२०८३ असोज २३ , शुक्रबार 9, October 2026, Friday

कांग्रेस महाधिवेशन : नयाँ कार्यसमिति चयन गर्न आज मतदान

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा बसेका छन् । मतदान बिहान ७ बजेदेखि सुरु हुने भएपछि मतदाता लाइनमा लागेका हुन् । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार बिहान ७ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

महाधिवेशन प्रतिनिधिको संख्या सात हजार ३१७ रहेको छ । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरिरहेको बताए । उमेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलो भएको हो ।

आजको बसाई र खानाको खर्च पार्टीकै

आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएको भन्दै महाधिवेशन प्रतिनिधिको शुक्रबारको होटेल बसाई खर्च र खाना खर्च पार्टीले नै व्यहोर्ने बताए ।

कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?

निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ । प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ ।

राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’मा वाग्मती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । खुलामञ्च, मतदान केन्द्र ‘ख’मा कोसी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिले मतदान गर्नेछन् । हिमाल हलमा गण्डकी प्रदेश तथा तराई–मधेस हलमा मधेस प्रदेश प्रतिनिधिले मतदान गर्नेछन् ।

पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिले प्रतिनिधिले मतदान गर्नेछन् । निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन् ।

परिचयपत्र र मतदाता नामावली रुजु गरिने

निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ । मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ ।

रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ । निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन । प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन् ।

उमेदवारी प्रक्रिया पूरा

कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उमेदवारी दर्ता, दाबी–विरोध तथा उमेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ । सो प्रक्रिया सम्पन्न भएपछि निर्वाचन समितिले उमेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ ।

अब मतदानमार्फत सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । विभिन्न पदमा परेको उमेदवारीअनुसार महाधिवेशन प्रतिनिधिले सम्बन्धित मतपत्रमा मतदान गर्नेछन् । निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने जनाएको छ ।

मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । १५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रबार