आज दशैंको पहिलो दिन, घटस्थापना । घटस्थापनाको दिन जमरा राखिन्छ । तर यस वर्ष कतिपयले असोज २५ गते ‘राम्रो दिन’ नभएकाले २६ गते घटस्थापना गर्नुपर्ने अभिव्यक्ति पनि दिने गरेका छन् । यस्ता अभिव्यक्ति दिनेहरुको भिडियो हिजोदेखि नै सामाजिक सन्जालहरुमा भाइरल छन् ।
किन भनियो २६ गते जमरा राख्न ?
आश्विन शुक्ल प्रतिपदाको दिन चित्रा नक्षत्र वा वैधृति योग परेमा शुभ नहुने भनाइ छ । चित्रा नक्षत्र परेमा धननाश हुने र वैधृति योग परेमा पुत्र नाश हुने विश्वास गरिन्छ । यस वर्ष असोज २५ गते आइतबार आश्विन शुक्ल प्रतिपदा तिथिको दिन राति १० बजेर ५४ मिनेटसम्म चित्रा नक्षत्र र राति १० बजेर ३० मिनेटसम्म वैधृति योग छ । त्यसैले कतिपयले असोज २६ गते घटस्थापना गर्नुपर्ने तर्क गरेका हुन् ।
यसबारे पञ्चाङ्ग निर्णायक समिति के भन्छ ?
आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाको दिन पूरापर चित्रा नक्षत्र वा वैधृति योग परेमा सकभर यी दुवैको घटी–पला बितेपछि घटस्थापना गर्नुपर्ने बताइन्छ । पूरा दिनभरी र पूरा रातभरी चित्रा वा वैधृति योग परेको रहेछ भने पनि शास्त्रले समस्याको समाधान दिएको छ ।
यस्तो अवस्थामा चित्रा वा वैधृतिको तीन चौथाइ घटी कटाइ पछिल्लो एक चौथाइ घटीमा घटस्थापना गर्नुपर्छ । त्यसैले पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको शुभसाइत निकाल्दा मध्याह्न काल र अभिजित मुहूर्तको मध्य पारेर आज बिहान ११ बजेर ४७ मिनेटको साइत निर्धारण गरेको समितिका अध्यक्ष सहप्राध्यापक डा.पुरुषोत्तम भट्टराईले बताए ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको हो । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता भएकाले भोलि २६ गते घटस्थापना गर्ने भनी चलाइएको हल्ला शास्त्रसम्मत नहुने उनले बताए ।
घटस्थापना अघि विधिपूर्वक शान्ति गर्नुपर्ने, विधि पुर्याउन नसके के गर्ने ?
घटस्थापना गर्नुअघि विधिपूर्वक चित्रा नक्षत्र र वैधृति योगको विधिपूर्वक शान्ति गर्नुपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यदि चित्रा नक्षत्र र वैधृति योगको विधिपूर्वक शान्ति गर्न नसकेमा पनि समस्याको समाधान समितिले नै दिएको छ ।
समितिले चित्रा नक्षत्र र वैधृति योगको शान्तिका लागि एक गोदान गर्ने सकिने सुझाव दिएको छ । गोदान गर्न पनि नसकेमा चित्रा र वैधृति योगको दोष नलागोस् भनेर नवदूर्गा भगवतीसँग प्रार्थना गरी नमस्कार गर्न समितिले सुझाव दिएको छ ।

