एकाबिहानै साइरन बज्यो । आकाशै थर्किने गरी । पातालै हल्लिने गरी । अनौठो लाग्यो । डरले मुटु काँप्न थाल्यो । के होला यस्तो ? चर्को आवाज ! अनिष्टको सङ्केत बुझियो । एक जना इजरायलीसँग सोधेँ ।
उसले भन्यो, ‘मेल्खमा ।’
के होला मेल्खमा ? सोचमग्न भएँ । हिब्रो भाषा बुझिनँ ! फेरि अर्कोसँग सोधेँ, ‘के हो मेल्खमा ?’
उसले भन्यो अङ्ग्रेजीमा, ‘वार ।’
मन चिसो भयो । सन्नाटा छायो । यहाँ पनि वार ! वारदेखि भागेकी फेरि वार ? हे भगवान् ! सेकेन्ड सेकेन्डमै आवाज आयो । आकाश खस्ने गरी, इजरायल थर्किने गरी साइरन बज्न थाल्यो । २००६ छको महिना थियो । त्यो कालो समय हाइफा नै डग्मगायो । रकेट बमहरू छरपस्ट भए । ड्युटी जाने चान्स नै थिएन । आकाशै खस्छ कि जस्तो आतङ्कित भइरह्यो ।
फोनमा रिङटोन बज्यो । फोन उठाएँ ।
निक्कीले भने, ‘हेल्लो लता ।’
सहाराको आभासले एकपटक मात्र भनेँ, ‘निक्की ।’
‘नडराऊ लता । म आउँदैछु ।’
चट्याङ जसरी रकेट बमहरू बर्सिरह्यो । निडरताका साथ निक्की आए । अबोध बालक जस्तै गरेँ । बलिन्द्रधारा आँसु बगाएँ । उनले मेरो हात समाएर सुरक्षित ठाउँमा लगे । अगाडिको गुफा जस्तो बङ्करमा पस्यौँ । जमिनको तल्लो भाग थियो । त्यस्तो अन्डरग्राउन्ड कहिल्यै नदेखेकी । जहाँ धेरै इजरायली थिए । भयत्रास देखिँदैनथ्यो ती इजरायलीमा । मैले निक्कीसँग सोधेँ, ‘मानिस शान्त देखिन्छन् । कुनै भयत्रास छैन यी मानिसमा ?’
उनले भने, ‘वारमै जन्मियौँ । वार देखेरै हुर्कियौ । वार सामान्य हो इजरायलीलाई ।’
आकाश खसेजस्तो भइरह्यो । पृथ्वी नै ध्वस्त हुने जस्तो भइरह्यो । मन थर्किरह्यो ! मुटु काँपिरह्यो । अन्तिम दिनको संज्ञा थियो । घरको याद आयो । नेपाल फर्किन सम्भव छैन । आवाज चर्किंदै थियो । आमालाई सम्झिएँ । भाइबहिनीको मुहार देखेँ । परिवारसँग भेट असम्भव लाग्यो । बलिन्द्रधारा आँसु बगे ।
हे भगवान् ! बचाऊ । भगवान् पुकार्न थालेँ । भगवान् पुकार्नु विकल्प के नै थियो र ! हरे जिन्दगी ! कस्तो मोडमा पुगियो ? केही गर्छु भनी सात समुद्रपारि आएको थिएँ । अवशेष पनि नेपाल नपुग्ने हो कि ? आफ्नै देशको वारले आक्रान्त भएर फरार भएकी म । के आइलाग्यो फेरि पनि । कुन शक्तिले नेपालमा प्राण जोगियो ! लडाइँले पछ्याए जस्तो । कालले लखेटेजस्तो । के दशा लाग्यो । डाको छोडेर रोएँ । सबैले मलाई हेर्न थाले ।
निक्कीले सुम्सुम्याउँदै सम्झाए, ‘नरोऊ केही हुँदैन । म तिम्रो साथमा छु । उतारचढाव हुन्छ जिन्दगीमा । मानव भएपछि सहनै पर्छ । आत्तिनु हुँदैन ।’ सम्झाएर मन मान्दैनथ्यो । दिउँसो हुँदै थियो । रकेटबम बर्सिरहेको थियो । धुवाँका मुस्लाले कालो देखिन्थ्यो हाइफा सहर नै । आठ फिट लामा बम सहरमा छरपस्ट थिए । सहर नै ध्वस्त । खण्डहर हुने गरी ।
युद्ध चर्किंदै थियो । लेबनानमा प्रतिकार हुँदै थियो । बेरुत सहरमाथि लडाकु विमान घुम्दै थिए । इजरायली आर्मीले निसानी बनाए । लेबनानमा भूमिगत समूह हिस्बल्लाहलाई आकाश माथिबाट बमबारी गरे । बेरुत सहरमाथि बमबारी गर्दै लडाकु विमान घुम्यो । लेबनानतिर ठुलो क्षति भयो । बेरुत सहर खण्डहर भयो । धेरै मानिसहरू मरे । धेरै विस्थापित भए । भूमिगत समूह उग्र हुँदै थिए ।
अन्तर्राष्ट्रिय समाचार बन्यो । इजरायली वार संसारमै चर्चा बन्यो । हरेक टेलिभिजनहरूमा इजरायल वारले स्थान पायो । टेलिभिजनमा अन्धाधुन्द वार चलिरहेको मम्मीले समाचार देख्नुभएछ । आत्तिँदै फोन गर्नुभयो । फोन उठाएँ ।
मैले भने, ‘हेल्लो मम्मी !’
मम्मीले आत्तिँदै बोल्नुभयो, ‘नानी ! त्यहाँ त लडाइँ हुँदैरहेछ । स्थिति राम्रो देखिन्न । छिट्टै घर फर्क ।’
मैले परिस्थितिलाई लुकाएँ । ठिकै छ मम्मी चिन्ता नगर्नू भनेँ । आत्तिन पर्दैन भनेँ । भोलि फोन गर्छु भनेँ । भगवानले रक्षा गरुन् भन्दै आशीर्वाद दिनुभयो उहाँले । हुन्छ मम्मी भन्दै फोन राखेँ । आफ्नै पैसाले बेचिएको विदेशी जिन्दगी । एजेन्सीलाई बुझाएको रकम कमाएको थिइनँ । घर बैंकमा धितोमा छ । कसरी घर फर्किनु । घर लिलाम हुन्छ यसै फर्किँदा । कहाँ बस्ने ?
परिवार लथालिङ्ग सडकछाप हुन्छ । ज्यानको बाजी राखेँ । बाध्यताका बन्धनहरूले कसेँ । बाँचे कमाउँला, नबाँचे समयले बताउला । वार चर्कि नै रह्यो । बाहिर निस्किन चान्स नै थिएन । अन्डरग्राउन्डभित्रै उसिन्निएर बसिरहेँ । त्यो विपत्तिको सहारा धन्न निक्की मात्र थिए । उनी सम्झाउँदै थिए, ‘तिम्रै साथ छु । लता नडराऊ केही हुँदैन ।’ सान्त्वना दिँदै थिए । जुगाड गर्दै खाना खुवाउँदै थिए ।
बाबुआमा, परिवार, साथीसँगी, प्रेमी जे भने पनि उनै थिए । त्यो दुःखको समयमा भगवान् नै सम्झिएँ । भयानक कष्टदायी विपत्तिको समय थियो । हिस्बल्लाहको हामी बसेको बङ्करमै तेस्रो दिन निसाना बन्यो । ठुलो आवाजमा आकाशमा साइरन बज्यो । आकाशै पल्टेको जस्तो गरी शक्तिशाली रकेटबम खस्यो अन्डरग्राउन्डमा । आगोको मुस्लो निस्कियो । उर्लेर आगो दन्क्यो । जमिनमुनि हताहत भयौँ । सबै रुनकराउन थाल्यौँ । सोचशून्य भयो ।
अन्तिम दिनको अनुभूति भयो । नामनिसाना नरहने परिस्थितिले होप्लेस भएँ । शून्यता छायो । अन्धकार छायो । धुवाँको कालो मुस्लोले बाफिइरहेको थियो । चर्को तापक्रमको महसुस बिस फिट तलको भागसम्म पुग्यो । दमकलको सहायतामा उद्धारटोलीले आगो निभाए त्यहाँ भएका सबैलाई सकुशल उद्धार गरे । म बेहोस भएछु । अचेतन अवस्थामा हस्पिटल लगेछन् । उपचारपश्चात् होस खुलेछ । यसो आँखा खोलेर हेर्दा त हस्पिटलमा रहेछु ।
निक्की मेरै साथमा थिए । अचम्म लाग्यो । मरेर बाँचेको जस्तो कुनै नयाँ जिन्दगी थियो । भावुक भएँ । बलिन्द्रधारा आँसु बगे । धन्य भगवान् बचायौ ! म अत्यधिक रोएँ । निक्कीले अँगाले र मायाले स्पर्श गरे । मसँगै उनको पनि गहभरि आँसु भयो । मेरो आँसु पुछिदिए । सान्त्वना दिए । दुबैपटक बचाए । समुद्रको पानीको डुबुल्की र बमको आगोको मुस्लोबाट बचाए । आगो र पानी दुबैबाट जोगाए । कालबाट खोसेर ल्याए ।
उनी मेरो भगवान् । रुँदै भावुक हुँदै भनेँ, ‘तिमी मेरो संसार । तिमी मेरो बाबु । तिमी मेरी आमा । तिमी मेरो साथी । तिमी मुटुको धड्कन ।‘ सर्वस्व उनै । उनीप्रति समर्पित भएँ । दिल खोलेर रोएँ । भगवान्को रूप देखेँ । पवित्रताको अनुभूति गरेँ । कष्टकर समयले चिनायो निक्कीलाई । सम्मान जाग्यो । विश्वासको दिवाल लाग्यो । कसिलो सम्बन्ध बाँधियो । आभारी भएँ ।
मनमन्दिरमा तिमी ।
स्पन्दनमा तिमी ।
नयनमा तिमी ।
स्मरणमा तिमी ।
वार अन्धाधुन्द चल्दै थियो । युद्धभूमिमा होमिएको मानिस म । हस्पिटलमै थिएँ । स्वास्थ्यमा सुधार हुँदै थियो । काउन्सिलिङको जरुरी थियो । साइकोलिजिस्टको परामर्शमा थिएँ । डाक्टरहरूले काउन्सिलिङ गराइरहेका थिए । एकाएक निक्कीको फोन आयो । फोन उठाएँ । हिब्रोमा कुरा गरे । मैले बुझिनँ । फोन राखेँ । अँधेरो अनुहार लगाएँ ।
विनम्रताको साथ भने, ‘सरी लता ।’
मैले अनभिज्ञ हुँदै सोधेँ, ‘किन सरी ?’
उनले भने, ‘तिमीसँग बस्न नपाउने भएँ ।’
मैले प्रश्न गरेँ, ‘किन ?’
मलाई प्रस्ट पार्दै भने, ‘म वारमा जाँदै छु । जब वार हुन्छ, हामी वारमा जानुपर्छ । इजरायलमा महिलापुरुष सबै आर्मी । जब समस्या हुन्छ देशमा तब देश बचाउन जानुपर्छ हामीलाई । तिमीलाई छोडेर कसरी जाऊँ ? तर पनि जानैपर्छ ।’ सातौँ दिन वार जोडतोडका साथ मच्चिरहेको थियो । लेबनानको बेरुत सहरमा आगोको मुस्लो निस्किरहेको थियो । आधुनिक हातहतियार प्रयोग हुँदै थिए । आकाशबाट बमबारी हुँदै थियो ।
तल मानिसहरू हताहत हुँदै थिए । धेरैको ज्यान गयो । संरचना ध्वस्त भयो । सुन्दर बेरुत खण्डहरमा परिणत भयो । दुबै देशमा ठुलो क्षति भयो । भौतिक पनि, मानवीय पनि । प्यारले अँगाल्दै चुमे । म जान्छु स्विटी भन्दै गहभरि आँसु झारे । बिरानो मुलुकको मेरो संसार र मेरो मान्छे त्यही पनि वारमा जाँदै छन् ! दोहोरो भिडन्तमा भिड्दै छन् ! हे भगवान् ! तिम्रो मर्जी जे चाहन्छौ । क्षतविक्षत भएँ । हस्पिटलबाटै छुट्टिनुपर्यो । मुटुमा ढुङ्गा राखेर जन्मभूमिको रक्षाका निमित्त जानै पर्यो ।
मुस्किलले भने, ‘वारबाट फर्केर आउँछु अनि भेट गरौँला ।’
बलिन्द्रधारा आँसु बगाएर गए । म सहाराविहीन भएँ । टुहुरो भएँ । हस्पिटलको शय्यामा बेवारिसे भएँ । फेरि भेट हुन्छ कि हुँदैन । अनभिज्ञ थिएँ । मनमस्तिष्कमा कालो बादल मडारियो । जताततै सन्त्रास छायो । मनले पाप सोच्यो । अन्तिम भेट जस्तो लाग्यो । आँखाबाट आँसु बगिरहे । आकाश फुट्ने गरी साइरन बजिरह्यो । रकेटबमहरू बर्सिरहे ।
हस्पिटल आतङ्कित बनिरह्यो । डाक्टरनर्सहरूको भागाभाग भयो । हस्पिटल नै आतङ्कित भयो । लडाइँको प्रभावले आक्रान्त भयो । एम्बुलेन्सका साइरन चर्किरहे । घाइतेहरू एम्बुलेन्समा ल्याउँदा ल्याउँदै हस्पिटल भरिभराउ भयो । लाग्थ्यो, यहीँसम्म रहेछ जिन्दगीको यात्रा !
रकेटबमको प्रहार होइन,
छिटो सम्झौता खोज ।
हिंसाको सहर होइन,
शान्तिको बाटो रोज ।
वार अन्धाधुन्द थियो । दोहोरो भिडन्तमा निक्की लेबनान पुगे । नयाँ हातहतियार चल्यो । उनी दुस्मनसँग लड्दै थिए । म आफैँ त्यसको महसुस गर्दै थिएँ । लैलालाई पिट्दा मज्नुलाई दुखेको जस्तै गरी । उनको भोकतिर्खा, प्रहार गरिएका गोलीहरू छलेको, आफै युद्धमैदनमा छु जस्तो महसुस गरेँ । म आफै लडेको छु जस्तो लाग्यो ।
उनको क्रियाकलाप म आफैँ महसुस गर्दै थिएँ । आत्मसात् गर्थेँ । आफैँलाई लडाकु अभियन्ता जस्तो लाग्दै थियो । प्रेम अपरम्पार छ । प्रेममा सत्यता छ । पवित्र प्रेममा अदृश्य शक्ति छ । हरेक स्पन्दन दुई मुटुमा मिश्रित हुन्छ । उनमा समर्पित भएँ । भगवान्सँग प्रार्थना गरेँ । हे भगवान् ! हामी दुबैलाई बचाऊ । हाम्रो मिलन गराऊ ।
फिलिमको रिल घुमे जस्तो मस्तिष्कमा कुरा खेलिरयो । आफ्नै देशको वारबाट विस्थापित भएकी म हस्पिटलको शय्यामा छु । हरे शिव ! जहाँ गयो उहीँ वार । जुन धर्तीमा टेक्यो, उही धर्ती भासिने । प्यास मेट्न खोजे पानीको मूल नै धमिलिने । पाइलैपिच्छे काँडा छ । जसलाई आफ्नो ठान्यो उही टाढिने । जति नै भाग्न खोजे पनि दुःखले मलाई लखेटिरहने । साँच्चि नै के भएको होला ? आफ्नै देशको युद्ध सम्झेँ । त्यो कालो समय अन्धकारले लखेटेको थियो ।
सम्झिँदै कहाली लाग्यो । राज्य पक्ष र विद्रोही पक्ष सधैँ दोहोरो भिडन्त हुन्थ्यो । चर्को आवाजमा गोली बारुद पड्किन्थ्यो । कानको छेउछाउबाटै ताता गोलीहरू हुइँकिन्थे । आफैलाई निसानी बनाएको जस्तो गरी बारुदका गोलीहरु छरपस्ट हुन्थे । साँझदेखि रातभरि कफ्र्यु लाग्थ्यो । रातमा सर्वसाधारणहरू बन्दी जस्तै हुन्थे । हतियारधारीहरूको साम्राज्य हुन्थ्यो । रातमा प्रेसरकुकर बम पड्किन्थ्यो । घर नै हल्लाउँथ्यो ।
आफ्नै घर ध्वस्त भएको जस्तै मन आतङ्कित हुन्थ्यो । गोलीबारुद आफ्नै छातीमा लागे जस्तो हुन्थ्यो । हरेक पल अन्तिम क्षण लाग्थ्यो । मध्यरातमा माओवादीका जत्थाहरू आउँथे । पेस्तोल देखाउँदै धम्क्याउँथे । आधुनिक हतियार बोकेका लडाकुहरू थर्काउँथे । कन्चटमा पेस्तोल राख्थे । भात पकाउन धम्क्याउँथे । त्राहित्राहि हुन्थ्यो मन । माओवादीलाई मध्यरातमा स्वागत गर्नुपर्थ्यो । डरले काँप्दै खाना पकाएर खुवाउनुपथ्र्यो । दिनमा आर्मीपुलिस आउँथे ।
असभ्य शब्दशैलीमा थर्काउँथे । माओवादी भनेर केरकार पार्थे । पुरै घर सर्च गर्थे । उस्तै परे मान्छे कुटेर जान्थे । ज्यादती अति थियो । दुई ढुङ्गाबिच च्यापिएको तरुल जस्तो । च्यापुवामा परियो दुबै पक्षको । थिचिएको त्यो समय । द्वन्द्वका प्रभावले मिचिएको जिन्दगी । हतियारधारीबाट बच्न गाह्रो थियो । बलात्कृत हुने डर थियो । ज्यान जोगाउनै गाह्रो थियो । इज्जत जोगाउनै मुस्किल पर्थ्यो ।
जवान छोरीचेलीलाई जोगाउनै मुस्किल थियो । कता मौका छोपेर इज्जत लुटौँ जस्तो गर्थे । परिस्थिति भयावह र जटिल थियो । पल पल असुरक्षित समयले भगायो । बाध्यता मजबुत भयो । सात समुद्रपारि आएँ । त्यो कालो समय र स्थान परिवर्तन गरेँ । बाघले हरिणलाई लखटेको जस्तो । जहाँ गए पनि दशाले लखेटिरह्यो । स्थान परिवर्तन भयो । भोगाइ परिवर्तन भयो । भोगाइको स्वरूप फेरियो, तर क्रम फेरिएन । अनेकौँ भोगाइ भोग्नुरहेछ जीवन । भोगिरहेँ दर्दनाक कथा व्यथा ।
भोगाइ रहेछ जीवन,
हरपल नै भोगिरहेँ ।
सजाय रहेछ जीवन,
उतारचढाबमै पोखिइरहेँ ।
रातपछि दिन आउँछ, अँध्यारोपछि उज्यालो अवश्य आउँछ । वारको समय टर्यो । भयङ्कर वारबाट निक्की सकुशल फर्किए । उनले आज्ञाकारी हुँदै कर्तव्य निर्वाह गरे र आफ्नो राष्ट्रलाई शिरमा राखे । राष्ट्रको स्वाभिमान बचाउका लागि ज्यान दिएर लडे । सच्चा प्रेमले लडे । भयङ्कर वारपछि पनि सकुशल भेट भयो । फूलको गुच्छा दिएर स्वागत गरेँ । पुनर्मिलन भयो । अँगालोमा बाधियौँ । भावुक भयौँ । वर्षौँको भेट जस्तो लाग्यो ।
दुबैका आँखाबाट हर्षका आँसु बगे । खुसीका लहरले युक्त संसार पाएजस्तो लाग्यो । प्रेमको विजय भयो । वारको पराजित भयो । त्यसैको पराकाष्ठा पुनर्मिलन थियो । तिन हप्तामा शान्ति सम्झौता भयो । पुनः शान्त भयो इजरायल । फेरि पनि सामान्य दिनचर्या सुरु भयो । दिनभरि ड्युटी गर्थेँ, बेलुका प्रेमीको साथमा हुन्थेँ । अत्यन्तै खुसियालीपूर्ण र स्मरणीय क्षण थियो । प्रायः बेलुकीपख डिनर बाहिरै हुन्थ्यो । समय सहज भइरह्यो । दिनहरू बित्दै थिए ।
जिन्दगीको अध्याय अगाडि बढिरह्यो । दिनहरू बित्दै जाँदा जिन्दगीका पानाहरू पल्टिँदै थिए । उनको र मेरो प्रेमकथा अमर अटुट बन्दै थियो । रोमियो जुलियट र लैला मज्नुको जस्तो । उनीबिना बाँच्नै नसक्ने गरी निक्कीको बानी परिसकको थिएँ । उनी व्यस्त हुँदा न्यास्रो लाग्थ्यो । अब उनलाई छोडेर कसरी नेपाल फर्किने ? प्रेम पनि अपरम्पार छ । भाइबहिनी र आमाको माया एकातिर छँदै छ । अर्कोतिर शक्तिशाली प्रेमीको माया लाग्थ्यो ।
उनलाई स्पन्दनले महसुस गर्न सक्छु । अर्को मान्छेको माया विचित्र छ । प्रकृतिको यो कस्तो सिर्जना होला ? विपरीत लिङ्गीप्रतिको आकर्षण अचम्म लाग्छ, । उनी पनि मेरा लागि ज्यान दिन तयार छन् । यो कस्तो लगाव हो । हरेक फुर्सदको क्षण मेरै साथ बिताउँछन् । मेरो क्रियाकलाप उनलाई अत्यन्त प्यारो लाग्छ । बोली काट्नै सक्दैनन् । मेरै इच्छाअनुसार चल्छन् । कदर गर्छन् । तन, मन धन दिएका छन् । इज्जत दिएका छन् । म उनीबाट भरिपूर्ण छु ।
यहाँका पुरुषहरू कति संस्कारी रहेछन् ! महिलाको खुसीमा रमाँउँदा रहेछन् । महिलाका लागि खुसी बनाउने क्रियाकलाप गर्दा रहेछन् । हामीकहाँ पुरुषको खुसी चल्छ । पुरुषका लागि महिलाले गर्नुपर्छ । आफ्नो खुसी बन्दक बनाएर पुरुषलाई खुसी बनाउनुपर्ने बाध्यता हुन्छ । यहाँ ठ्याक्कै विपरीत रहेछ । महिलाप्रधान देश हो । पुरुषको भन्दा महिलाको बढी चल्छ । पूर्ण महिला अधिकार छ । इजरायली महिलाहरू भान्सादेखि वारसम्म पोख्त छन् ।
सदनमा महिलाको उच्च सहभागिता छ । हरेक अफिसमा महिलाको भूमिका उच्च छ । महिलाहरू हरेक काममा सक्षम छन् । कानुन महिला हकहितमा छ । इजरायललाई त्यसै कानुनले निर्देशित गर्छ । हाम्रो देशमा कानुन छ तर कागजको खोस्टामा मात्र । कार्यान्वयनविनाको कानुनको के अर्थ ? महिला वर्षौदेखि पीडित छन् । समाज पितृसतात्मक सोचले ग्रसित छ । हरेक क्षेत्रमा महिला सहभागिता न्यून छ ।
धड्कन तिमीलाई,
जहाँ म रहे पनि
प्राण तिमीलाई,
यदि म मरे पनि,
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
कल्पना खरेल । बाँके