बूढीगण्डकी बाढीले आधा दर्जन पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । बाढीले दुईवटा मोटरेबल र चारवटा झोलुंगे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
उनका अनुसार, आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन् । बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ । यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बाढीले चुमनुब्री गाउँपालिका–३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ । बाढीबाट जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा पनि क्षति भएको छ । बाढीका कारण जोखिममा परेका ६ जनाको उद्धार गरिएको छ । नेपाली सेनाका अनुसार पहिरोको जोखिममा रहेको जगत इलाकाबाट उनीहरूको हवाई उद्धार गरिएको हो ।
‘बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरेको,’ नेपाली सेनाले भनेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, बाढीपछि खोज तथा उद्धारका लागि सेनाको टोली हवाई तथा स्थलमार्गबाट प्रभावित क्षेत्रको परिचालन भएको छ ।

