मुस्लिम धर्म मान्नेहरू रमादानको बेलामा एक महिनासम्म सूर्य उदाएदेखि नअस्ताएसम्म केही खाँदैनन् । अर्थात् पूरा महिना रोजा (व्रत) गर्छन् । रमादानमा एक महिनासम्म व्रत बस्दा कस्ता–कस्ता फाइदा हुन्छ भनेर अनेक वैज्ञानिकले गरेको अनुसन्धान देखाएका छन् । व्रत गर्दा आन्द्रालाई आराम मिल्छ र यो बेलामा शरीरमा भएका विषादी बाहिर निकाल्न मद्दत गर्छ ।
विभिन्न धर्ममा व्रतले स्थान पाएको छ । यस्ता व्रत कसले लिने, कसले नलिने भनेर कतै खासै बहस हुँदैन । हरेक जात र विश्वासअनुसार कसैले लिन्छ, कसैले लिँदैन । हिन्दू धर्ममा व्रत बस्ने अवसर धेरै नै छन् । एकादशीदेखि नौरथाको व्रत, विभिन्न पूजाआजामा, श्राद्धको अघिल्लो दिन एक छाक खाने, चन्द्र ग्रहण, सूर्य ग्रहण, विवाह, व्रतबन्ध बेलामा एक छाक मात्रै अन्न खाएर बसेको पनि व्रत नै हो । किरियापुत्री बस्दा पनि हरेकका आफ्ना चलन अनुसार खान्छन् ।
लिनेले अझ हरेक हप्ता कहिले दूध मात्र खाने, कहिले रस मात्र वा फलफूल मात्र खाने वा नुन नखाने, कतिले त शुक्रबार सन्तोषी माँको व्रतमा गुड र चना खाने तर अमिलो नखाएर एक छाक शुद्ध तरिकाले पकाएको भात नै खान्छन् । तुलसीको पूजा गर्ने दिन हरिवोधीनी एकादशीमा व्रत गरिन्छ । साउनमा प्रत्येक सोमबार शिवजीलाई खुसी पार्न व्रत गरिन्छ । व्रतलाई संस्कृति र धर्मसँग जोडिएपछि त्यो जीवनको अभिन्न अंग बन्न पुगेको छ ।
विभिन्न समयमा लिने व्रतहरूका बारेमा खासै चर्चा नभए पनि ‘तीज व्रत र लोग्नेको खुट्टाको पानी’ पिउने कुराले अहिले धेरै चर्चा परिचर्चा पाएको छ । लोग्नेको दीर्घ आयु होस् भनेर श्रीमतीले व्रत बस्नाले लोग्नेको आयु बढ्दैन भन्ने तथ्य सबैले बुझे पनि ‘संस्कृति’का नाममा त्यो व्रत लिइन्छ नै । व्रत लिनु आफैंमा आपत्तिको कुरा होइन । अझ सकिन्छ भने हुने–खानेले त हरेक हप्ता अनेक बहानामा व्रत लिए हुन्छ । स्वास्थ्य राम्रो हुन्छ ।
व्रत बस्नु भनेको अनुशासनमा बस्नु हो । पेटलाई केही समयका लागि आराम दिनु हो । व्रत बस्दा पानी पर्याप्त पिउनुको अर्थ शरीरमा भएका विषालु तत्व शरीर बाहिर निस्कनु हो । व्रतको महिमा धेरै छ । सन् २०१६ मा एक जापानी वैज्ञानिकले व्रत बस्दा शरीरमा कसरी विभिन्न प्रतिक्रिया भएर विषालु तत्वहरू निकाल्ने प्रक्रिया हुन्छ र यसले शरीर स्वस्थ राख्न मद्दत गर्छ भन्ने देखाए । जुन कुराका लागि ती जापानी वैज्ञानिकले नोबेल पुरस्कार पाए । त्यसको दार्शनिक पक्षलाई ध्यानमा राखेर हाम्रा पूर्खाले व्रतलाई जीवनमा ढालेका रहेछन् ।
तौल, युरिक एसिड बढी भएर खुट्टाका बुढी औंला सुन्निएर हिँड्नै नसक्ने मेरा एक परिचित हप्तामा दुई दिन आइतबार र बिहीबार २४–२४ घन्टा व्रत बस्न थाले । त्यो दिन उनले पानी मात्र खाएर ४ महिनामा उनको तौल ६ किलो घट्यो । युरिक एसिड कम भएर दुखाइ पनि हरायो । अहिले त उनी हप्तामा एक दिन व्रत बस्नेबाहेक आजकालको ’१६ घन्टा नखाने’ व्रत पनि बस्छन् । कहिले कहिले फलफूल मात्र खान्छन् । कहिले दूध खान्छन् । उनको स्वास्थ्य राम्रो भएको छ । उनले यसरी व्रत बसेको कुनै ‘भगवान’का लागि भने होइन ।
‘त्यो भगवान चाहिँ मेरो शरीरमा नै छन् । शरीर नदुखेपछि भगवान पनि खुसी हुँदा रहेछन् । मेरो मनमा पनि शक्ति छाएको छ,’ उनी भन्छन् । अर्थात उनले हाम्रो हिन्दू संस्कृतिको ‘व्रत’ बस्ने प्रक्रियालाई कुनै बन्धनमा नबाँधी आफ्नो शरीर र मन स्वस्थ रहोस् भनेर व्रत बसेका छन् । पोषणविद्हरू भन्छन् विभिन्न नसर्ने रोगहरूमा पनि कम खाने, व्रत बस्ने योगासन र व्यायाम गर्ने कार्यक्रमले सघाउ पुर्याउँछ । कतिपय पेटसम्बन्धी समस्यालाई आयुर्वेद अस्पतालमा कार्यरत बैद्यहरूले पनि खाना कम ख्वाएर वा व्रत गराएर विभिन्न समस्या समाधान गर्न कोशिस गर्छन् । व्रत बस्न नहुने कतिपय अवस्था पनि छ । ती अवस्था बाहेक एक स्वस्थ व्यक्तिले सके हरेक हप्ता, न सके हरेक महिना व्रत बसौं ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
डा.अरुणा उप्रेती । जनस्वास्थ्य तथा पोषणविद्