सूचनाको शक्ति - The Power Of Information

        

फर्केर हेर्दा...

बर्ष समिक्षा २०८१ : पर्यटन क्षेत्रमा सकसै सकस

पहुँचमा सहज हुँदै गर्दा अब भने पर्यटक आउन सक्छन् : पर्यटन व्यवसायी

कहिले बाढीपहिरो त कहिले हवाई दुर्घटना, अनि पर्यटक सवार ठुला सवारी दुर्घटना थपिँदा वर्ष २०८१ पर्यटन क्षेत्रका लागि उत्तिसारो सुखद् थिएन । पर्यटन क्षेत्रले कोरोना भाइरस संक्रमणको मारबाट माथि उठ्ने प्रयास गरिरहँदा २०८१ मा थप क्षति भोग्नेगरि मुलुकमा विभिन्न घटनाक्रम थपिए । त्यसले गर्दा पर्यटन क्षेत्रले २०८१ मा उत्साह भन्दा पनि निराशाको चाङ बोकिरह्यो । सोमबार २०८२ को पहिलो दिन, नयाँवर्ष सुरु हुँदैगर्दा पर्यटन क्षेत्रले आगामि वर्षका लागि नयाँ सम्भावना देखेको छ ।

बितेको वर्षभन्दा पनि बढी संख्यामा आन्तरिक र बाह्य पर्यटक भित्रिने पर्यटन क्षेत्रको अपेक्षा छ । अहिलको तुलनामा पर्यटन क्षेत्र थप चलायमान हुनेमा पर्यटन व्यावसायी आशावादी छन् । २०८१ मा पर्यटन क्षेत्रमा देखिएका निराशाका घेरा नयाँवर्षमा हटेर जाने उनीहरुको अपेक्षा छ । पर्यटन क्षेत्रका लागि सबैभन्दा महत्वपूर्ण मानिएको पूर्वाधारमा सुधार हुँदै गर्दा अबका दिन पर्यटनले सुखद् क्षणको अपेक्षा राखेको व्यावसायीले बताएका छन् । पर्यटन क्षेत्रले २०८१ मा सबैभन्दा बढी क्षति प्राकृतिक विपद्बाट बेहोर्नुपर्यो ।

पर्यटक भित्रिने मुख्य सिजनमा बाढीपहिरोको मार खेप्नुपर्यो । नेपालमा भएका हवाई दुर्घटना, स्थलमार्ग अवरोध हुनेगरि निम्तिएको विपत्, पर्यटक बाहक सवारी दुर्घटना, राजमार्गको आउजाउमा निम्तिएको सकस, अस्थिर राजनीतिक घटनाक्रम, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको थालनीले गर्दा संचालन समय घट्दा हवाई भाडामा भएको वृद्धि जस्ता गतिविधिले पर्यटन क्षेत्रले २०८१ मा सुखद् अनूभुति गर्न नपाएको व्यावसायीको गुनासो छ । २०८१ मा भोग्नुपरेका मध्येका केही समस्या यो वर्ष करिब करिब समाधानको बाटोमा छन् ।

‘त्यसले गर्दा २०८२ मा आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गर्न सकिन्छ,’ होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन्, ‘पर्यटनका लागि २०८१ मध्यम वर्ष रहेको हो । पर्यटन क्षेत्रले पूर्ण रुपले सन्तोष मान्ने अवस्था छैन । तर, सुधारको बाटोमा रहेकोले अबका दिनमा पर्यटनबाट आशा भने गर्न सकिन्छ ।’ पराजुलीको विचारमा पर्यटन क्षेत्रलाई चलायमान बनाउने गरि पोखरामा २०८१ मा केही कार्यक्रम भएका छन् । पोखरालाई अघिल्लो वर्ष नै पर्यटनको राजधानी घोषणा गरेकोले त्यसको प्रभावले पोखराको पहिचान केही फराकिलो बनेको उनको भनाई छ ।

त्यसबाहेक पोखरा महानगरपालिकाले पनि यही समयमा पोखरा भ्रमण वर्षको रुपमा प्रवद्र्धन थालेको छ । ‘कतिपय नौला कामको थालनी भएकै हो । तर, आवश्यकताका केही काम पोखराले गर्न भने सकेन । त्यसको मार पर्यटनमा पर्छ । पोखरालाई सफा र सुन्दर बनाउने, नयाँ पर्यटकीय प्रडक्ट थप्ने विषयमा पोखराले खासै प्रगति गर्न सकेको छैन । यति हुँदाहुँदै पनि तीनवटै तहका सरकारले पोखरालाई चिनाउने गरि कतिपय कार्यक्रम गरेका छन,’ उनले भने, ‘यसले पोखरालाई धेरथोर सहयोग त गरेको हो । तर, ती गतिविधि मात्र पर्याप्त होइनन् ।’

उनको बुझाईमा पोखराको पर्यटन क्षेत्र कोराना भाइरस संक्रमणपछि सामान्य अवस्थामा फर्किन खोजेको थियो । पूर्व अवस्थामा फर्किन खोजेको पर्यटन क्षेत्रलाई थला पार्ने गरि २०८१ मा मुलुकमा घटनाक्रम थपिए । त्यसको मार छिमेकी मुलुकका भारतीय पर्यटक आगमनदेखि आन्तरिक पाहुनाको चलायमानमा पनि परेको उनी बताउँछन् । ‘सहजै आउजाउ गर्न सक्ने भारतीय पर्यटकका लागि पनि २०८१ उत्तिसारो फापेन । आन्तरिकलाई त असर परेकै हो,’ उनले भने, ‘सिजनको समयमा पनि आन्तरिक पाहुना भित्रिन सकेनन । अरु विदेशी त असर पर्ने नै भयो ।’

पोखरामा बढी भन्दा बढी पर्यटक भित्र्याउनका लागि सुन्दरता थप्नुपर्ने भएपनि त्यसमा पोखरा चुकेको उनले बताए । ‘पोखरालाई स्वच्छ, हरियाली सहर बनाउनबाट चुकेकै हो,’ उनले भने । २०८१ को अन्तिममा आउँदै गर्दा पोखराले पर्यटन क्षेत्रले सबैभन्दा बढी आशा गरेको पृथ्वी राजमार्गको पहुँचमा भएको सुधार र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको अन्तर्राष्ट्रिय उडानले केही उत्साह थपेको पराजुली बताउँछन् ।

‘२०८१ सम्म राजमार्गको यात्रा नै सकसपूर्ण थियो । त्यो सकस अब पुरा हुन थालेको छ । पूर्वाधार विकासमा रहेका केही समस्या हट्दै गएका छन्,’ उनले भने, ‘त्यसले आन्तरिक र बाह्य पर्यटक आउजाउमा सहजता थप्नेछ ।’ पर्यटक आउजाउमा सबैभन्दा बढी सकस मानिएको पृथ्वी राजमार्गको बिस्तारको गतिले यात्रामा केही सहजता दिएको प्रभावस्वरुप यतिबेला पोखराका होटलको अकुपेन्सी करिब ९० प्रतिशत हाराहारीमा उक्लेको उनी बताउँछन् ।

त्यस्तै २०८१ को अन्तिमतिर पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई संचालन गर्न सकेकोले त्यसलाई अझ गति दिन सकेको खण्डमा आगामि वर्ष तेश्रो मुलुकका विदेशी पर्यटकको आकार बढाउन सकिनेमा आशावादी रहेको उनले बताए । ‘२०८२ मा पर्याप्त पर्यटक भित्रिनका केही सहज बनेको छ । पहुँचमा सुधार भएकोले आन्तरिक र बाह्य पर्यटक भित्रिने सम्भावना छ,’ उनले भने । अघिल्ला वर्ष भएका केही घटनाक्रमले पोखराको मात्र नभई समग्र नेपालको पर्यटन क्षेत्रमा मार परेको पराजुली बताउँछन् ।

पछिल्लो समय पोखराले अन्तर्राष्ट्रिय पर्यटन प्रर्वद्धनमा पनि उत्तिकै चाँसो देखाएसँगै पोखराले २०८२ मा अहिले भन्दा बढी संख्यामा पर्यटकलाई स्वागत गर्ने अवसर पाउनेमा आशावादी रहेको उनले सुनाए । पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाका विचारमा २०८१ मा पर्यटन क्षेत्र उत्ति सफल भएको होइन । कोरोनापछिको अवस्थामा नेपालको पर्यटन क्षेत्रमा समग्रमा सुधार भएपनि पर्यटन क्षेत्र अझै सफल भएको भन्न नमिल्ने उनी बताउँछन् ।

‘पर्यटन क्षेत्र कोरोनाको संक्रमणको अप्ठेरोबाट माथि उक्लिँदै गर्दा पोखराले त्यो अनुभव पटक्कै गर्न पाएन । होटल, सवारी, रेस्टुरेन्ट गन्तव्यका हिसाबले जति पाहुना आगमन हुनुपर्ने हो, त्यो हुन सकेन,’ उनले भने, ‘पर्यटक आउन नसकेपछि पर्यटनमा सुधार भन्न मिल्दैन ।’ सापकोटाका बुझाईमा अस्थिर राजनीति, बाटोघाटोको पहुँचमा रहेको समस्या, वायु प्रदूषण, काठमाडौंमा बाढी पहिरो, हवाई र स्थलमार्गको दुर्घटनाका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका कारण हवाई क्षेत्र डाइभर्ट, हवाई भाडा वृद्धि लगायतका कारण २०८१ मा पर्यटन क्षेत्रले ठूलो नोक्सान खेप्नुपरेको उनी बताउँछन् ।

‘मुख्य सिजन नै राम्रो हुन सकेनन् । अहिले पनि केही सुधार भएको देखिएपनि यो भीड अस्थायी हो,’ उनले भने । उनका अनुसार अहिले पोखरा–मुग्लिन राजमार्गको सुधारले केही सकारात्मक देखिएपनि मुग्लिन–काठमाडौं खण्डमा सुधार नभएसम्म आन्तरिक र बाह्य पर्यटक पोखरा भित्रिन नसक्ने उनले बताए । ‘मुग्लिन पोखरा सुधार भएको छ । तर, मुग्लिन–काठमाडौं राम्रो नभएसम्म पर्यटनलाई लाभ हुँदैन,’ उनले भने, ‘यो सिजनले उत्साही बनाउन सकेन । बरु, आगामि सिजन राम्रो हुनसक्छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार, राजमार्गको आउजाउ तुलनात्मक रुपमा सहज, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिस्तार सम्पन्न हुनुले पनि २०८२ मा केही राम्रो हुने अपेक्षा रहेको उनले बताए । पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने कोरोनाले शुन्यमा झरेको पर्यटनमा करिब ९५ प्रतिशत सुधार हुँदैगर्दा आगामि दिनमा पर्यटक आगमनमा अझ सकारात्मक अवस्था देखेको बताउँछन् । उनका अनुसार नेपालको पर्यटन क्षेत्र कोरोना अघिको अवस्थाको तुलनामा २०८१ मा निकै नै राम्रो देखिने गरि ‘रिभाइभ’ भएको छ ।

सार्क मुलुकका पर्यटकको आगमन कोरोना अघि भन्दा अहिले ६ प्रतिशत बढिसकेको छ । त्यस्तै अमेरिकी बजार पनि २ प्रतिशतले वृद्धि भईसकेको छ । एशियाली बजार भने अझै १० प्रतिशत बढाउन जरुरी रहेको उनले बताए । यूरोपको बजार पनि २ प्रतिशत मात्र कमजोर देखिएको छ । ‘कोरोना अघिको अवस्थामा फर्किनै थालेकोले पर्यटन क्षेत्रमा निरन्तर सुधार देखिएकै छ,’ उनले भने, ‘अब त अझै आशा गर्ने ठाउँ पनि देखिएको छ । अघिल्लो वर्षसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्रै संचालनमा रहेकोमा अहिले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल पनि थपिएकाले पर्यटक आगमनमा सुधारको संकेत रहेको उनले बताए ।

मुख्य राजमार्ग पनि बिस्तारको गतिमा रहेकोले आन्तरिक पाहुना पनि चलायमान बन्दै गएको उनले बताए । ‘२०८१ मा पर्यटन क्षेत्रलाई असर पर्नेगरि केही घटना भए । त्यसले गर्दा भारतीय पर्यटन क्षेत्र समेत प्रभावित भएकै हो । आन्तरिकलाई पनि ती घटनाक्रमले असर पारेको हो,’ उनले भने, ‘काठमाडौंमा घटना भएपछि त्यसको मार देशब्यापी पर्यटन क्षेत्रमा परेको हो । पर्यटन क्षेत्र पनि त्यो अप्ठेराबाट जोगिन नसकेको हो तर, अब भने सुधारको बाटो देखिएको छ । पूर्वाधार पनि करिब अन्तिम चरणमा पुगेका छन । प्रर्वद्धन पनि भएकै छ । त्यसले गर्दा २०८२ पर्यटनका हिसाबले सुखद हुने सम्भावना छ ।’

प्रकाशित मिति : १ बैशाख २०८२, आइतवार १८:०५

लोकप्रिय