नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्व मात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो । तीज आउँदा रातो पहिरन, पूजा, व्रत, गीत, नाचगान, माइतीको सम्झना र भेटघाटले नेपाली समाजमा छुट्टै उत्साह ल्याउँछ । तर तीजको वास्तविक अर्थ बाहिरी प्रदर्शन र रमझममा मात्र सीमित छैन । यो महिलाहरूले आफ्ना भावना व्यक्त गर्ने, सुख–दुःख साटासाट गर्ने, पारिवारिक सम्बन्धलाई आत्मीय बनाउने र आफ्नो आत्मबल तथा पहिचानलाई अनुभूति गर्ने अवसर पनि हो ।
त्यसैले तीजलाई केवल एउटा पर्वका रूपमा होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको हाम्रो सामाजिक स्मृति, सांस्कृतिक पहिचान र जीवनदर्शनका रूपमा बुझ्नु आवश्यक छ । हरितालिका तीजको पौराणिक कथा देवी पार्वतीको तपस्या, दृढ संकल्प र भगवान शिवप्रतिको अटल समर्पणसँग जोडिएको छ । पौराणिक परम्पराअनुसार सतीदेवीले देहत्याग गरेपछि पार्वतीका रूपमा पुनर्जन्म लिइन् । बाल्यकालदेखि नै उनको मन शिवप्रति समर्पित थियो । पारिवारिक इच्छाअनुसार उनको विवाह अन्यत्र गराउने प्रयास भएपछि उनले आफ्नो इच्छालाई त्यागिनन् । शिवलाई नै आफ्नो जीवनसाथीका रूपमा प्राप्त गर्ने दृढ संकल्पसहित उनले कठोर तपस्या गरिन् ।
कथाअनुसार उनकी सखीहरूले उनलाई पिताको इच्छाबाट टाढा लगेर वनमा पुर्याए र त्यहीँ उनले शिवप्राप्तिको संकल्पका साथ तपस्या गरिन् । यही प्रसंगसँग ‘हरितालिका’ नाम जोडिएको मानिन्छ । यो कथा केवल पति प्राप्तिको धार्मिक आख्यान मात्र होइन, आफ्नो निर्णयप्रति दृढ रहने, कठिनाइमा पनि आफ्नो लक्ष्यबाट विचलित नहुने र आफ्नो जीवनका विषयमा आफ्नै इच्छा र चेतनाको सम्मान गर्ने नारी आत्मबलको प्रतीकका रूपमा पनि बुझ्न सकिन्छ । समय बदलिएको छ, समाज बदलिएको छ र महिलाको भूमिका पनि बदलिएको छ । त्यसैले पार्वतीको तपस्यालाई आजको सन्दर्भमा बुझ्दा यसको मूल सन्देश अझ व्यापक देखिन्छ ।
जीवनमा आफ्नो लक्ष्य पहिचान गर्नु, कठिनाइसँग नडराउनु, धैर्य राख्नु र आफ्नो अस्तित्व तथा निर्णयको सम्मान गर्नु आजको पुस्ताका लागि पनि उत्तिकै महत्वपूर्ण छ । प्रेममा समर्पण आवश्यक छ, तर समर्पणको अर्थ आफ्नो अस्तित्व गुमाउनु होइन । परिवार र सम्बन्ध महत्वपूर्ण छन्, तर आत्मसम्मान र स्वतन्त्र चेतना पनि त्यत्तिकै महत्वपूर्ण छन् । यही सन्तुलन नै तीजको आध्यात्मिक पक्षलाई आधुनिक जीवनसँग जोड्ने सुन्दर आधार बन्न सक्छ । तर आज तीज मनाउने क्रममा हाम्रो समाजमा केही नयाँ प्रवृत्तिहरू तीव्र रूपमा बढिरहेका छन्, जसले यसको मौलिकता र सांस्कृतिक मर्ममाथि प्रश्न उठाउन थालेका छन् ।
तीजको नाममा अत्यधिक खर्च, देखासिकी, भड्किलो पहिरन, महँगा भोजभतेर, अनावश्यक प्रतिस्पर्धा, सामाजिक सञ्जालमा प्रदर्शन गर्ने प्रवृत्ति र आफ्नो आर्थिक क्षमताभन्दा माथि उठेर जीवनशैली प्रदर्शन गर्ने होड बढ्दै गएको देखिन्छ । तीजको खुसीलाई आत्मीयता र सम्बन्धमा खोज्नुपर्ने ठाउँमा कतिपय अवस्थामा महँगो रेस्टुरेन्ट, होटल, गहना, पहिरन, भोज र प्रदर्शनसँग जोड्न थालिएको छ । अरूले गरेको देखेर आफूले पनि गर्नुपर्ने, अरूभन्दा राम्रो देखिनुपर्ने र सामाजिक सञ्जालमा आफ्नो जीवनशैली प्रमाणित गर्नुपर्ने मानसिकताले पर्वको सरलता र आत्मीयता विस्तारै ओझेलमा पार्दैछ ।
आधुनिकता आफैँमा गलत होइन । समयसँगै मानिसको जीवनशैली बदलिनु स्वाभाविक हो । नयाँ प्रविधि अपनाउनु, राम्रो पहिरन लगाउनु, साथीभाइसँग भेटघाट गर्नु, मनोरञ्जन गर्नु वा आफ्नो खुसी मनाउनु पनि गलत होइन । समस्या त्यतिबेला सुरु हुन्छ, जब आधुनिकताको नाममा हामी आफ्नो क्षमता, संस्कार र सामाजिक यथार्थलाई बिर्सेर अरूको देखासिकीमा अस्वस्थ प्रतिस्पर्धा गर्न थाल्छौँ । आधुनिक बन्नु भनेको भड्किलो बन्नु होइन, चेतनशील बन्नु हो । सम्पन्न हुनु भनेको प्रदर्शन गर्नु होइन, आफ्नो जीवनलाई सम्मानपूर्वक र सन्तुलित ढङ्गले जिउन सक्नु हो ।
हामीले तीजलाई आधुनिक बनाउने नाममा आफ्नो सनातन संस्कृतिको मौलिकता नै गुमाउनु हुँदैन । बरु हाम्रो संस्कृति समयसँगै परिष्कृत हुनुपर्छ । जुन परम्पराले मानवता, प्रेम, परिवार, आत्मसंयम, सम्मान र सामाजिक सद्भाव बढाउँछ, त्यसलाई अझ मजबुत बनाऔँ । जुन अभ्यास समयसँग मेल खाँदैन, विभेद पैदा गर्छ वा मानिसको आत्मसम्मानमा चोट पुर्याउँछ, त्यसलाई विवेकपूर्वक सुधारौँ । संस्कृति जोगाउनु भनेको पुरानो कुरालाई आँखामा पट्टी बाँधेर दोहो¥याउनु होइन; त्यसको मूल मर्मलाई जोगाउँदै समयअनुकूल बनाउनु हो ।
आज तीजका नाममा बढ्दै गएको अर्को समस्या आर्थिक र सामाजिक असमानताको प्रदर्शन पनि हो । एउटा परिवारले हजारौँ वा लाखौँ खर्च गरेर पर्व मनाउँदा अर्को परिवारले सामान्य रूपमा पर्व मनाउन पनि कठिनाइ भोगिरहेको हुन सक्छ । यस्तो अवस्थामा पर्वले खुसी बाँड्नुको सट्टा हीनभावना र प्रतिस्पर्धा बढाउन सक्छ । हाम्रो संस्कृतिको सुन्दर पक्ष त विपन्न र सम्पन्न, धनी र गरिब, गाउँ र सहर सबैलाई एउटै उत्सवमा जोड्नु हो । त्यसैले तीजलाई कसले कति खर्च ग¥यो भन्ने प्रतिस्पर्धाभन्दा कसले कति आत्मीयता बाँड्यो भन्ने संस्कार बनाउन आवश्यक छ ।
तीजका गीतहरूमा पनि समयसँगै परिवर्तन आएको छ । विगतमा महिलाका पीडा, माइतीको सम्झना, सामाजिक असमानता र जीवनका यथार्थहरू गीतमा व्यक्त हुन्थे । आज मनोरञ्जन र आधुनिक संगीतको प्रभाव बढ्नु स्वाभाविक हो । तर मनोरञ्जनको नाममा अश्लीलता, व्यक्तिको चरित्रमाथि टिप्पणी, अस्वस्थ प्रतिस्पर्धा वा सामाजिक विकृतिलाई सामान्य बनाउने प्रवृत्तिलाई संस्कृति भनेर स्वीकार गर्नु हुँदैन । गीत, नृत्य र मनोरञ्जन संस्कृतिका सुन्दर अभिव्यक्ति हुन्, तर तिनमा पनि मर्यादा, सौन्दर्य र सामाजिक जिम्मेवारीको चेतना रहनुपर्छ ।
तीजसँग जोडिएको व्रत पनि आत्मसंयम र अनुशासनको अभ्यासका रूपमा बुझ्न सकिन्छ । व्रतको अर्थ केवल खाना वा पानी त्याग्नु होइन, केही समय आफ्ना इच्छा, इन्द्रिय र बाहिरी व्यस्ततालाई नियन्त्रण गर्दै आफूभित्र फर्किनु पनि हो । पूजा, ध्यान, भजन र आत्मचिन्तनले मानिसलाई मानसिक रूपमा शान्त र स्थिर बनाउन सक्छ । तर व्रतको आध्यात्मिक मूल्य शरीरलाई कष्ट दिनुमा होइन, मनलाई अनुशासित बनाउनुमा छ । सबै व्यक्तिको स्वास्थ्य अवस्था समान हुँदैन, त्यसैले निर्जला व्रत सबैका लागि अनिवार्य वा स्वास्थ्यका दृष्टिले लाभदायक हुन्छ भन्ने सोच राख्नु उचित हुँदैन । धर्मको उद्देश्य मानिसलाई जीवनप्रति जिम्मेवार र सन्तुलित बनाउनु हो ।
तीजको सबैभन्दा सुन्दर पक्ष यसको सामाजिक र सांस्कृतिक स्वरूप पनि हो । परम्परागत नेपाली समाजमा महिलाहरूका लागि आफ्ना भावना खुलेर व्यक्त गर्ने अवसर सधैँ सहज थिएन । त्यस्तो परिवेशमा तीजका गीत महिलाका भावनाका प्रतिनिधि बने । माइतीको सम्झना, घरपरिवारका अनुभव, सुख–दुःख, पीडा, आशा, प्रेम र कतिपय अवस्थामा सामाजिक असमानताविरुद्धका आवाजसमेत तीजका भाकामा अभिव्यक्त भए । त्यसैले तीजका गीत केवल मनोरञ्जनका साधन होइनन्, नेपाली महिलाको सामाजिक इतिहासका मौखिक दस्तावेज पनि हुन् । आजको पुस्ताले यही परम्परालाई नयाँ चेतनासँग जोड्न आवश्यक छ ।
आजका तीज गीतमा केवल विगतका पीडा होइन, महिलाका शिक्षा, आत्मनिर्भरता, नेतृत्व, उद्यमशीलता, अधिकार, उपलब्धि र भविष्यका सपनाहरू पनि गुञ्जिनुपर्छ । तीजपछि आउने ऋषिपञ्चमी हाम्रो ज्ञान परम्परा र ऋषिमुनिप्रतिको कृतज्ञतासँग जोडिएको पर्व हो । यस दिन सप्तऋषिका रूपमा कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वसिष्ठको स्मरण र पूजा गर्ने परम्परा छ । ऋषिपञ्चमीको वास्तविक मर्मलाई केवल कर्मकाण्ड वा बाहिरी विधिमा सीमित गर्नुको सट्टा ज्ञानका पुर्खाप्रति सम्मान र कृतज्ञताको अवसरका रूपमा बुझ्न सकिन्छ ।
मानव सभ्यताको विकासमा ऋषिमुनिहरूले ज्ञान, दर्शन, संस्कार र जीवनपद्धतिका क्षेत्रमा पुर्याएको योगदानलाई सम्झनु हाम्रो सांस्कृतिक जिम्मेवारी हो । हामी वर्षभरि आफ्ना ज्ञानका स्रोत र अग्रजहरूलाई सम्झन नसके पनि वर्षमा एक दिन उनीहरूको योगदानप्रति कृतज्ञ हुनु आफैँमा सकारात्मक संस्कार हो । ऋषिपञ्चमीसँग जोडिएको रजस्वलाको विषय भने आजको चेतनाले अझ संवेदनशील रूपमा बुझ्नुपर्ने विषय हो । रजस्वला महिलाको प्राकृतिक जैविक प्रक्रिया हो । यसलाई अशुद्धता, अपराध वा पापसँग जोडेर महिलामाथि सामाजिक विभेद वा हीनताको भावना सिर्जना गर्नु उचित हुँदैन ।
हाम्रो परम्पराभित्र पनि रजस्वलालाई प्रकृतिको स्वाभाविक चक्रका रूपमा बुझ्ने विभिन्न व्याख्या पाइन्छन् । समयसँगै कतिपय धार्मिक र सामाजिक अभ्यासका अर्थ परिवर्तन हुँदै गए र कतिपय अवस्थामा मूल भावनाभन्दा फरक अर्थसमेत स्थापित भए । त्यसैले आजको आवश्यकता परम्परालाई अपमान गर्नु होइन, परम्पराभित्र रहेका मानवीय र सकारात्मक मूल्यलाई जोगाउँदै समयसँग नमिल्ने विभेदकारी अभ्यासलाई सुधार्नु हो । मानव सभ्यता कहिल्यै स्थिर रहेन । समयसँगै समाज बदलियो, परिवारको संरचना बदलियो, राज्य व्यवस्था निर्माण भयो, कानुन बने र धार्मिक तथा सामाजिक अभ्यासका व्याख्याहरू पनि परिवर्तन हुँदै गए ।
हिजो आवश्यक ठानिएको कुनै व्यवस्था आज आवश्यक नहुन सक्छ र आजको अभ्यास भविष्यमा अर्को स्वरूपमा विकसित हुन सक्छ । यसलाई परम्पराको विरोध भनेर बुझ्नु आवश्यक छैन । वास्तवमा परम्परा जीवित हुनु भनेकै समयसँग संवाद गर्दै परिवर्तन हुन सक्नु हो । नदी बगिरहँदा नदी नै रहन्छ, तर त्यसको पानी प्रत्येक क्षण नयाँ हुन्छ । संस्कृति पनि त्यस्तै हो । यसको मूल पहिचान रहन्छ, तर यसको अभिव्यक्ति समयअनुसार परिवर्तन भइरहन्छ । आज नेपाली समाजले तीज मात्र होइन, अन्य धेरै सामाजिक पर्व र संस्कार मनाउने क्रममा पनि बढ्दो उपभोक्तावाद र देखासिकीको प्रभाव सामना गरिरहेको छ ।
विवाहमा अनावश्यक खर्च र प्रतिस्पर्धा, जन्मदिनमा अत्यधिक प्रदर्शन, चाडपर्वमा ऋण लिएर खर्च गर्ने प्रवृत्ति, सामाजिक सञ्जालमा आफ्नो आर्थिक अवस्था प्रदर्शन गर्ने होड, खानपानमा अस्वस्थ प्रतिस्पर्धा र अरूको जीवनसँग आफ्नो जीवन तुलना गर्ने मानसिकता विस्तारै सामाजिक दबाबका रूपमा विकसित हुँदैछन् । हाम्रो समाजमा ‘अरूले के भन्लान् ?’ भन्ने मानसिकताले कतिपय परिवारलाई आफ्नो वास्तविक क्षमताभन्दा माथि खर्च गर्न बाध्य बनाइरहेको छ । यसले आर्थिक बोझ मात्र बढाउँदैन, परिवारभित्र तनाव, असन्तुष्टि र सम्बन्धमा समेत असर पार्न सक्छ । हामीले विकासलाई उपभोग र प्रदर्शनसँग मात्र जोड्नु हुँदैन ।
वास्तविक विकास चेतनाको विकास हो । एउटा परिवारले आफ्नो क्षमताभित्र रहेर सन्तोषपूर्वक पर्व मनाउनु, छिमेकीसँग खुसी बाँड्नु, वृद्ध आमाबुबालाई सम्मान गर्नु, बालबालिकालाई संस्कार सिकाउनु र दुःखी तथा विपन्नलाई सहयोग गर्नु कुनै भड्किलो उत्सवभन्दा धेरै ठूलो सांस्कृतिक उपलब्धि हो । पर्वको मूल्य हामीले कति खर्च गर्यौँ भन्नेमा होइन, कति प्रेम बाँड्यौँ, कति सम्बन्ध जोड्यौँ र कति सकारात्मक संस्कार आगामी पुस्तालाई हस्तान्तरण गर्यौँ भन्नेमा हुनुपर्छ । यसैकारण आजको आवश्यकता हाम्रो सनातन संस्कृतिलाई त्याग्नु होइन, त्यसलाई समयअनुकूल परिष्कृत गर्नु हो । राम्रो कुरा ग्रहण गरौँ, नराम्रो कुरा सुधारौँ ।
आधुनिकताको उपयोग गरौँ, तर आधुनिकताको नाममा आफ्नै मौलिकता नबिर्सौँ । अरूको राम्रो कुरा सिक्नु गलत होइन, तर अन्ध देखासिकी गर्नु बुद्धिमानी होइन । विश्वका राम्रा संस्कारबाट सिकौँ, तर आफ्नो सामाजिक यथार्थ र सांस्कृतिक पहिचानलाई पनि सम्मान गरौँ । हामीले आफ्नै घरको दियो निभाएर अरूको घरको उज्यालो खोज्नु आवश्यक छैन । आजको तीजले महिलालाई केवल सजिने र रमाउने अवसर मात्र नदिई आत्मनिर्भरता, आत्मसम्मान, शिक्षा, स्वास्थ्य, उद्यमशीलता र नेतृत्वका विषयमा पनि सोच्ने अवसर दिनुपर्छ । पुरुषहरूले पनि तीजलाई महिलाको मात्र पर्व भनेर अलग राख्नुको सट्टा परिवार, समाज र संस्कृतिसँग जोडिएको साझा पर्वका रूपमा बुझ्नुपर्छ ।
महिलाको सम्मान केवल तीजको दिन रातो पहिरन र शुभकामनामा सीमित हुनु हुँदैन । दैनिक जीवनमा समान व्यवहार, निर्णयमा सहभागिता, सम्मान र अवसर प्रदान गर्नु नै वास्तविक सम्मान हो । त्यसैगरी ऋषिपञ्चमी मनाउँदा केवल पूजा र विधि पूरा गर्ने होइन, ज्ञानका पुर्खालाई सम्झने, अध्ययन र अनुसन्धानप्रति सम्मान गर्ने तथा नयाँ पुस्तालाई ज्ञानको महत्व बुझाउने अवसरका रूपमा लिन सकिन्छ । ऋषिपञ्चमीको सच्चा सम्मान त्यतिबेला हुन्छ, जब हामी ज्ञानलाई जीवनको आधार बनाउँछौँ, प्रश्न गर्न सिक्छौँ र सत्यको खोजीमा निरन्तर अघि बढ्छौँ । श्रद्धा र विवेकबीचको सन्तुलन नै हाम्रो संस्कृतिको भविष्यका लागि महत्वपूर्ण छ ।
अन्ततः संस्कृति जोगाउनु भनेको पुराना सबै अभ्यासलाई जस्ताको तस्तै दोहोर्याउनु होइन । संस्कृतिको आत्मा पहिचान गरेर त्यसलाई समयअनुकूल जीवन्त राख्नु हो । तीजले हामीलाई पार्वतीको आत्मबल, प्रेम, धैर्य र संकल्प सम्झाओस् । तीजका गीतले महिलाको आवाजलाई अझ सशक्त बनाऊन् । हाम्रो उत्सवले देखासिकी, अनावश्यक खर्च र भड्किलो जीवनशैलीलाई होइन, आत्मीयता, सादगी र सामाजिक सद्भावलाई प्रोत्साहन गरोस् । ऋषिपञ्चमीले ज्ञानका पुर्खाप्रति कृतज्ञ हुन, अध्ययन गर्न र विवेकपूर्ण जीवन जिउन प्रेरणा देओस् । हामीले पर्वलाई परिवर्तन गर्ने होइन, पर्व मनाउने हाम्रो चेतनालाई परिवर्तन गर्नुपर्छ । आधुनिकता स्वीकार गरौँ, तर मौलिकता नहराऊँ ।
परम्परा जोगाऔँ, तर विकृतिलाई संस्कृतिको नाम नदिऔँ । अरूबाट सिकौँ, तर अन्ध देखासिकी नगरौँ । खर्च गरौँ, तर क्षमताभन्दा माथि गएर होइन । उत्सव मनाऔँ, तर अरूलाई देखाउनका लागि होइन, आफ्ना मानिससँग खुसी बाँड्नका लागि । यही सन्तुलित दृष्टिकोणले मात्र हाम्रो सनातन संस्कृतिलाई समयसँगै अझ सुन्दर, मानवीय र जीवन्त बनाउन सक्छ । श्रद्धा रहोस्, तर विवेकसहित । परम्परा रहोस्, तर समयअनुकूल परिष्कारसहित । आधुनिकता आओस्, तर मौलिकताको सम्मानसहित । उत्सव रहोस्, तर देखासिकी र विकृतिबाट मुक्त भएर । यही चेतना आजको तीज र ऋषिपञ्चमीको सबैभन्दा ठूलो सन्देश बन्न सकोस् ।
हरितालिका तीज तथा ऋषिपञ्चमीको सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना ।
