२०८३ मंसिर ४ , शुक्रबार 21, November 2026, Saturday

बूढीगण्डकीमा भीषण बाढी, बस्ती, होटल र विद्यालयमा क्षति

गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ । माथिल्लो क्षेत्रमा सुक्खा पहिरो खसेर नदीको बहाव थुनिएपछि एक्कासि फुटेर बाढी आएको अनुमान गरिएको छ ।

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार नदीमा पानीको बहाव निरन्तर थुनिने र खुल्ने भइरहेकाले बाढीको ठूलो झड्काले नदी आसपासको करिब १५० देखि २०० मिटर माथिसम्मको क्षेत्रलाई प्रभावित बनाएको छ। बाढीका कारण तल्लो तटीय क्षेत्रका बस्ती, बजार, होटल तथा केही विद्यालय भवनमा समेत क्षति पुगेको छ ।

नदी किनारमा रहेका जगत्, सल्लेरी लगायत तल्लो तटीय क्षेत्रका बस्ती तथा बजारहरूमा बाढीले क्षति पु¥याएको खबर प्राप्त भएको छ । ती क्षेत्रमा सञ्चालनमा रहेका पर्यटकीय होटल, ट्रेकिङ एजेन्सीसम्बद्ध संरचनाहरू र केही विद्यालय भवनहरूसमेत बाढीले बगाएको सूचना प्राप्त भएको सापकोटाले जानकारी दिए ।

बाढीबाट अहिलेसम्म कुनै मानवीय क्षति भए–नभएको आधिकारिक पुष्टि भइसकेको छैन । नदीमा पानीको सतह र बहाव लगातार परिवर्तन भइरहेकाले क्षतिको वास्तविक तथा यकिन विवरण सङ्कलन गर्न प्राविधिक कठिनाइ भइरहेको छ । हाल स्थानीय प्रशासन तथा सम्बन्धित निकायबिच समन्वय गरी थप विवरण र वस्तुस्थिति बुझ्ने कार्य भइरहेको छ ।

नदी फुट्ने र थुनिने क्रम जारी रहेकाले बाढीको जोखिम अझै कायमै छ । जसका कारण बूढीगण्डकी नदीको तल्लो तटीय क्षेत्रका सम्पूर्ण बासिन्दालाई उच्च सतर्कता अपनाउन र तत्काल नदी किनार छाडेर सुरक्षित स्थानतर्फ जान स्थानीय प्रशासनले आग्रह गरेको छ ।

चुमनुब्रीका ३५ घर बगे

गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन् । चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको उनले बताइन् ।

आइतबार बिहान ४ः०० बजे ती गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए । बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए । हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन भने क्षतिको विस्तृत विवरण पनि प्राप्त हुन बाँकी छ ।

प्रकाशित मिति : २०८३ असोज २५ गते आइतबार