बाँकेको राप्तीसोनारी गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । सार्वजनिक सुनुवाइमार्फत् गाउँपालिकाले नौं बुँदे साझा प्रतिबद्धता समेत घोषणा गरेको छ ।
राप्तीसोनारी गाउँपालिकाको आयोजना र बास नेपालको सहजीकरणमा वडा नं. ६ स्थित सिद्धेश्वर माध्यामिक बिद्यालय फत्तेपुरमा बिहीबार सम्पन्न भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त प्रतिबद्धता घोषणा गरिएको हो ।
सार्वजनिक सुनुवाइमा सरोकारवालाहरु समक्ष आफ्ना समुदायमा भएका समस्याहरुलाई लिएर सेवाग्राहीहरुले प्रश्न राखेका थिए । राप्तीसोनारी वडा नम्बर ७ नारापानीमा सडक निमार्णमा पालिकाले चासो नदिएको र युवाहरुको लागि खेलकुदका कार्यक्रम नियमित गराउन नसकेको गुनासो स्थानीय सन्तोष बिश्वकर्माले राखेपछि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमप्रकाश देवकोटाले गाँउपालिकाबाट सञ्चालन गर्ने सबै खेलकुदहरुलाई कार्यतालिका निर्माण गरी नियमित सञ्चालन गर्ने र उक्त सडक यही बर्ष निमार्ण गरिसक्ने बताउनुभएको थियो ।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरु, सबै वडाका अध्यक्षहरु र वडा सचिवहरु जवाफदेही वक्ताको रुपमा रहेको सार्बजनिक सुनुवाइ कार्यक्रममा उपस्थित सहभागीहरुले सिंचाईको अभाव, बिजुली बत्ति नभएको, पशुपालन समस्या रहेको, महिला स्वास्थ्य स्वयंसेबिकाहरुको सुबिधा थप नभएको, स्वास्थ्य संस्थामा औषधि अभाव रहेको, दलित वर्गको कार्यक्रमहरु नभएको, सडक निर्माण प्रभावकारी नभएको, पालिकाको योजना तर्जुमा गर्दा स्थानीयहरुलाई जानकारी नदिएको, बिसम्पुर गाउँमा सिचाई सुबिधा नभएको लगायतका गुनासोहरु राखेका थिए ।
नागरिकहरुको गुनासोहरुलाई सम्बोधन गर्दै सरोकारवाला निकायले उक्त कार्यक्रममार्फत नौं बुँदे सार्वजनिक प्रतिबद्धता घोषणा गरेका हुन् । सुचनाको हकलाई प्रवद्र्धन गर्दै वडा नम्बर ७ लगायत सबै वडामा सूचना पाटीको व्यवस्थापन गरी पालिकाको योजना बजेट र कार्यक्रम समेत टाँस गर्ने, राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ६ मा ट्रान्सफर्मर जडानका लागि पहल गर्ने, बनहरुमा भइरहेका अतिक्रमण रोक्नको लागि आवश्यक पहल गर्ने, राप्तीसोनारी ७ नालापानिको बाटो यसै आर्थिक वर्षमा निर्माण गरिसक्ने प्रतिवद्धता गरिएको पालिका अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरी, पालिकाबाट वितरण गरिने निःशुल्क औषधिको अभाव हुन नदिने गरी आवश्यक व्यवस्था मिलाउने, योजनाका सात चरणलाई अनिबार्य अवलम्बन गर्ने, गाउँपालिकाबाट सञ्चालन गरिने सम्पूर्ण खेलकुदका लागि कार्यतालिका निर्माण गरी व्यवस्थित तवरबाट खेलकुद सञ्चालन गर्ने, संरक्षणको अभावमा रहेका तथा अभिभावकविहिन बालबालिकाको संरक्षण गर्ने र बिसम्पुर गाउँमा सिँचाई सुविधाको अभाव रहेकोमा यही वर्षमा कम्तिमा सिचाई बोरिङको व्यवस्थापन गर्ने लगायतका प्रतिबद्धता गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमप्रकाश देवकोटाले गाउँपालिकाको चौमासिक प्रगति तथा उपलब्धिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके