वैदेशिक रोजगारीका लागि विदेश पुगेका धेरै युवा स्वदेश फर्किएपछि फेरि रोजगारीको खोजीमा भौँतारिने गरेका छन् । तर डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोला (असिग्राम)का अन्तराम जोशी भने विदेश जाने क्रममा सिकेको सीपलाई गाउँमै प्रयोग गरेर व्यावसायिक च्याउ खेतीबाट आम्दानी गर्न सफल भएका छन् ।
जोशी अहिले आफ्नै गाउँमा सिताके र कन्या च्याउको व्यावसायिक खेतीमा रमाइरहेका छन् । उनले विसं २०७७ देखि परालमा कन्या च्याउ उत्पादन सुरु गरेका थिए । त्यसपछि काठका मुडामा सिताके च्याउ खेती विस्तार गर्दै आएका छन् । जोशीको फार्ममा उत्पादित सिताके च्याउ प्रतिकिलो रु ८०० मा बिक्री भइरहेको छ ।
कन्या च्याउको मूल्य भने बजारमा हुने उत्पादन र मागअनुसार फरक पर्ने गरेको उनले बताए। तराईका जिल्लामा च्याउको उत्पादन कम हुँदा प्रतिकिलो रु २०० भन्दा बढी मूल्य पाउने गरेको र उत्पादन बढ्दा रु १५० सम्ममा बिक्री गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । परिवारको जीविकोपार्जनका लागि जोशी २०६९ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए ।
त्यहाँ तीन वर्ष काम गरेर स्वदेश फर्किएका उनले थप आम्दानीको खोजीमा युरोप जाने प्रयास गरे । यसक्रममा काठमाडौँका विभिन्न म्यानपावर कम्पनी धाउने क्रममा उनले च्याउ खेती गर्ने फार्ममा काम गर्ने अवसर पाए । काठमाडौँका च्याउ फार्ममा करिब पाँच वर्ष काम गर्दा जोशीले च्याउ उत्पादनसम्बन्धी व्यावहारिक ज्ञान र सीप हासिल गरे ।
युरोप जाने प्रयास सफल नभएपछि सिकेको सीप आफ्नै गाउँमा प्रयोग गर्ने सोच बनाएर उनी डडेल्धुरा फर्किए र च्याउ खेती सुरु गरे । काठमाडौँमा प्रतिकिलो रु एक हजार ५०० सम्म बिक्री हुने सिताके च्याउ गाउँमै उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने उनलाई सुरुमा शंका थियो । स्थानीय बजारमा यसको माग र स्वादप्रति उपभोक्ताको रुचि कस्तो रहला भन्ने चिन्ता पनि थियो ।
त्यसैले उनले परीक्षणका रूपमा ५० वटा काठका मुडामा सिताके च्याउको बीउ राखेर खेती सुरु गरे । त्यससँगै कन्या च्याउ उत्पादनलाई पनि निरन्तरता दिए । करिब नौ महिनापछि काठका मुडामा सिताके च्याउ फल्न थालेपछि जोशीले डडेल्धुरा बजारमा बिक्री गर्न थालेको अनुभव सुनाए । स्थानीय उपभोक्ताले च्याउ मन पराउन थालेपछि मागसमेत बढ्दै गयो ।
‘त्यसपछि दोस्रो वर्षदेखि खेती विस्तार गरी करिब ६०० वटा काठका मुडामा सिताके च्याउ उत्पादन गर्न थालेको हुँ,’ उनले भने । अहिले जोशीको फार्ममा उत्पादन सीमित भए पनि बजारमा सिताके च्याउको माग बढिरहेको छ । सातामा आठदेखि १० किलोसम्म सिताके च्याउ डडेल्धुरा बजार पठाउने गरेको उनले जानकारी दिए ।
च्याउ बिक्रीको प्रशस्त सम्भावना भए पनि मागअनुसार उत्पादन गर्न नसकिएको उनको भनाइ छ । तराईका जिल्लामा समेत सिताके च्याउको माग राम्रो रहेकाले उत्पादन बढाउन सके बजारको समस्या नहुने उनले बताए । च्याउ खेतीले आफूलाई गाउँमै स्वरोजगार बनाउनुका साथै अरूलाई पनि यसतर्फ आकर्षित गर्ने अवसर दिएको जोशीको अनुभव छ ।
पछिल्ला केही वर्षयता उनले सरकारी कार्यालयमार्फत सुदूरपश्चिमका तराईका जिल्लामा सञ्चालन हुने सिताके च्याउ खेतीसम्बन्धी तालिममा प्रशिक्षकका रूपमा समेत काम गर्दै आएका छन् । स्थानीयस्तरमा उपलब्ध स्रोत, साधन, प्राविधिक सीप र बजारको मागलाई जोड्न सके च्याउ खेती ग्रामीण क्षेत्रका किसानका लागि स्वरोजगार र आम्दानीको राम्रो माध्यम बन्न सक्ने उनको अनुभव छ ।
