भनाइ छ ।

उनले जानकी गाउँपालिकाले १५ शैय्याको आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएकोले सो सञ्चालनका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा उपकरण व्यवस्थापन गर्न ठुलो चुनौती देखिएको बताए । उनले थपे, ‘हामी आफैंले अस्पताल चलाउन सम्भव छैन । बजेट माग गरेका छौँ । बजेट नआए गाउँपालिकाले चलाउने स्थिति छैन ।’

सोही प्रकारले जिल्लाको पूर्वी तथा भारतीय सीमासँग जोडिएको नरैनापुर गाउँपालिकाले पनि १५ शैय्याको अस्पताल भवन निर्माण सम्पन्न गरिसकेको छ । तर, आवश्यक जनशक्ति र उपकरणको अभावमा अस्पताल सञ्चालनमा आउन सकेको छैन । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जनशक्ति तथा उपकरण व्यवस्थापनका लागि संघ र प्रदेश सरकारसँग अनुरोध गरिएको बताए ।

उनले भने, ‘हामी कहाँ भवन बनेको छ, तर जनशक्ति र उपकरण छैन, राज्यले जनशक्ति र उपकरणको व्यवस्था गरिदियो भने मात्रै हाम्रो ठाउँमा आधारभूत अस्पताल सञ्चालन गर्न सकिन्छ ।’ गाउँपालिकाको वार्षिक आन्तरिक आम्दानी करिब ४० लाख रुपैयाँ मात्रै रहेको उल्लेख गर्दै अध्यक्ष शाहले १५ शैय्याको अस्पताल सञ्चालनमा मात्रै वार्षिक दुईदेखि तीन करोड रुपैयाँसम्म खर्च लाग्ने भएकाले स्थानीय स्रोतबाट अस्पताल चलाउन नसकिने बताए ।

यस्तै राप्तीसोनारी गाउँपालिकाको नयाँ अस्पताल भवन तयार भए पनि अस्पताल सञ्चालनको आर्थिक भार स्थानीय तहको आन्तरिक स्रोतबाट धान्न नसकिने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलका अनुसार अस्पताल सञ्चालनलाई सहज बनाउन दातृ निकायको सहयोग खोजिएको छ ।

उनले भने, ‘अस्पताल सञ्चालनका विषयमा एउटा संस्थासँग प्रक्रिया अगाडि बढाएका छौँ । संस्थाबाट सहयोग प्राप्त भए अस्पताल सञ्चालन गरिनेछ ।’ कोहलपुर नगरपालिकाले आधारभूत तहको १५ शय्याको अस्पताल सञ्चालनका लागि नयाँ भवन निर्माण गरिसकेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए ।

उनका अनुसार नयाँ भवनबाट स्वास्थ्य सेवालाई थप व्यवस्थित र गुणस्तरीय बनाउने नगरपालिकाको योजना छ । जिल्लाको खजुरा गाउँपालिकामा १५ शैय्याको आधारभूत अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने बैजनाथ गाउँपालिकामा १५ शैय्याको आधारभूत अस्पतालको भवन निर्माण पूरा हुन सकेको छैन ।

नेपालगन्ज उपमहानगरपालिकाले भने १५ शैय्याको आधारभूत अस्पताल निर्माणभन्दा नगर स्वास्थ्य केन्द्र तथा वडास्तरमा रहेका बर्थिङ सेन्टरलाई प्राथमिकतामा राखेको छ । सोही प्रकारले डुडुवा गाउँपालिकाले पनि हाल पाँच शैय्याको आधारभूत अस्पताल आफ्नै स्रोतबाट सञ्चालन गरिरहेको छ ।

त्यसैले अब आधारभूत अस्पताल निर्माणको प्राथमिकता भवन निर्माणमा मात्र सीमित नराखी चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी, आवश्यक उपकरण, औषधिको नियमित आपूर्ति र दीर्घकालीन सञ्चालन खर्चको सुनिश्चिततातर्फ केन्द्रित गर्नुपर्ने माग स्थानीय तहहरुले गरेका छन् ।

प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार