२०८३ असोज २२ , बिहीबार 8, October 2026, Thursday

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि…

म्याग्दीको मङ्गला गाउँपालिका–५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो खेत हेर्दै टोलाइरहेका छन् । साढे छ रोपनी खेतमा लगाएको मार्सी धान बाढीले नामोनिसान नरहने गरी पुरिदिएपछि उनको वर्षभरिको अन्नको जोहो गर्ने आधार गुमेको छ ।

१४ जनाको परिवारलाई वर्षभरि खान पुग्ने धान फल्ने खेत बाढीले बगरमा परिणत गरिदिएपछि उनीसँग अब करिब तीन रोपनी बाँझो जमिन मात्रै बाँकी छ । ‘धान काटेर घर भित्र्याउने बेला खेत नै रहेन,’ पुनले भने, ‘वर्षभरि खाने अन्न फल्ने जमिन बाढीले बगर बनाइदियो ।’

छिस्वाङमा वीरबहादुरको जस्तै पीडा पूर्णबहादुर पुनको पनि छ । पशुचौपाया राख्ने गोठसहित उनको तीन रोपनी धानखेत बाढीले बगाएको छ । अन्न फलाउने एक इन्च जमिन बाँकी नरहेपछि उनलाई अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ ।

खहरे खोलाको बाढीले छिस्वाङका करिब ३५ परिवारको करिब डेढ सय रोपनी धानखेतमा क्षति पुगेको स्थानीयले बताएका छन् । अन्नबालीका लागि प्रख्यात छिस्वाङको खहरेखोला आसपासको खेतीयोग्य जमिन खोलाको बगरमा परिणत भएको छ ।

‘पुर्खाले छोडेको जग्गा, वर्षौंको श्रम र लगानी केही घण्टामै बाढीले बगायो,’ नरबहादुर घर्तीले भने, ‘धान भित्र्याउने समयमा खेत नै बगेपछि किसान ठूलो पीडामा छन् ।’ यही असोज ११ गतेको भीषण बाढीले छिस्वाङ खहरेको स्वरूप नै परिवर्तन गरिदिएको छ ।

केही समयअघिसम्म छिस्वाङ खहरेका घरबस्ती र धानखेत रहेको ठाउँ अहिले माटो, ढुङ्गा र गेग्रानले भरिएको छ । बस्तीभन्दा करिब चार किलोमिटर माथि पाङ्ग्र्रा वनमा खसेको पहिरो खहरे खोलामा मिसिएपछि बाढी आएको थियो ।

पुल तथा कल्भर्टमा बाढी थुनिएपछि पानी र गेग्रान बस्तीतर्फ सोझिएको स्थानीय भिजन पुनले बताए । बाढीले छिस्वाङमा नौ घर पूर्ण रूपमा ध्वस्त बनाएको छ । २२ भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ । मिल, पसल, गोठ तथा घरभित्रका अन्नपात र सामग्री बाढीले बगाएको छ ।

घरबास गुमाएका परिवार अहिले आफन्तको घर र शारदा माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका छन् । तुलबहादुर घर्तीले रातको समयमा खानेपानीको पाइपलाइन मर्मत गरिरहेको बेला खोल्सामो बाढी आएका स्मरण गरे । भागेर ज्यान बचाएको उनले सुनाए ।

‘श्रीमती खोलापारि र मैले वारि बसेर खानेपानीको पाइपलाइन मर्मत गरिरहेका थियौ । एक्कासि बाढी आएपछि भागाभाग गरेका थियौँ,’ उनले भने, ‘केही सेकेण्ड छिटो भाग्न सफल हुँदा ज्यान जोगिएको हो ।’ घर्तीले खेतबारी पुरिनुका साथै घरभित्र बाढी पसेर क्षति पुगेको बताए ।

घरगोठ, अन्नपात र खेतबारीमा ठूलो क्षति पुगेको स्थानीय गौदेवी पुनको गुनासो छ । ‘घरखेत पनि बचेन,’ पुनले भनिन्, ‘बस्ती जोगाउने गरी तत्काल नदी नियन्त्रण हुनुपर्छ ।’ नदी नियन्त्रण, कल्भर्ट व्यवस्थापन र जोखिममा परेको बस्तीको दीर्घकालीन पुनःस्थापनाको पुनले माग गरिन् ।

तुलप्रसाद पुन, मेखबहादुर पुन, पूर्णप्रसाद पुन, देवान घर्ती, नरबहादुर घर्ती, गौदेवी पुन, सरोज विक, जितबहादुर पुन र श्यामप्रसाद विकको घर पूर्ण क्षति भएको मङ्गला गाउँपालिका–५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले बताए ।

घरबास र आम्दानीको आधार एकैपटक गुमेपछि परिवारको दैनिक गुजारा कठिन बनेको श्याप्रसाद बिकले बताए । स्थानीय चित्रबहादुर बिकले पहिरो र बाढीले पाइपलाइन, खानेपानीको ट्याङ्कीमा क्षति पुर्याएपछि पिउने पानीको समस्या भएको बताए ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार प्रारम्भिक चरणमा छिस्वाङमा हेलिकप्टरमार्फत राहत सामग्री पठाइएको थियो । अहिले सडक मार्गबाट समेत राहत तथा सहयोग पुर्याउन सकिने अवस्था बनेको उनले बताए ।

केही दिनअघि पहिरो र बाढी प्रभावित क्षेत्रको निरिक्षणका लागि प्रजिअ गैरेलगायत सुरक्षा अधिकारीहरुसहित छिस्वाङ पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीसँग स्थानीयले बस्ती संरक्षण र बाढी नियन्त्रणका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।

गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको साझेदारी तथा समन्वयमा बस्तीलाई सुरक्षित बनाउने, पहिरोको थप जोखिमको अध्ययन र पुनःस्थापनाका लागि पहल भइरहेको प्रजिअ गैरेले बताए ।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार