एक साताअघि परेको अविरल वर्षा र हावाहुरीले बाँकेका विभिन्न स्थानमा धानबालीमा गरेको क्षतिको विवरण सङ्कलन हुन नपाउँदै बुधबार परेको ठुलो वर्षा र हुरीका कारण फेरि धानबालीमा धेरै क्षति पुगेको छ ।
बुधबार दिउँसो एक्कासि भएको भीषण वर्षा र आएको हावाहुरीका कारण जिल्लाका धेरै ठाउँमा पाक्नै लागेको धानबाली ढलेर तथा केही ठाउँमा काटेर राखेको धान डुब्दा किसानलाई समस्या भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले पाकेर थन्क्याउने बेलामा वर्षाले धानबालीमा फेरि ठुलो क्षति पुर्याएको जानकारी किसानले गराएको बताइन् । उनले डेढ साताअघि तीन दिन भएको अविरल वर्षा र आएको हावाहुरीले धानबालीमा ठुलो क्षति पुर्याएकाले दुःखी बनेका किसानलाई बुधबारको वर्षा र हावाहुरीले थप पीडा दिएको बताइन् ।
बाँकेका राप्तीसोनारी, डुडुवा, जानकी र नेपालगन्जका विभिन्न स्थानमा धानबालीमा वर्षाले फेरि क्षति पुर्याएको जानकारी आए पनि क्षतिको यकिन विवरण सङ्कलन भई नसकेको जनाउँदै सूचना अधिकारी शर्माले दुवै पटकको क्षतिको विवरण सङ्कलन भइरहेको बताइन् ।
हावाहुरीसहितको वर्षाले पाकेको बिउ धानमा ठुलो क्षति पुर्याएको राप्तीसोनारीको साकार कृषि सहकारी संस्थाका व्यवस्थापक जमानसिंह वलीले बताए । उनका अनुसार किसानले १५० बिघामा रोपेको बिउ धानमा पछिल्लो वर्षाले ठुलो क्षति पुर्याएको छ । स्याहार्ने बेला वर्षाले क्षति पुर्याएपछि आगामी वर्षका लागि धानको बिउ अभाव हुने व्यवस्थापक वलीको भनाइ छ ।
बिउ धान खेतीका लागि साकार कृषि सहकारीले किसानलाई बिउ वितरण गर्दै आएको छ । किसानले बिउ धान उत्पादन गरेर सहकारीलाई बिक्री गर्ने गरेको व्यवस्थापक वलीले बताए । यस वर्ष पानी राम्रो परेका कारण धान राम्रो फले पनि स्याहार्ने बेला वर्षाले क्षति पुर्याएको उनको दुःखेसो छ ।
