गोरखामा ठूलो बाढी मनास्लु हिमाल क्षेत्रमा हिमपहिरो खसेका कारण निम्तिएको हुन सक्ने आशंका गरिएको छ । एक स्थानीयले हिमपहिरोपछि बाढी आएको सूचना दिएको तर त्यसबारे यकिन भइनसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चुमनुब्री गाउँपालिका–६ को उत्तरपट्टिबाट बाढी आएको देखिएको छ ।
नक्सामा हेर्दा उक्त भूभाग मनास्लु क्षेत्रमा जोडिएको देखिने प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिए । ‘चुमनुब्री गाउँपालिका–६ भन्ने हो । लोक्पा, चुम्लिङको उत्तरपट्टिबाट आएको,’ उनले भने, ‘नक्सामा हेर्दाखेरि मनास्लुको डाउनिङ स्ट्रिम (तल्लो तटीय क्षेत्र) जस्तो देखिन्छ । मनास्लु हिमालमा जोडिएको हो यो । तोमखोला, स्यामखोला हुँदै चुलिङखोला भएर तल आउँदो रहेछ यो ।’
उक्त बाढीबाट सिर्दिबास, जगत, यारु, तातोपानी, माथिखोला, सोती, आरुखेत हुँदै आरुघाटसम्म भौतिक क्षति भएको उनले बताए । ‘यसले सुरुमा माथिबाट सिर्दिबास हुँदै, जगत हुँदै, यारु, तातोपानी, माथिखोला, सोती, आरुखेत र आरुघाटसम्म हामीलाई अहिलेसम्म जानकारी छ,’ उनले भने, ‘आरुघाटमा ठूलो क्षति भयो, आरुघाटको पुल पनि बगाइदियो ।’
त्यहाँ रहेको जलविद्युत् आयोजनाको संरचना पनि बगाएको उनले जानकारी दिए । ‘त्यहाँ भएको हाइड्रोको इन्फ्रास्ट्रक्चरहरू, जति पनि बनेका बिल्डिङहरू थिए, त्यो एकदम बगाएको अवस्था छ,’ उनले भने । मानवीय क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन । हिमपहिरोपछि बाढी उत्पन्न भएको भन्ने प्रारम्भिक आशंका मात्र गरिएको उनले स्पष्ट पारे ।
‘अहिले प्रारम्भिक अनुमान मात्रै हो । स्थानीयले दिएको जानकारीअनुसार हिमपहिरो माथिबाट खसेको र पहाडी क्षेत्र भएर तल आएको भनेर एकजनाले भन्नुभएको छ । लोक्पा भन्ने ठाउँमा उहाँसित हाम्रो सम्पर्क भएको थियो,’ उनले भने । ती स्थानीयले हिमपहिरो खसेको आफूले देखेको दाबी गरेका छन् ।
स्थानीयको भनाइलाई आधार मान्दा त्यो नै बग्दै तल आएको हुन सक्ने आशंका गरिएको डा. उप्रेतीले बताए । ‘हिमपहिरो खसेको हो भन्ने उहाँले देखेको भन्ने छ, त्यो नै आएर तातस्केट हुँदैहुँदै गएर थुनिँदै, फेरि बग्दै, थुनिँदै, बग्दै गएर तल आएको भन्ने हाम्रो अनुमान छ,’ उनले भने, ‘तर, त्यसमा हामी अनुसन्धान गरिराखेका छौँ ।’
तत्काललाई यस्तो आशंका गर्न सकिए पनि यो निष्कर्ष भइनसकेको उनले स्पष्ट पारे । आइतबार (असोज २५) बिहान करिब ४ बजेदेखि चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा बहाव बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्योसँगै गोरखा, धादिङ, तनहुँ र चितवनसम्म बाढीको प्रभाव पर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
‘असोज २५, बिहान ०९ः२५ बजे । बूढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि रहेको र बढ्ने र घट्ने क्रम जारी रहेकोले त्रिशूली नदी बेनिघाटसम्म (अति उच्च जोखिम) रहनुहुनेले उच्च स्थानमा जानुहोला, मुग्लिनसम्म (उच्च जोखिम) रहनुहुनेले उच्च सतर्कतामा बस्नुहोला, चितवन र नवलपरासी नदी आसपास (मध्यम जोखिम) रहनुहुनेले सतर्क रही नेपाल बाढी सूचना (फेसबुक पेज) वा ११५५(२) बाट थप जानकारी लिनुहोला,’ महाशाखाले भनेको छ ।

