सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्र प्रहरीमा डिआइजी बढुवामा ‘ज्वाइँ’को रोजाइ !

सशस्त्र प्रहरीमा प्रहरी नायव महानिरीक्षक (डिआइजी)को तीन सीट खाली भएको छ । किशोर प्रधानको अनिवार्य अवकाशमा भएसँगै सशस्त्रमा डिआइजीको रिक्त संख्या तीन पुगेको छ । गत भदौदेखि दुई पद खाली भएपनि अहिलेसम्म पदपूर्ति हुनसकेको छैन । कसलाई डिआइजी भन्नेबारेमा शक्ति केन्द्रको चलखेल रहेका कारण दुई डिआइजीको बढुवा हुन नसकेको हो ।

प्राविधिक पृष्ठभूमिका प्रधानको अवकाश नहुँदासँम्म सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको डिआइजी बढुवा अघि बढ्ने देखिएको छ । डिआइजी प्रधान चार जोड एकका कारण सेवा प्रवेशको २६ वर्षमै अवकाशमा गएका थिए । अन्तिम समयसम्म पनि अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप हुने र आफू एआईजी बन्ने सपना देखेका उनी अन्ततः निराश हुँदै अवकाशमा गए ।

गत भदौ १६ गतेदेखि ३० वर्षे सेवाअवधिका कारण अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई अवकाशमा गएसँगै १६ मध्ये दुई डिआइजीको पद खाली थियो । नेपाल प्रहरीमा वरिष्ठ प्रहरी अधिकृतहरूको धमाधम बढुवा भइरहेका बेला सशस्त्रमा भने पद संख्या कम र दाबेदार बढी भएकाले बढुवा प्रक्रिया नै अवरुद्ध पारिएको थियो ।

सशस्त्र प्रहरीमा अहिले डिआइजीका लागि प्रमुख दाबेदारहरू शक्तिकेन्द्र धाइरहेका छन् । नेपाल प्रहरीबाट स्थानान्तरण भई आएका सबैभन्दा सिनियर कृष्णराज पाठक, त्यसपछि सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका मनिष थापा र कृष्णराज ढकाल, सिसं २ बेसिकका दीपेन्द्र कुँवर (ख), विष्णुप्रसाद भट्ट, दिग्विजय सुवेदी, कमल तिउसिना, नीरकृष्ण अधिकारी लगायत हुन् ।

तर कांग्रेसको सरकार र शेरबहादुर देउवाको स्वकीय सचिवसमेत रहेका भानु देउवाको बहिनी ज्वाइँ कुँवरकै कारण रोकिएको बढुवामा सहजता आउने भएको छ । उनी पनि यही बढुवामा अटाउनका लागि यसअघि रोकिराखेका स्रोतको दावी छ । सिसम १ सशस्त्र प्रहरी निरीक्षक टोलीका ९ जनामध्ये पाँच जना डिआइजी भइसकेका छन् । बाँकी चार जनामध्ये थापा र ढकाल दाबेदार छन् ।

विनोदराज श्रेष्ठ र प्रकाश थापा भने स्टाफ कलेज गर्न नसकेकाले डिआइजीको दौडबाट बाहिरिएका छन् । थापा र ढकाल भन्दा पाठक सिनियर भएकाले उनलाई यो पटक छुटाउन नहुने मत यो पटक बलियो बनेको छ । पाठक तिनै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुन्, जो डिआइजीको दुई पटकको बढुवामा छुटिसकेका छन् । झापा घर भएका पाठकलाई एमालेहरु बढुवाका लागि दौडधुप गरिरहेका छन् ।

प्रधान अवकाशमा गएसँगै डिआइजीको तीन ओटा पद रिक्त हुँदा सिसम १ का दुई जना थापा र ढकाल, यसअघि दुई पटक छुटिसकेका पाठकलाई बढुवा गर्नुपर्नेमा सशस्त्र मुख्यालय जोड छ । यसका लागि सशस्त्र प्रहरी संगठनभित्रै सदाबहार ज्वाइँ भनेर चिनिएका एसएसपी दीपेन्द्र कुँवर (ख) तगारो बनेका छन् । सशस्त्रमा ज्वाइँ कुँवर भनेर चिनिनेले दुईवटा पद रिक्त हुँदा नै आफूलाई बढुवा गर्न दबाब दिएका थिए ।

कुँवर तिनै पात्र हुन्, जसले सिसम १ टोलीका कारण आफू बढुवा नहुने निश्चित भएपछि डिआइजीको दरबन्दी थप गरेर आफ्नो बढुवा निश्चिन्त गर्न खोजेका थिए । त्यतिबेला प्रधानलाई एआइजी बनाउन पनि लागिपरेका थिए । तर वंशीराज दाहाल एक्लैले एआइजीको दरवन्दी थप गराएपछि प्रधान छुटेका थिए । दरबन्दी थप्ने प्रयास असफल भएपछि जना डिआइजी कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको चार जोड एक नथप्न सिंस १ र २ का टोली सक्रिय भएका थिए ।

डिआइजीहरु सुरेश श्रेष्ठ र अञ्जनी पोखरेलले पनि साथ दिएका थिए । उनीहरुको यो गैरव्यावसायिक आचरणले सशस्त्र प्रहरी नै डिआइजीको म्याद थप्नुपर्ने वा थप्न नहुने पक्षमा ध्रुवीकृत भएको थियो । यी चार डिआइजीको म्याद तीन घण्टा मात्र बाँकी रहँदा सरकारले थप गर्ने निर्णय लिएको थियो । अहिले कुँवरलाई बढुवा गर्न खोज्दा सशस्त्र प्रहरी मुख्यालयमा फेरि अर्को कम्पन आउने निश्चित छ ।

किनभने कांग्रेस सभापति देउवाले ज्वाइँ कुँवरलाई बढुवा गर्न दबाब दिँदा प्रधानमन्त्री कार्यालयले एसएसपी विष्णुप्रसाद भट्टको नाममा पनि अडान लिन सक्छ । नुवाकोट निवासी भट्टलाई प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालको साथ रहेको प्रचारवाजी गरिएको छ । यद्यपि भट्ट रास्वपा सभापति रवि लामिछानेसँग नजिक भएको हल्ला सशस्त्र मूख्यालयमा चलेको छ । भट्ट पनि चार डिआइजीको म्याद थप गर्न नहुने पक्षमा उभिएका थिए ।

भट्ट सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सम्म आफ्नो ब्याचमा सधैँ पहिलो नै रहे । सशस्त्र प्रहरी निरीक्षकमा सेवा थाल्दा अन्तिम अन्तिम नम्बरमा रहेका कुँवर भने सत्ता र शक्तिको आडमा उनै भट्टलाई पछि पारेका थिए । अहिले भट्ट यूएन मिसनमा कार्यरत छन् । तर कुँवर भने ठेक्कापट्टाको चलखेल हुने प्रबन्ध शाखामा तीन वर्षदेखि राज गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार ०८:३७

लोकप्रिय