२०८३ भदौ २८ , आइतबार 13, September 2026, Sunday

बाँकेमा दुई हजार ८६१ जनाले पाए नयाँ रोजगारी

बाँके जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्महरूबाट दुई हजार ८६१ जनाले नयाँ रोजगारी पाएका छन् ।

जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०८२–०८३ मा उद्योग तथा वाणिज्य प्रशासनअन्तर्गत दर्ता भएका ६२७ उद्योग र ६२६ वाणिज्य फर्मबाट दुई हजार ८६१ जनाले नयाँ रोजगारी पाएका हुन् ।

घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत मोहन घर्ती मगरका अनुसार एक हजार ६८८ पुरुष र एक हजार १७३ महिलाका लागि रोजगारी सिर्जना भएको हो । यो अवधिमा ४३६ पुरुष र २३७ महिला गरी ६७३ जना नयाँ उद्यमी उत्पादन भएका छन् ।

गत आवमा ६२७ नयाँ उद्योग दर्ता भएसँगै बाँकेमा कुल उद्योग सङ्ख्या १५ हजार ८०७ पुगेको छ । यस अवधिमा एक हजार १०१ उद्योग नवीकरण भएका छन् भने २६५ उद्योग खारेजीमा परेका अधिकृत घर्तिमगरले जानकारी दिए ।

आव २०८१–०८२ मा ६५७ दर्ता, एक हजार ४२ नवीकरण र ३०९ खारेजी भएका थिए । वाणिज्यतर्फ ६२६ नयाँ फर्म दर्ता भई कुल दर्ता सङ्ख्या २१ हजार ९८० पुगेको छ । एक हजार ६८८ फर्म नवीकरण र ३५६ फर्म खारेज भएका निमित्त प्रमुख उद्योग अधिकृत घर्तिमगरले बताए ।

आव २०८१–०८२ मा ७१२ दर्ता, एक हजार ६६१ नवीकरण र ५२७ खारेजी भएका थिए । कार्र्यालयले व्यावसायिक नियमन तथा गुणस्तर कायम राख्न वर्षभरिमा सात पटक बजार अनुगमन र ११ पटक उद्योग निरीक्षण गरेको उनले जानकारी दिए ।

मगरका अनुसार आव २०८२–०८३ मा कार्यालयका लागि विनियोजित कुल बजेट रु तीन करोड तीन लाख ९२ हजार रहेकामा कुल खर्च रु दुई करोड २५ लाख १२ हजार ९५० भएको छ । समग्र रूपमा यस कार्यालयको कुल वित्तीय प्रगति ७४ दशमलव शून्य आठ प्रतिशत हासिल भएको छ ।

गत आर्थिक वर्षमा कुल राजस्व सङ्कलन रु एक करोड ६३ लाख सात हजार ७९५ भएको उद्योग अधिकृत घर्तिमगरले जानकारी दिए । अघिल्लो आवमा रु एक करोड ९७ लाख ३१ हजार ७८५ राजस्व सङ्कलन भएको थियो ।

राजस्व सङ्कलन घट्नुको मुख्य कारण उद्योग तथा वाणिज्यको नयाँ दर्तामा आएको सामान्य शिथिलता, स्थानीय तहमा दर्ता सुरुआत, प्रदेश सरकारबाट भएको छुट सुविधा र खारेजीमा वृद्धि हुनुलगायत रहेका निमित्त प्रमुख उद्योग अधिकृत घर्तिमगरको भनाइ छ ।

प्रकाशित मिति : २०८३ भदौ २८ गते आइतबार