२०८३ भदौ २८ , आइतबार 13, September 2026, Sunday

तीन दशकदेखिका आत्मीय साथी, डीएनए परीक्षणपछि दिदीबहिनी

तीन दशकसम्म मिना गेल्टिंक र मिनाल टिजेनले एकअर्काका लागि एकदम असल साथी थिए । किशोरावस्थामै भेटिएका उनीहरूले सुख–दुःखका कुरा बाँडे, एकअर्कालाई आत्मिय ढंगले संवोधन गरे । अनि वर्षौंसम्म एकअर्कालाई पत्र लेखिरहे । भारतीय मूलका मिना गेल्टिंक र मिनाल टिजेन नेदरल्यान्ड्समा छुट्टाछुट्टै परिवारमा हुर्किएका थिए ।

उनीहरू संयोगले भेटिएर साथी बनेका थिए । तर, तीन दशकपछि एउटा डीएनए परीक्षणले उनीहरूको जीवनको सबैभन्दा ठूलो रहस्य खोलिदियो । वास्तवमा उनीहरू एकै कोखबाट जन्मिएका दिदिबहिनी थिए । अहिले करिब तीन दशकसम्म असल साथीका रूपमा रहेका दुई भारतीय मूलका महिलाले आफूहरू वास्तवमा जैविक दिदीबहिनी भएको थाहा पाएका छन् ।

मिना ४३ वर्षकी छन् भने मिनाल ४४ वर्षकी । दुवैको जन्म भारतको मुम्बईमा सन् १९८० को दशकको सुरुवाततिर भएको थियो । उनीहरूलाई जन्मिएको केही महिनामै मुम्बईका दुई फरक अनाथालयबाट छुट्टाछुट्टैडच परिवारले धर्मसन्तानका रूपमा लगेका थिए । तर संयोग यस्तो रह्यो कि उनीहरू नेदरल्यान्ड्समै एकअर्काको नजिक हुर्किए ।

किशोरावस्थामै देखिएको अनौठो समानता

भारतबाट धर्मसन्तानका रूपमा ल्याइएका बालबालिकाका लागि उनीहरूका धर्मसन्तानसम्बन्धी संस्थाले कार्यक्रम आयोजना गरेको थियो । त्यही भेटमा दुवैका साथीहरूले उनीहरूबीचको असाधारण समानता देखे । उनीहरूको अनुहार, नाक, हाँसो र हाउभाउ निकै मिल्दोजुल्दो थियो । मिना सुनाउँछिन्, ‘उनीहरूले हामीलाई ऐनामा हेर्न भने । मैले हेर्दा उनको नाक मेरो जस्तै रहेछ । हाम्रो हाँसो पनि उस्तै थियो ।’ पहिलो भेटमै उनीहरूबीच गहिरो आत्मीयता बनेको थियो ।

अर्को दिन उनीहरूले एकअर्काको फोन नम्बर र ठेगाना लिए र नियमित सम्पर्कमा रहने वाचा गरे । त्यसपछि उनीहरूले वर्षौंसम्म एकअर्कालाई पत्र लेखिरहे । उनीहरू एकअर्कालाई ‘सिस’ भनेर सम्बोधन गर्थे । तर त्यतिबेला उनीहरूबीच कुनै रक्तसम्बन्ध हुनसक्ने कल्पना भने थिएन । उनीहरू पत्रमार्फत विद्यालय, साथी, प्रेम, घुमघाम, नाचगान र खेलकुदका कुरा गर्थे । दुवैलाई ‘ब्याकस्ट्रीट ब्वाइज’ समूहका गीत पनि मन पर्थे ।

१५ वर्षअघि छुटेको सम्पर्क

समय बित्दै जाँदा उनीहरूको जीवन फरक दिशामा गयो । करिब १५ वर्षअघि मिनाल फ्रान्स सरिन् । मिना भने पहिलो सन्तान जन्मिएपछि परिवार र बच्चाको हेरचाहमा व्यस्त भइन् । त्यसपछि उनीहरूको सम्पर्क टुट्यो । तर उनीहरूको कथा त्यहीँ सकिएको थिएन ।

सन् २०१७ मा मिना भारतबाट धर्मसन्तान बनाइएका व्यक्तिहरूको एउटा कार्यक्रममा सहभागी भइन् । त्यहाँ उनले डीएनए परीक्षणबारे जानकारी पाइन् र आफू पनि परीक्षण गर्न तयार भइन् । उनले डीएनए परीक्षण गरे पनि लामो समयसम्म कुनै महत्वपूर्ण ‘म्याच’ भेटिएन । यसै वर्ष फोनको स्टोरेज खाली गर्नुपर्नेभएपछि उनले परीक्षणसम्बन्धी एपसमेत हटाइन् ।

फेसबुकको एउटा सन्देशले बदलिदियो जीवन

२० मेमा मिनालाई अचानक मिनालको फेसबुक सन्देश आयो । ‘मलाई सम्झन्छौ ?’ भन्दै मिनालले आफ्नो डीएनए परीक्षणको नतिजाको स्क्रिनसट पठाएकी थिइन् । मिनालले अप्रिलमा नेदरल्यान्ड्स आएका बेला डीएनए परीक्षण गरेकी थिइन् । सन्देश पाएपछि मिनाले फेरि डीएनए एप डाउनलोड गरिन् ।

नतिजा हेर्न उनी यति उत्साहित र तनावमा थिइन् कि धेरैपटक गलत पासवर्ड हालेपछि मात्र एपमा प्रवेश गर्न सकिन् । त्यहाँ देखिएको परिणामले वर्षौं पुरानो रहस्य एकैपटक खोलिदियो । उनीहरूबीच १०० प्रतिशत डिएनए म्याच भएको थियो । परीक्षणअनुसार उनीहरू जैविक दिदीबहिनी थिए र उनीहरूको जैविक आमा तथा बुबा दुवै एउटै थिए ।

‘मसँग ‘फुल सिस्टर’ अर्थात् पूर्ण जैविक बहिनी भएको देखियो,’ मिनाले भनेकी छन्, ‘मलाई झट्का लागेजस्तो भयो । म रोएँ । मिनाल मेरो जीवनमा लामो समयदेखि हराइरहेको पजलको टुक्रा रहेछिन् ।’ उनीहरू किशोरावस्थादेखि एकअर्कालाई ‘सिस्’ भन्दै आएका थिए । डीएनए परीक्षणले उनीहरूको त्यही अनुभूतिलाई प्रमाणित गरिदियो ।

‘हामी दिदिबहिनी थियौँ, तर थाहा थिएन’

मिनालले पनि सुरुमा डीएनए नतिजा आफ्नो पुरानो साथी मिनासँग जोड्न सकेकी थिइनन् । सामाजिक सञ्जालमा मिनाका तस्बिर हेरेपछि मात्र उनलाई वास्तविकता बोध भयो । हामी दिदिबहिनी बन्नुअघि नै साथी थियौँ । वास्तवमा हामी सुरुदेखि नै दिदिबहिनी थियौँ, तर हामीलाई थाहा थिएन ।’

करिब तीन दशकपछि गत अगस्टमा उनीहरूले पहिलोपटक दिदीबहिनीका रूपमा भेट गरे । उनीहरूको पुनर्मिलन आँसु, अँगालो र हाँसोले भरिएको थियो । मिनाका लागि त्यो भेट ‘घर फर्किएजस्तो’ भएको थियो । ‘हामी दुवैको मनमा वर्षौंदेखि ठूलो खालीपन थियो । अहिले त्यो पूरा भएको महसुस हुन्छ,’ उनले भनेकी छन् ।

एउटै हाउभाउ, एउटै बोल्ने शैली

डीएनए परीक्षणपछि उनीहरूको समानता झन् अर्थपूर्ण लाग्न थालेको छ । उनीहरूका परिवारका सदस्यहरूले पनि दुवैको बोल्ने तरिका, टाउको चलाउने शैली, हिँडाइ र वाक्य पूरा गर्नेतरिका समेत उस्तै रहेको बताउँछन् । मे महिनादेखि उनीहरू लगभग हरेक दुई दिनमा कुराकानी गरिरहेका छन् ।

उनीहरूले एकअर्काका जीवनसाथी, छोराछोरी, दाजुभाइ तथा अभिभावकसँग समेत भेट गरिसकेका छन् । कहिलेकाहीँ दुई घण्टासम्म कुराकानी गर्दा समय बितेको समेत पत्तो नहुने मिना बताउँछिन् । मिनाका तीन सन्तान छन् । उनका बुबाको केही वर्षअघि निधन भइसकेको छ भने आमा अहिले पनि उनी हुर्किएको नेदरल्यान्ड्सको गाउँमै बस्छिन् ।

मिनाले सन् २००३ मा १९ वर्षको उमेरमा आफ्ना धर्मसन्तान अभिभावक र गोवाबाट धर्मसन्तान बनाइएका भाइसँगै मुम्बईस्थित आफूलाई राखिएको अनाथालय पुगेकी थिइन् । आफ्नो जैविक परिवारबारे जानकारी खोज्न दुई साता अभिलेख हेरे पनि अनाथालयले उनका जैविक आमाबुबाबारे कुनै विवरण नदिएको उनले बताएकी

अब सँगै मुम्बई जाने चाहना

वर्षौंसम्म आफूलाई नजिकको साथी ठानेका दुई महिला अहिले आफ्नो साझा जन्मभूमि भारत फर्किने योजनामा छन् । उनीहरू सँगै मुम्बई पुगेर आफूहरूको जीवन सुरु भएको ठाउँका सडकमा हिँड्न चाहन्छन् । मिनाका अनुसार जीवनका कठिन क्षणहरूमा उनीहरू एकअर्काको साथ हुन सकेनन् भन्नेकुराको केही दुःख पनि छ ।

‘हामी दुवैले कहिलेकाहीँ निकै एक्लो महसुस गरेका थियौँ । मैले बुबा गुमाउँदा वा जीवनमा दुःखद समय आउँदा मिनाल साथमा भएको भए हामीले दुःख बाँड्न सक्थ्यौँ, एकअर्कालाई सहयोग गर्न सक्थ्यौँ,’ उनले भनेकी छन् । तीन दशकअघि संयोगले भेटिएका दुई किशोरीको मित्रता अन्ततः डीएनए परीक्षणबाट रक्तसम्बन्धमा परिणत भएको छ । उनीहरूको कथा अहिले एउटा असाधारण संयोगको मात्र कथा नभई मानवीय सम्बन्ध, अपनत्व र आफ्नो जैविक पहिचान खोज्ने यात्राको एक उदाहरण बनेको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८३ भदौ २८ गते आइतबार