सूचनाको शक्ति - The Power Of Information

        

पूर्वराजालाई काठमाडौँ महानगरले तिरायो जरिवाना, कमल थापाको आपत्ति

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार जरिबाना तोकेको छ । महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न नौं वटा शीर्षकमा गरेर सो रकमको जरिवाना तोकेको हो । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ ।

शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो । सोही आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए । राजावादी समर्थकहरू उग्र बन्दा शुक्रबार दिनभर तीनकुने क्षेत्र तनावग्रस्त बनेको थियो । महानगरपालिकाले पूर्वराजालाई आर्थिक जरिवाना गरेको विषयलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले हास्यास्पद भनेका छन् ।

काठमाडौं महानगरपालिकाले पूर्वराजा शाहलाई विभिन्न शीर्षकमा सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको समाचार सार्वजनिक भएसँगै थापाले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाएका हुन् । ‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ । ‘गलत ठेगानामा पठाइएको पत्र’ जस्तो ‘स्टन्ट’ भयो,’ अध्यक्ष थापाले भनेका छन् ।

उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबाट त्रुटि भएको भन्दै यसबाट आफू अलमलमा परेको जनाएका छन् । ‘संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह छ,’ थापाले लेखेका छन्, ‘पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुरा छोडिदिउँ, उहाँ पूर्वराष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नुपर्ने थियो ।’

थापाले आर्थिक जरिवानाको पत्र फिर्ता लिनु बुद्धिमानी हुने भन्दै बालेनलाई सुझाव दिएका छन् । महानगरले शुक्रबार तीनकुनेमा भएको प्रदर्शनलले विभिन्न किसिमका क्षति पु¥याएको भन्दै विभिन्न ९ वटा शीर्षकमा गरेर सो रकमको जरिवाना तोकेको हो । शुक्रबारको प्रदर्शनलाई थापा नेतृत्वको राप्रपा नेपालले पनि समर्थन जनाएको थियो । बिहीबार साँझ विज्ञप्ति निकाली प्रदर्शनमा सक्रिय सहभागी हुन आफ्नो पार्टीका समर्थकलाई आह्वान गरेका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार १८:०७

लोकप्रिय