सशस्त्र प्रहरी बलले बडादसैँ, तिहार, नेपाल सम्वत्, छठलगायत चाडपर्वलाई लक्षित गर्दै ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना–२०८३’ लागू गरेको छ ।
योजनाअन्तर्गत चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण, सीमा क्षेत्रमा सुरक्षा व्यवस्थापन तथा राजमार्गमा दुर्घटना न्यूनीकरण र शीघ्र उद्धारका लागि २८ हजार १२६ जना सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए ।
थप चार हजार ५०० जनशक्ति तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ । सशस्त्र प्रहरीले भारत र चीनका समकक्षी सुरक्षा निकायसँगको समन्वयमा १४१ स्थानमा नागरिक सहायता कक्ष, १६ स्थानमा नागरिक स्वास्थ्य कक्ष र १३ स्थानमा पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
सीमावर्ती क्षेत्रमा समकक्षी सुरक्षा निकायसँगको समन्वयमा संयुक्त गस्तीसमेत सञ्चालन गरिएको छ । झापाको काँकडभिट्टा, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया र बाँकेको जमुनाह नाकामा अवैध हातहतियार, विस्फोटक पदार्थ तथा लागूऔषध पहिचान गर्न तालिमप्राप्त कुकुर परिचालन गरिएको छ ।
चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण र सडक दुर्घटनापछि तत्काल उद्धारका लागि ३७ स्थानमा एम्बुलेन्ससहितको टोली परिचालन गरिएको छ । ठूलो दुर्घटनामा एकैपटक धेरै घाइतेको उद्धार गर्न सकिने सवारीसाधनसमेत उपत्यकासहित सातै प्रदेशमा तैनाथ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
विपद्को अवस्थामा तत्काल उद्धारका लागि देशभर ५५ वटा अस्थायी मनसुन विपद् प्रतिकार्य बेस र १६ वटा स्थायी विपद् बेसमा आवश्यक स्रोतसाधनसहित दक्ष जनशक्ति तयारी अवस्थामा राखिएको छ । त्यस्तै, दैनिक पिकेट, चेक प्वाइन्ट, पैदल तथा मोबाइल गस्ती, लामो दूरीका गस्ती, विस्फोटक पदार्थ निष्क्रिय गर्ने टोली र गोताखोरसहितका विपद् उद्धार टोलीलाई २४ घण्टा परिचालन हुने गरी तयारी अवस्थामा राखिएको छ ।
सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन समकक्षी सुरक्षा संगठनसँगको समन्वयमा ९२४ वटा संयुक्त सीमा गस्ती सञ्चालन गर्ने योजना सशस्त्र प्रहरीको छ । संवेदनशील क्षेत्रको निगरानीका लागि २१ वटा ड्रोन परिचालन गरिएको छ भने सीमा नाकाका महत्त्वपूर्ण स्थानमा जडान गरिएका ४१२ वटा सीसीटीभी क्यामेराबाट २४ घण्टा निगरानी गर्ने व्यवस्था मिलाइएको प्रवक्ता कार्कीले बताए ।
