सूचनाको शक्ति - The Power Of Information

        

सुन तस्करी प्रकरण

सुन तस्करीको अनुसन्धान ‘कति सकियो, कति बाँकी’

प्रहरीले अहिलेसम्म के गर्‍यो  ? कहिले बुझाउँछ प्रतिवेदन ?

गालिँदै गरेको तस्करीको सुन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणको अनुसन्धान सकेर नेपाल प्रहरीले आगामी साता सरकारी वकिललाई प्रतिवेदन बुझाउने गरी काम गरिरहेको अधिकारीहरूले बताएका छन् ।

केही उच्च अधिकारी र सत्तारूढ दलका केही नेताका परिवारका सदस्यहरू समेत मुछिएको उक्त प्रकरणमा अहिलेसम्म कैयौँ व्यक्तिसँग बयान लिइसकिएको र दुई दर्जन जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई ‘हिरासतमा राखेर तथा अन्य कतिपयलाई बयान लिएर वा बयान कागज गराएर अनि केहीलाई निगरानी मात्र गरेर’ अनुसन्धान जारी राखिएको प्रहरी अधिकारीहरूले बताएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायत भन्छन्, ‘यो वा ऊ भन्नु भन्दा पनि त्यसमा जोडिएर आएका सबैलाई आवश्यकताअनुसार अनुसन्धान र निगरानी गर्ने काम भइरहेको छ । अनुसन्धान जारी छ ।’ उक्त सुन हङ्कङबाट आएको विमानमा ल्याइएको बताइएको छ ।

पूर्वउपराष्ट्रपति र पूर्वसभामुखका छोराहरूसँग बयान

त्यसै क्रममा सोमवार सुन प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग पनि बयान लिएको छ । सुन तस्करी प्रकरणका मुख्य नाइके भनिएका व्यक्तिसँग सम्बन्ध रहेको देखिएकाले उनको बयान लिइएको प्रहरी अधिकारीहरू बताउँछन् ।

यसअघि गत साता पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पनि विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको भनिएको अर्को सुन प्रकरणमा पक्राउ परेका छन् । उनी अहिलेको चर्चित ६०.७ केजी सुन तस्करी प्रकरणमा समेत संलग्न रहेको ठानेर अनुसन्धान भइरहेको अधिकारीहरूले जानकारी दिए ।

भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतीक थापा पनि सुन तस्करी प्रकरणमा जोडिएको हुनसक्ने ठानेर अनुसन्धान भइरहेको बताइएको छ । उनी पूर्वगृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा हुन् । प्रहरीका अनुसार प्रतीक थापा अझै फरार छन् ।

यो तथ्याङ्कमा दुईपाङ्ग्रे सवारीसाधनको ‘ब्रेक शू’भित्र लुकाएर ल्याइएको झन्डै ६० केजी र भेपमा लुकाएर ल्याइएको आठ केजी सुन समाविष्ट छैन ।

प्रहरीले अहिलेसम्म के गर्‍यो  ?

नेपाल प्रहरीका अधिकारीहरूका अनुसार अहिलेसम्म प्रहरीले झन्डै १०० जनासँग बयान लिएको वा बयान कागज गराएको छ । यो प्रकरणमा २६ जना पक्राउ परेका छन् र उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान जारी राखिएको छ ।

कतिपय उच्च अधिकारी र भूतपूर्व उच्च अधिकारीहरूलाई निगरानी गरेर पनि अनुसन्धान भइरहेको अधिकारीहरूको भनाइ छ । उक्त सुन तस्करी प्रकरणको अनुसन्धान ‘सही दिशामा अघि बढिरहेको’ सीआइबी प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले बताइन् ।

उनका अनुसार अहिले प्रहरीले विभिन्न प्राविधिक पक्षको विश्लेषण र ‘विशेषज्ञहरूको राय लिने’ कार्य पनि गरिरहेको छ । त्यस्तै सम्बन्धित विभिन्न निकायहरूसँग ‘जानकारी लिने कार्य’ पनि जारी छ ।

प्रहरीले प्रतिवेदन कहिले बुझाउँछ ?

सुन तस्करी प्रकरणमा संलग्न व्यक्तिहरूलाई प्रहरीले सङ्गठित अपराधअन्तर्गत मुद्दा अघि बढाउने बताइएको छ । सङ्गठित अपराध ऐनअन्तर्गत ६० दिनभित्र सरकारी वकिलले जिल्ला अदालतमा मिसिल बुझाइसक्नुपर्ने भएकाले सोहीअनुसार अनुसन्धानको गति अघि बढाइएको अधिकारीहरूको भनाइ छ ।

‘हामीले अनुसन्धान सही ढङ्गले अघि बढाएका छौँ र यो साताभित्र अनुसन्धान सकेर सम्भवतः आगामी आइतवार हामी प्रतिवेदन बुझाउँछौँ,’ बज्राचार्यले भनिन् । प्रहरी प्रवक्ता कडायतले पनि आगामी साता प्रतिवेदन बुझाइसक्ने लक्ष्य रहेको बताए ।

‘राजस्व अनुसन्धानले गत साउन ३ गते म्याद थपेको हो । त्यसको ६० दिनभित्र अदालतमा सरकारी वकिल कार्यालयले अदालतमा मिसिल पेस गरिसक्नुपर्छ । त्यसैले अर्को सातातिर प्रतिवेदन बुझाउने गरी अनुसन्धान भइरहेको छ,’ उनले भने ।

६०.७ केजी सुन तस्करी प्रकरण

तस्करीबाट आएको सुन ।

अधिकारीहरूका अनुसार रेडी ट्रेड प्रालिले बाइकका १६० थान ब्रेक शू आठ वटा प्याकेटमा ल्याएको थियो र त्यसको तौल १४५ केजी थियो । गत असार ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार गोदाममा पुगेको त्यो सामान साउन २ गते भन्सार पास भएर निस्किएको थियो ।

लगत्तै राजस्व अनुसन्धान विभागको टोलीले सुनसँगै ट्याक्सी चालक र केही सन्दिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । भन्सार कार्यालयका अधिकारीहरूका अनुसार ३२० थान ब्रेक शूमा सुन लुकाएको पाइएको थियो ।

सुरुमा एक क्विन्टल सुन तस्करी भएर आएको भनिए पनि पछि नेपाल राष्ट्र ब्याङ्कले गालेर तौल लिँदा सुनको कुल तौल ६०.७ केजी रहेको बताइयो । राजस्व अनुसन्धान विभागले बरामद गरेर सुन बुझाएको कैयौँ सातापछि त्यसलाई जोखेर वास्तविक परिणामबारे विवरण सार्वजनिक गरिएको थियो ।

पछिल्लो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टर्पोललाई सहयोगका लागि पत्राचार गरेको सीआइबी प्रमुखले पुष्टि गरेकी छन् । पछिल्लो ६० केजी सुन तस्करी प्रकरणमा ‘ठूलै अन्तर्राष्ट्रिय गिरोहको संलग्नता हुन सक्ने’ अनुमान भइरहँदा सीआइबीले उक्त कदम चालेको हो ।

झन्डै एक महिनाअघि भन्सार छली गरी ल्याइएको सुन बरामद प्रकरणबारे राजस्व अनुसन्धान विभागपछि अहिले सीआइबीले अनुसन्धान गरिरहेको छ । पछिल्लो तस्करी प्रकरणबारे सूक्ष्म अनुसन्धान भइरहेको भन्दै उसले कुनै सूचना, तथ्य वा प्रमाण भए उपलब्ध गराउन सर्वसाधारणमा अपीलसमेत गरेको छ ।

स्रोत : बीबीसी
प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार ०७:२४

लोकप्रिय