सूचनाको शक्ति - The Power Of Information

        

अवैध भारतीय कुखुरा तस्करी

बाँकेका सीमा नाकाबाट अवैध भारतीय कुखुरा तस्करीमा ‘प्रहरीको सेटिङ्ग’

प्रहरीको सेटिङ्गमा बाँकेका खुला नाकाबाट अत्यधिक मात्रामा अवैध भारतीय कुखुरा तस्करी गर्ने गिरोह निकै सक्रिय देखिएको छ ।

बाँकेमा भारतबाट अवैधरूपमा कुखुरा तस्करी हुने क्रम बढेको छ । मुख्य नाका जमुनाहबाटै खुलेआम भारतीय कुखुरा, चल्ला, मासु र अण्डा आयात हुने गरेको देखिएको छ । नेपालगन्जका कुखुरा व्यवसायीहरुले जमुनाहा नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेको बताए ।

पश्चिम नेपालको प्रमूख नाकाका रुपमा रहेको जमुनाहाबाट मात्रै नभएर बाँके र बर्दियाका विभिन्न ग्रामीण नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेकाले नेपाली व्यवसायी समस्यामा परेको बताए । ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिकरूपमा ठूलो मात्रामा भारतीय कुखुरा नेपाल भित्रिँदै आएको व्यवसायहरु बताउँछन् ।

भारतमा बेलाबखत फैलिने बर्डफ्लु लगायत पंक्षीजन्य रोग नेपाल भित्रिने खतराका कारण नेपाल सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ, तर भारतमा कुखुराजन्य पदार्थको मूल्य नेपालमा भन्दा सस्तो रहेको हुँदा मुनाफाका लागि भारतीय कुखुराजन्य पदार्थको नेपाल भित्रिने गरेको व्यवसायीहरुको भनाई रहेको छ ।

सबैभन्दा बढी जिल्लाको खुला सीमा नाका बाँकेको जानकी गाउँपालिका–१ साइगाउँ र खजुरा गाउँपालिका–१ राधापुर र सैनिक क्षेत्र तथा जमुनाहा, साईगाउँ, बेलबार, राप्तीपारिको नरैनापुर नाकाबाट ठुलो मात्रामा कुखुरा र चल्ला तस्करी हुने गरेको पाइएको छ । प्रहरी प्रशासनकै मिलेमतोमा अवैध मानिएको भारतीय कुखुरा र चल्ला भित्रिने क्रम बढ्दै गएको छ ।

यसरी भित्र्याइएका कुुखुरालाई नेपाली उत्पादन भन्दै नेपालगन्ज, कोहलपुर र विमानमार्फत कर्णाली प्रदेशको जुम्ला, डोल्पा लगायतका जिल्लामा समेत पुग्ने गरेको कुखुरा व्यवसायीहरुको भनाइ छ । विना चेकजाँच ठूलो मात्रामा भित्रिने यस्ता कुखुराले पंक्षीजन्य रोग फैलने खतरा बढ्दै गएपछि स्थानीयहरूले तत्काल अवैध कुखुरा तस्करी नियन्त्रण गर्न माग गरेका छन् ।

प्रहरी प्रशासनको सेटिङ्गमा कुखुरा तस्करी मौलाएपछि समस्या निम्तिन सक्ने भन्दै कुखुरा व्यवसायी मञ्च बाँकेका अध्यक्ष धर्मराज पोखरेलको नेतृत्वको टोलीले केही दिनअघि भारतबाट हुने गरेको कुखुराको अवैध आयात रोक्न माग गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

अध्यक्ष पोखरेलका अनुसार खुला सिमानाका कारण विभिन्न नाकाबाट अत्यधिक मात्रामा भारतीय बोइलर कुखुरा अवैधरूपमा आयात भइरहेको छ । ज्ञापन पत्र बुझाएपछि एक–दुई दिनका लागि कडाई गरिएको चेकजाँचलाई तस्करसँगको फेरि खुकुलो बनाइएको नेपालगन्जका एक जना व्यवसायीले नाम नभन्ने सर्तमा बताए ।

‘ज्ञापन पत्र बुझाएपछि एक–दुई दिनका लागि चेकजाँच कडा गरिएको थियो । फेरि तस्करसँगको मिलेमतोमा चेकजाँचलाई तस्करसँगको फेरि खुकुलो बनाइयो,’ ती व्यवसायीले सत्यपाटीलाई भने, ‘तस्करी रोक्न सहयोग माग्दा प्रहरी प्रशासनले सकारात्मक प्रतिक्रिया जनाए पनि तस्करसँगको मिलेमतोमा हुँदा व्यवहारतः नियन्त्रणमा कडाई गर्दैन ।’

बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै व्यवसायी

केही दिनअघि मात्रै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की र सशस्त्र प्रहरीका जिल्ला प्रमुख शोभाकान्त खनाललाई समेत यसको जानकारी नभए गरे पनि स्थानीयहरूले तत्काल रोक्न माग गर्दे ज्ञापन पत्र बुझाउँदै बाँकेका कुखुरा व्यवसायीहरुले अवैधरुपमा भित्रिने कुखुरा तत्काल रोक लगाउन माग गरेका थिए ।

अवैध आयातमा नाकामा तैनाथ सुरक्षाकर्मीहरूको समेत मिलेमतो रहने गरेको आरोप छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रिजालले अवैध कुखुरा आयात नियन्त्रणका लागि चाँडै सुरक्षा निकायसँग छलफल गरी आवश्यक कदम चाल्ने आश्वासन दिए पनि एक–दुई दिन कडाई गरेजस्तो गरेर फेरि पुरानै सेटिङ्गमा कुखुरा तस्करी भइरहेको व्यवसायीहरु बताउँछन् ।

भारतीय कुखुराका कारण महङ्गो दाना र औषधि खुवाएर हुर्काएका कुखुरा सस्तो दरमा बिक्री गर्न आफूहरू बाध्य भएको व्यवसायीहरु बताउँछन् । व्यवसायीका अनुसार नेपाली खुद्रा व्यापारी र केही भारतीय मिलेर यस्तो धन्दा गरेका छन् । उनीहरू भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चोरबाटो हुँदै कुखुरा ल्याउने गर्छन् । केहीले साइकलमा बाँधेर ल्याउँछन् ।

नेपालमा भन्दा सस्तो पर्ने हुँदा स्थानीयले भारतबाट ल्याइएका कुखुरा किन्दै आएका छन् । भारतमा जिउँदो कुखुरा ९५ देखि १०० भारुसम्म पर्छ । नेपालमा झन्डै दोब्बर मूल्य छ । यही कारण पारिको कुखुराको डिमान्ड बढेको हो । भारतबाट कुखुराजन्य बस्तुको तस्करी बढे पनि प्रहरी प्रशासनले रोक्न पहल नगरेको व्यवसायीको गुनासो छ ।

व्यवसायीहरुका अनुसार यहाँ जिउँदो कुखुरा प्रतिकिलो २५० देखि ३०० रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । नेपालमा भन्दा भारतमा सस्तो हुनेबित्तिकै सीमा क्षेत्रबाट कुखुराको अवैध कारोबार बढ्ने गरेको व्यवसायीहरू बताउँछन् । सीमानाकामा चहलपहल कम भएका बेला बिहान सबेरै वा दिउँसै पनि आफूले भारतबाट नेपालतर्फ कुखुराजन्य बस्तु भित्रिन्छ ।

धेरै तस्करी हुने भनिएका क्षेत्रहरूमा प्रहरी चुस्त अनुगमन र निगरानीको साट्टा प्रहरी–तस्कर मिलेमतोका कारण तस्करी नियन्त्रण हुन नसकेको व्यवसायीहरू बताउँछन् । उनीहरुका अनुसार सरकारले भारतबाट पक्षी तथा पक्षीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाए पनि बाँकेमा कुखुरा तस्करी गर्ने गिरोह सक्रिय देखिएको छ ।

सीमा क्षेत्रमा खटिएका प्रहरी र सशस्त्रकै मिलेमतोमा कुखुरा तस्करी भइरहेको स्थानीयहरुको दावी छ । नेपालगन्ज–१५ का रामप्रसाद यादवले जमुनाहा नाकाबाट दैनिकजसो भ्यानमा कुखुरा तस्करी भएर नेपालगन्ज बजारसम्म पुग्ने गरेको बताए । ‘पहिले अँध्यारोमा तस्करी हुन्थ्यो,’ उनले भने, ‘अहिले त दिउँसै तस्करी हुन थालेको छ ।’

कुखुरा तस्करीमा साइकल, मोटरसाइकल र भ्यान प्रयोग हुने गरेको छ । तस्करी रोक्ने निकायले नै महिनापिच्छे असुल गर्ने गरेको एक व्यापारीले बताए । ‘प्रहरीले चाहे एउटा कुखुरा पनि ल्याउन मुस्किल छ तर गाडीका गाडी कसरी ल्याउँछन् ?’, उनले भने, ‘महिनावारी असुल्न सजिलो पार्नकै लागि प्रहरी–प्रशासनले कहिलेकाहीँ कुखुरा बरामद गर्ने गरिन्छ ।’

सीमावर्ती बजारमा भारतबाट अवैध रूपमा आयातीय अन्डासमेत बिक्रीवितरण हुने गरेको छ । चोकमा टेबल राखेर त्यसमाथि खुलेआम भारतीय सेतो अन्डा खरिदबिक्री भइरहेकाले सीमावर्ती क्षेत्र बर्डफ्लुको उच्च जोखिममा छन् । बाँकेको जमुनाहा नाकाका साथै नरैनापुर, खडैचा, सितापुर र राधापुर क्षेत्रमा पनि तस्करी मौलाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार १६:११

लोकप्रिय