अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि शुरु भएको युद्ध केही हप्ता मात्रै चल्ने भनिएको थियो । तर युद्ध शुरु भएको साढे ६ महिना बित्न लागिसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले पनि केही हप्तामै युद्ध सकिन्छ भन्ने सोचेका थिए । तर यो युद्ध धेरैले अपेक्षा गरेभन्दा निकै लामो समयसम्म चलिरहेको छ ।
यस्तो पृष्ठभूमिमा इन्धनको माग बढेको छ । तेल उद्योगको मुख्य ढुवानी मार्ग स्ट्रेट अफ होर्मुजमा अवरोधका कारण आपूर्तिकर्ताहरुले वैकल्पिक मार्ग प्रयोग गरिरहनुपरेको छ । अभाव पूर्ति गर्नका लागि कतिपय देशहरूले पनि आफूसँग भएको रणनीतिक भन्डारबाट सक्दो तेल निकालिरहेका छन् । जसले बजारलाई केही टेवा दिइरहेको छ ।
तर यस्तो अवस्था कति समयसम्म कायम रहन सक्ला ? यो वास्तविक चिन्ताको विषय हो । केही तेल विश्लेषकहरूका अनुसार स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा खुला वा बन्द नभएको अवस्थामा पनि तेल बजार निकट भविष्यमा यस्तै तरिकाले चल्न सक्छ । यस्तो अवस्थामा ट्रम्प प्रशासनले सैद्धान्तिक रूपमा इरानसँगको गतिरोधलाई लामो समयसम्म जारी राख्न सक्छ ।
तर तेल बजारलाई जसोतसो धानिरहेको अस्थायी व्यवस्थाले अन्ततः काम गर्न छाड्ने र विश्वव्यापी तेल भण्डार निर्णायक न्यूनतम स्तरमा पुग्ने डरले अरू विश्लेषकहरूलाई सताइरहेको छ । त्यसपछि ऊर्जाको मूल्य उकालो लाग्नु बाहेकको अरु विकल्प हुने छैन । यस्तो भयो भने चाहिँ यसबाट आइपर्न सक्ने आर्थिक विपत्ति टार्न भएपनि अमेरिकाले बाध्य भएर इरान युद्ध अन्त्य गर्ला कि भन्नेहरु पनि छन् ।
तेलको मूल्य बढ्न अहिले केले रोकिरहेको छ ?
तेल बजारले अहिलेसम्मकै सबैभन्दा ठूलो आपूर्ति धक्कालाई धेरैले कल्पना परेको भन्दा राम्रोसँग थेगिरहेको छ । इरान युद्धका कारण तेलको मूल्य त बढेको छ, तर सन्तोष मान्नु पर्ने कुरा यही छ कि यो अहिलेसम्मकै उच्च स्तरमा पुगेको छैन । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक जेपी मोर्गनकी प्रमुख कमोडिटी विश्लेषक नताशा कानेभाले गत साता प्रकाशित गरेको अनुसन्धान प्रतिवेदन अनुसार यसको तीनवटा प्रमुख कारण छन् ।
पहिलो त बजारले स्ट्रेट अफ होर्मुजलाई छल्न वा त्यही बाटो भएर पनि तेलका ट्याङ्करलाई पार गराउन अनगिन्ती तिगडम गरिरहेको छ साउदी अरबले पाइपलाइनमार्फत दैनिक लाखौँ ब्यारेल तेल इरानको पहुँचबाहिरका बन्दरगाहतर्फ पठाउँदै आएको छ । तर, इरानका हुथी सहयोगीहरूले लाल सागरमा हालै तीव्र पारेको आक्रमणणले यो वैकल्पिक योजनाको व्यवहारिकतामाथि प्रश्न उठाएको छ ।
अमेरिकी सेनाले खाडी राष्ट्रहरूसँग समन्वय गरेर स्टेरेट अफ होर्मुजबाट तेल पार गराउन गोप्य शटल सञ्चालनलाई सुरक्षा दिने प्रयास पनि गरिरहेको छ । अमेरिका, भेनेजुएला, ब्राजिल, गुयाना र क्यानडाले संयुक्त रूपमा दैनिक करिब २० लाख ब्यारेलले उत्पादन बढाएका छन् । ‘तेलल आफ्नो लागि नयाँ बाटो फेला पारेको छ,’ कानेभाले भनिन् ।
दोस्रो, अमेरिका र चीनबाहेक अधिकांश देशले अपेक्षा गरिएभन्दा निकै कम मात्रामा आफ्नो तेल भण्डार प्रयोग गरेका छन् । यसले सरकारहरूले अवस्था निकै गम्भीर बनेमा प्रयोग गर्न सक्ने तेलको सञ्चिति जोगाइराख्न मद्दत गरेको छ । तेस्रो, युद्धका क्रममा विश्वव्यापी तेलको माग करिब ५० लाख ब्यारेलले घटेको छ । विश्वभरि धेरै उपभोक्ताले यात्राका योजना रद्द गरेका छन्, विद्युतीय कार प्रयोग गर्न थालेका छन् वा सार्वजनिक बसमा यात्रा गर्ने क्रम बढाएका छन् ।
केही व्यवसायले कर्मचारीलाई घरबाटै काम गर्न प्रोत्साहित गरेका छन् । चीनले सीमापार बजारमा यति ठूलो मात्रामा विद्युतीय सवारीसाधन निर्यात गरिरहेको छ कि यसले विश्वव्यापी ढुवानी क्षमतामै दबाब सिर्जना गरेको छ । साथै, पश्चिम एशिया, रुस र चीनमा प्रशोधन क्षमताको कमीले तेलको माग घटाएको छ, जसले कच्चा तेलको मूल्यलाई माथि जानबाट रोक्न मद्दत गरेको छ ।
यी सबै कारणहरूले युद्ध चलिरहँदा विश्वले दैनिक रुपमा गुमाइरहेको झन्डै एक करोड ३० लाख ब्यारेल तेलको प्रभावलाई सन्तुलनमा राख्न मद्दत गरिरहेको छ । कानेभाका अनुसार यो नयाँ सन्तुलन लामो समयसम्म कायम रहन सक्छ । बजार केही उच्च मूल्यमा भए पनि सञ्चालनमा छ । युद्ध अनन्त सम्म चलिरहन्छ भन्ने अनुमान जेपी मोर्गनले छैन । तर त्यस्तै अवस्था आयो भने तेलको मूल्य सम्भवतः प्रतिब्यारेल ८७ डलर आसपास स्थिर हुने कानेभाको विश्लेषण छ ।
यो हिजोआजको तेलको मूल्यले कायम गरेको स्तरभन्दा निकै कम हो । युद्ध अन्त्य नै भयो भने चाहिँ तेलको मूल्य अझ घटेर प्रतिब्यारेल ६४ डलर प्रतिब्यारेलमा झर्न सक्ने बैंकको अनुमान छ । र्यापिडान इनर्जी ग्रुपका अध्यक्ष तथा सहसंस्थापक बब म्याकनली भने बढी निराशावादी छन् । यो युद्ध अनन्तः हुने उनको पूर्वानुमान छ । उनले यसलाई अव्यवस्थित ढंगले जसोतसो चलिरहेको अवस्था भएको टिप्पणी गरेका छन् ।
यस्तोमा आगामी वर्ष कच्चा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८९ डलर रहने उनको अनुमान छ । ‘होर्मुज पहिलाको जस्तै गरी अवस्थामा पूरै फर्किने हामी देख्दैनौँ,’ अमेरिकी तत्काली राष्ट्रपति जर्ज डब्ल्यू. बुसका ऊर्जा सल्लाहकारसमेत रहिसकेका म्याकनलीले भने, ‘विश्वकै सबैभन्दा महत्वपूर्ण आपूर्ति क्षेत्रलाई जोखिममा पार्दै अनन्त युद्ध लम्बिँदै जाँदा तेल र ग्यासको मूल्यवृद्धिको क्रम झनै तीव्र हुनेछ,’ चिन्ता व्यक्त गर्दै उनी भन्छन् ।
किन बढ्नेछ तेलको भाउ ?
तेल बजार नयाँ सामान्य अवस्थामा स्थिर भए पनि त्यसलाई धानिरहेको अस्थायी व्यवस्थामा केही कमजोर पक्ष छन्, जुन लामो समयसम्म यसलाई चलाउन खोजिएमा यो नराम्ररी असफल हुन सक्छ । युद्धको असर कम गर्न अमेरिका र चीन आफ्नो तेल भण्डारमा निकै भर परिरहेका छन् । अपेक्षा गरिएभन्दा निकै लामो समयसम्म उनीहरूले यस्तो अवस्था थेग्न सकेका छन् । ओक्लाहोमाको कुशिङस्थित एउटा महत्वपूर्ण भण्डारण केन्द्र जुलाईमा सञ्चालनका लागि आवश्यक न्यूनतम स्तरमा पुगेको थियो ।
त्यस अवस्थामा भौतिक कारणले तेल कम्पनीहरूलाई पाइपलाइनमार्फत कच्चा तेल सजिलै पम्प गरेर प्रशोधन केन्द्रसम्म पु¥याउन कठिन हुन्छ । तर पछिल्ला केही सातामा कुशिङको तेल भण्डार पुनः बढेको छ र जोखिमपूर्ण क्षेत्रभन्दा केही माथि पुगेको छ । चीनले पछिल्ला केही सातामा तेल आयात बढाएको छ, तर युद्धअघि दैनिक आयात हुने परिमाणभन्दा यो अझै लाखौँ ब्यारेल कम छ । चिनियाँ सरकारबाहिरका थोरै व्यक्तिलाई मात्र देशसँग कति तेल भण्डारमा छ भन्ने थाहा छ । तर यो करिब एक अर्ब ब्यारेल आसपास रहेको विश्वास गरिन्छ ।
युद्ध लामो समयसम्म जारी रहेमा भविष्यको कुनै अज्ञात समयमा ती भण्डार समाप्त हुने क्यापिटल इकोनोमिक्सका कमोडिटी अर्थशास्त्री हमाद हुसेन बताउँछन् । त्यसले आपूर्ति र मागबीच चरम असन्तुलन सिर्जना गर्नेछ र तेलको मूल्य निकै माथि पुग्न सक्छ—यही अवस्था युद्धको सुरुवातमा अधिकांश विश्लेषकहरूले हुने अपेक्षा गरेका थिए । तेल भण्डार सुक्दै जाँदा तत्काल मूल्य वृद्धि नहुन सक्छ, तर यसले तेलको मूल्यलाई उल्लेखनीय रूपमा बढी अस्थिर बनाउनेछ ।
वर्तमान अवस्था कायम रहेमा यस्तो अवस्था यस वर्ष नभएर होइन आगामी वर्षको अन्त्यसम्म पनि देखिन सक्ने पिकरिङ इनर्जी पार्टनर्सका संस्थापक तथा प्रमुख लगानी अधिकृत ड्यान पिकरिङले बताए । उनका अनुसार पाइपलाइनका वैकल्पिक व्यवस्था पर्याप्त छिटो निर्माण गर्न सकिँदैन, न त भेनेजुएलाजस्ता नयाँ आपूर्ति स्रोतले सधैँ पर्याप्त क्षतिपूर्ति गर्न सक्छन् । अर्को महत्वपूर्ण पक्ष अमेरिकी सेनाको दीर्घकालीन क्षमता हो ।
‘यो बजारको गुप्त हात होइन । सेनाले जहाजलाई सुरक्षा दिइरहेको छ,’ आरबीसी क्यापिटल मार्केट्समा विश्वव्यापी कमोडिटी व्यवसायको नेतृत्व गर्ने हेलिमा क्रफ्टले भनिन् । पूर्व सीआईए विश्लेषकसमेत रहेकी क्रफ्टले अमेरिकी सेनाको शक्ति असीमित नभएकोमा जोड दिइन् । ‘के हामी सधैंभरि इस्कर्ट सेवामा रहनेछौं ? त्यो त निकै भारी छ । यी महँगो समाधानहरू हुन्,’ उनले भनिन् ।
क्रफ्टका अनुसार युद्ध धुमिल क्षेत्रको द्वन्द्वमा अड्किएको छ, जहाँ कठिन शान्तिका अवधिबीच तनाव बढ्ने अवस्थाहरू देखिन्छन् । उनले सन् २०१९ मा साउदी अरबको तेल क्षेत्रमा भएको ड्रोन आक्रमण दोहोरिनेजस्तो तनाव बढ्ने वास्तविक जोखिमएक प्रमुख बैंकका प्रमुख कार्यकारी अधिकृतले सीएनएनलाई अमेरिका–इरान अझै रहेको बताइन् । उक्त आक्रमणपछि तेलको मूल्य आकाशिएको थियो ।
कति लामो समयसम्म चल्ला युद्ध ?
एक प्रमुख बैंकका प्रमुख कार्यकारी अधिकृतले अमेरिका–इरान द्वन्द्वलाई ‘सायद कहिल्यै अन्त्य नहुने युद्ध’ भनेका छन् । ‘यसैको चिन्ताले म रातभर जागिरहेको छैन, तर हामी त्यसका लागि तयार हुनुपर्छ,’ बैंकका ती सीईओले भने । ‘अनन्त युद्धले सबैलाई सधैँ बेचैन बनाइराख्नेछ । तर एउटा निश्चित बिन्दुपछि भने यो नै अब नयाँ सामान्य अवस्था हो भन्ने महसुस हुन थाल्छ,’ उनले भने । अमेरिकी अधिकारी र अनुसन्धानकर्ताहरू यस्तो अवस्थाका लागि वा कम्तीमा पनि लामो समयसम्म रहने आपूर्ति धक्काका लागि तयारी गरिरहेको देखिन्छ ।
गत साता अमेरिकी ऊर्जा सूचना प्रशासनले होर्मुज हुँदै हुने तेल निर्यात वर्षको बाँकी अवधिभर संकूचित रहने निष्कर्ष निकालेको थियो । एसएन्डपी ग्लोबल इनर्जीले अझ एक कदम अघि बढ्दै एउटा प्रतिवेदनमा पश्चिम एशियाको तेल उत्पादन आगामी वर्षको अन्त्यसम्म पनि युद्धअघिको स्तरमा नफर्कने अपेक्षा गरेको जनाएको छ । ‘बजार पुनः शान्त अवस्थामा फर्किरहेको छैन,’ एसएन्डपीका विश्वव्यापी कच्चा तेल अनुसन्धान प्रमुख जिम बर्कहार्डले भने । बजार समाधानै नभएको द्वन्द्व र निरन्तर कायम रहेको समुद्री जोखिमले परिभाषित गरेको नयाँ सामान्य अवस्थासँग अनुकूलित भइरहेको उनी बताउँछन् ।
