२०८३ भदौ २८ , आइतबार 13, September 2026, Sunday

बाँकेमा तीव्र गति र मापसेले बढाउँदै सडक दुर्घटना

बाँकेमा सवारी दुर्घटनाको सङ्ख्या बढ्दै गएपछि दुर्घटना न्यूनीकरणका लागि चालकको व्यवहारदेखि ट्राफिक नियमको पालना कडाइ गर्नुपर्नेमा जोड दिइएको छ । दुर्घटनाको प्रमुख कारणमध्ये सवारी साधनको तीव्र गति मुख्य कारण रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार आर्थिक वर्ष २०८२–०८३ मा जिल्लामा ८१० वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा ६० जनाको मृत्यु भएको थियो भने करिब एक हजार ३०० जना घाइते भएका थिए ।

दुर्घटनाको सूक्ष्म विश्लेषण गर्दा अधिकांश घटनामा तीव्र गतिलाई प्रमुख कारणका रूपमा पाइएको प्रहरी निरीक्षक शाहीले बताए । उनका अनुसार गत आर्थिक वर्षमा तीव्र गतिमा सवारी चलाउने ५८० जना चालकलाई कारबाही गरिएको थियो ।

उनीहरूबाट तीन लाख तीन हजार ५०० रुपैयाँ जरिवानासमेत असुल गरिएको थियो । ‘दुर्घटनाको सङ्ख्या र कारबाहीमा पर्ने चालकको अवस्था हेर्दा तीव्र गति नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ,’ शाहीले भने, ‘त्यसैले गति नियन्त्रणसँगै ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिएका छौँ ।’

चालु आर्थिक वर्षको पहिलो महिनामा पनि बाँकेमा दुर्घटनाको अवस्था चिन्ताजनक देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार साउन महिनामा मात्रै ८४ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १४२ जना घाइते भएका छन् । घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर र ११९ जना सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साउनमा भएका दुर्घटनामध्ये पनि धेरैजसो तीव्र गतिसँग सम्बन्धित छन् । सडकमा गति नियन्त्रण नगर्ने, जोखिमपूर्ण ढङ्गले सवारी चलाउने तथा ट्राफिक नियमको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाइरहेको प्रहरीको निष्कर्ष छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले कारवाहीसँगै सचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिएको जनाएको छ ।

गत आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा करिब एक हजार १०० पटक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । ती कार्यक्रमबाट करिब ९० हजार चालक तथा विद्यार्थी लाभान्वित भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए । बाँकेमा दुर्घटनाको अर्को प्रमुख कारण मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिसमेत रहेको प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्षमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ८६५ जनालाई कारबाही गरिएको थियो । उनीहरूबाट चार लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नागरिक समाजका अगुवाहरूले पनि दुर्घटना न्यूनीकरणका लागि चालकको लापरवाही नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।

अगुवाहरूले नेपालगन्ज र आसपासका क्षेत्रमा तीव्र गतिमा सवारी चलाउने तथा जथाभावी ओभरटेक गर्ने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम बढेको बताए । उनले दुर्घटना नियन्त्रणका लागि चालकलाई तोकिएको गति सीमाभित्र सवारी चलाउन बाध्य पार्ने गरी नियमित अनुगमन तथा चेकजाँच बढाउनुपर्ने बताए ।

सडक सुरक्षासम्बन्धी जनचेतना अभियानलाई पनि निरन्तरता दिनुपर्ने उनको भनाइ छ । बाँकेमा बढ्दो सवारी चापसँगै दुर्घटनाको जोखिमसमेत बढिरहेका बेला केवल कारबाही गरेर मात्र समस्या समाधान नहुने सरोकारवालाहरूको भनाइ छ । चालकको जिम्मेवार व्यवहार, प्रभावकारी ट्राफिक व्यवस्थापन, नियमित निगरानी र सडक प्रयोगकर्तामा सुरक्षा सचेतना बढाउन सके दुर्घटनाबाट हुने मानवीय क्षति घटाउन सकिने उनीहरूको निष्कर्ष छ ।

प्रकाशित मिति : २०८३ भदौ २८ गते आइतबार