२०८३ भदौ २८ , आइतबार 13, September 2026, Sunday

रुकुम पश्चिममा जीप दुर्घटना, दुईको मृत्यु, नौ जना घाइते

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनामा चालकसहित एकजना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की अन्दाजी १५–१६ वर्षीया प्रेमकला पुन रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । जसमा चार जना गम्भीर र थप पाँच जना मध्यम घाइते छन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आइतबार बिहान सवा ८ बजेतिर जिल्लाको सानीभेरी गाउँपालिका–६ कोटबाट खलंगातर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप जीप भीरबाट झन्डै १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग गरिएको छ । सानीभेरी गाउँपालिकाले दुर्घटनाका घाइतेको उद्धारका लागि हेलिकप्टर उपलब्ध गराइदिन जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पत्राचार गरेको छ ।

गाउँपालिकाको मागअनुसार गृह मन्त्रालयमा हेलिकप्टरका लागि पत्र पठाइसकिएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिए । सानीभेरीदेखि सुर्खेतसम्म हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्नुपर्ने अवस्था रहेकाले गाउँपालिकाले उद्धार खर्च व्यहोर्ने गरी तत्काल हेलिकप्टर उपलब्ध गराउन आग्रह गरिएको हो ।

प्रकाशित मिति : २०८३ भदौ २८ गते आइतबार