२०८३ भदौ २० , शनिबार 5, September 2026, Saturday

भोटेकोशी बाढीले १२ जलविद्युत् आयोजना प्रभावित, ९३६ जना अझै सम्पर्कविहीन

भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवाका १२ जलविद्युत् आयोजना प्रभावित भएका छन् । बाढीबाट ६६९ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित भएको विवरण सार्वजनिक भएको छ ।

प्राप्त विवरण अनुसार प्रभावित आयोजनामध्ये आठ वटा सञ्चालनमा रहेका छन् भने चार वटा निर्माणाधीन अवस्थामा थिए । बाढीबाट ११ वटा आयोजनामा कार्यरत तथा सम्बन्धित ९३६ जना अझै सम्पर्कविहीन रहेको उल्लेख छ ।

रसुवामा बाढीबाट पूर्णरूपमा क्षतिग्रस्त आयोजनामा माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा–भोटेकोशी, लाङटाङ खोला, चिलिमे र मैलुङ खोला जलविद्युत् आयोजना रहेका छन् । यी आयोजनामा ठूलो जनशक्ति सम्पर्कविहीन हुनुका साथै केही आयोजनामा शवसमेत फेला परेको विवरणमा उल्लेख छ ।

सबैभन्दा धेरै मानवीय क्षति तथा बेपत्ताको विवरण माथिल्लो त्रिशूली–१ आयोजनामा देखिएको छ । बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत रहेकामा हालसम्म ८७६ जनाको उद्धार भएको छ । हराइरहेकामध्ये केही कामदार मुख्य सुरुङ तथा हेडवक्र्स क्षेत्रमा फसेको आशंका गरिएको छ ।

उद्धारका लागि विभिन्न उपकरण तथा मेसिन आयोजनास्थलमा पुर्याइएको र खोजी कार्य तीव्र पार्ने तयारी भइरहेको जनाइएको छ । यसैगरी, माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा १९१ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । बाढीपछि विद्युत्गृह रहेको क्षेत्रमा खोलाको पानी तथा लेदो पसेकाले खोजी कार्यमा कठिनाइ भइरहेको छ ।

सुरुङमा कार्यरत २३ जना भने सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए । माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको विद्युत्गृहमा फसेका दुई जनालाई बाढी आएको करिब १० दिनपछि शुक्रबार सकुशल उद्धार गरिएको छ । उद्धार गरिएका उनीहरूको काठमाडौंस्थित छाउनी अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

अन्य सम्पर्कविहीनको खोजी तथा उद्धार कार्य भने जारी छ । रसुवागढी जलविद्युत् आयोजनामा पनि ९३ जना सम्पर्कविहीन रहेको विवरण छ । लगातारको वर्षा र नदीमा पानीको सतह बढिरहेका कारण आयोजनास्थलमा आवश्यक मेसिन तथा उद्धार सामग्री पुर्याउन कठिनाइ भइरहेको जनाइएको छ ।

आयोजनाको माथिल्लो सुरक्षित स्थानमा अस्थायी क्याम्प स्थापना गरी त्यहीँबाट खोजी तथा उद्धार कार्य अघि बढाउने तयारी गरिएको छ । लाङटाङ खोला जलविद्युत् आयोजनामा हराइरहेका ४१ जनामध्ये दुई जनाको शव फेला परेको छ भने १९ जनाको उद्धार गरिएको छ । बाँकी ३९ जनाको अवस्था अझै अज्ञात रहेको विवरणमा उल्लेख छ ।

बाढीबाट पूर्णरूपमा प्रभावित अन्य आयोजनामा माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, मिलम त्रिशूली गंगा र नुवाकोट सौर्य विद्युत् आयोजना पनि रहेका छन् । यी आयोजनासहित प्रभावित आयोजनामा खोजी तथा उद्धार कार्य निरन्तर भइरहेको छ ।

प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार