२०८३ असोज २४ , शनिबार 10, October 2026, Saturday

सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाल बर्खास्त

नेपाल सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको छ ।

गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार आचरण सम्बन्धी नियम बारम्बार उल्लंघन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मानप्रतिष्ठा र छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा उनीमाथि विभागीय कारबाही गरिएको हो ।

मन्त्रालयका अनुसार दाहाललाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाइएको छ । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा सम्बन्धित सबैलाई उक्त निर्णयबारे जानकारी गराइएको छ ।

दाहाल सम्बन्धमा गृह मन्त्रालय भन्छ,

  • सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा मिति २०८३–०६–२३ गतेबाट लागू हुने गरी गृहमन्त्रीले निजलाई सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारवाही गरेको ।
  • सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा गृह मन्त्रीले सशस्त्र प्रहरी ऐन तथा नियमावलीले प्रदान गरेको अधिकार प्रयोग गरी उच्च तहका सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा र पद अनुसारको आचरण पालना नगरेको अवस्थामा विभागीय कारवाही गरेको ।
  • गृह मन्त्रालय मातहतका हरेक प्रहरी कर्मचारीहरूबाट गरिने पदीय आचरण विपरीतका कार्यहरू, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिहरू माथि गृह मन्त्रीले सूक्ष्म निगरानी तथा विश्लेषण गरिरहेका छन् ।
  • कानून विपरीत हुने हरेक गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानूनबमोजिम कारवाही गर्ने र विधिको शासन, कानूनको परिपालना तथा सार्वजनिक शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालय सदैव प्रतिबद्ध रहेको ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिबार