बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । सरकारले पाँच वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिएअनुरुप पछिल्लो समय सिक्टा सिँचाइको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताए ।
बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने यो अवधिमा पूर्वाधार निर्माणतर्फ करिब रु २४ अर्ब खर्च भइसकेको छ ।
मर्मत सम्भारको काम नियमित रुपमा चल्ने भए पनि आयोजना निर्माणको बाँकी काम पाँच वर्षमा सक्ने गरी अहिले काम भइरहेको छ । आर्थिक वर्ष २०६२–०६३ मा सुरु भएको यो आयोजनाअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका अगैयास्थित राप्ती नदीमा ३१७ मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ ।
नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण सुरु गरिएको यो आयोजनाको पश्चिम मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । हाल २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको आयोजना निर्देशक आचार्यले जानकारी दिए ।
विसं २०६४ मा स्वीकृत पहिलो गुरुयोजना अनुसार रु १२ अर्ब ८० करोड लागतमा आव २०७०–०७१ सम्पन्न आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजना निर्माणका क्रममा सरकारले थप नौ हजार हेक्टर क्षेत्रमा नहर बनाउने गरी पूर्वी मूल नहर निर्माण लगायत अन्य संरचना थप गरिएको थियो । आव २०७१–०७२ मा संशोधित स्वीकृत गुरुयोजनाले रु २५ अर्ब दुई करोडमा २०७६–०७७ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको थियो ।
संशोधित गुरुयोजनाको लक्ष्यअनुसार आव २०७६–०७७ मा पनि आयोजनाले पूर्णता नपाएपछि पछिल्लो पटक २०७९ मा स्वीकृत गुरुयोजना अनुसार आयोजनाको सम्पूर्ण काम रु ५२ अर्ब ८९ करोड लागतमा आर्थिक वर्ष २०८९–०९० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी मनोजकुमार साहले बताए । उनका अनुसार आयोजनाको शाखा र प्रशाखा निर्माणको काम धमाधम भइरहेको छ ।
निर्माणका लागि थप ३० वटा बोलपत्र आह्वान भएको छ । आयोजनाअन्तर्गत ४५ किलोमिटर पश्चिम मूल नहर निर्माण भइसकेको छ । यो नहरका सिधनिया, अकलघरुवा र गुरुवागाउँ शाखा नहर पनि सम्पन्न हुने चरणमा छन् । डुडुवा शाखा नहर निर्माण भइरहेको छ । करिब १६ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको डुडुवा शाखा नहर निर्माण लामो समयसम्म अलपत्र परेको थियो ।
ठेकेदार कम्पनी ‘कोस्टल पप्पु जेभी’को विवाद र अदालतमा विचाराधीन मुद्दाका कारण अलपत्र परेको नहर निर्माण गत वर्ष विवाद सल्टाएर नयाँ ठेकेदारमार्फत अगाडि बढाइएको हो । पश्चिम मूल नहरअन्तर्गत अरू थुप्रै उपशाखा र प्रशाखा नहर बनाउन बोलपत्र आह्वान भएको सूचना अधिकारी साहले बताए ।
गत आर्थिक वर्ष २०८२–०८३ मा मात्रै डुडुवा सिँचाइ प्रणालीअन्तर्गत करिब नौ दशमलव पाँच किलोमिटर, पश्चिम नहरतर्फका शाखा, उपशाखा तथा प्रशाखा गरी नौ किलोमिटर, पूर्वी नहरतर्फका शाखा, उपशाखा तथा प्रशाखा गरी नौ दशमलव पाँच किलोमिटर नहर निर्माण, सिञ्चित क्षेत्र बचाउ तथा संरक्षण कार्यअन्तर्गत सात दशमलव पाँच किलोमिटर तटबन्ध निर्माण र पाँच दशमलव पाँच हेक्टर जमिन अधिग्रहण गरिएको छ ।
गत आर्थिक वर्षमा सिक्टा सिँचाइ आयोजनालाई विनियोजन भएको रु एक अर्ब ५७ करोडमध्ये रु एक अर्ब ४१ करोड करिव ८९ प्रतिशत वित्तीय प्रगति हुँदा भौतिक प्रगति ९६ प्रतिशत बढी भएको सूचना अधिकारी साहले जानकारी दिए । आयोजनाको ५३ किलोमिटर पूर्वी मूल नहर निर्माण अधुरै छ ।
पूर्वी मूल नहरअन्तर्गत बाँधदेखि वैशागाउँ हुँदै करिब ३५ किलोमिटरसम्म नहर बनेको छ । तर नरैनापुर गाउँपालिका क्षेत्रमा निर्माण रोकिएको छ । आयोजनाका दुवै मूल नहरअन्तर्गत शाखा, उपशाखा र प्रशाखा नहर निर्माण पूरा नहुँदा किसानले आवश्यक परेका बेला बालिमा सिँचाइ गर्न नपाएको सिक्टा आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताए ।
