२०८३ असोज २५ , आइतबार 11, October 2026, Sunday

बूढीगण्डकी बाढीले ४१२ मेगावाटको जलविद्युत् आयोजना प्रभावित

गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । बाढीले आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, बेलीब्रिज तथा पहुँच सडक र पुलमा क्षति पुर्याएको प्रारम्भिक विवरण छ ।

बाढीले ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ । आयोजनाको प्रवर्द्धक टाइम्स इनर्जी प्रालिका केही निर्माण उपकरण समेत बाढीले बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

यस्तै, २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ । बेलीब्रिज बगाएको छ । दोभान खोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको उक्त आयोजनामा बाढीले भौतिक क्षति पुर्याएको हो ।

३०.५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजनाको बेलीब्रिजमा क्षति पुगेको छ । यारु हाइड्रो पावर प्रालि प्रवर्द्धक रहेको आयोजनाका निर्माण सामग्री तथा उपकरण समेत बाढीले बगाएको विवरणमा उल्लेख छ ।

१६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनाको पहुँच सडक र आयोजना स्थल पुग्ने पुलमा क्षति पुगेको छ । उक्त आयोजनाको प्रवद्र्धक वाटर इनर्जी डेभलपमेन्ट प्रालि हो । बाढीबाट प्रभावित आयोजनाहरूको क्षतिको यो प्रारम्भिक विवरण रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २५ गते आइतबार