२०८३ वैशाख २९ , मंगलबार 12, May 2026, Tuesday

कोहलपुरमा होल्डिङ सेन्टरका सुकुम्बासीको विचल्ली, ‘खाना नहुँदा भोकभोकै’

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख २९ गते मंगलबार

कोहलपुरको नयाँ बसपार्कस्थित टर्मिनल भवनको तेस्रो तलामा आइतबार दिउँसो ३३ वर्षीय शक्तिमान घर्तीमगर ओछ्यानमै थलिएका थिए । शरीर कमजोर देखिन्थ्यो, अनुहारमा चिन्ता झल्किन्थ्यो । नजिकै उनकी श्रीमती भूमिसरा घर्तीमगर ११ महिनाकी बालिकालाई काखमा च्यापेर ल्याइएका सामान मिलाउँदै थिइन् । ११ वर्षीय छोरा भने अन्य बालबालिकासँग भवनको कुनातिर खेलिरहेका थिए ।

शनिबार मात्रै डुडुवा क्षेत्रको सुकुम्बासी बस्ती खाली गराइएपछि उनीहरू नगरपालिकाले व्यवस्था गरेको होल्डिङ सेन्टरमा आइपुगेका हुन् । घर छाड्ने बेला बोकेर ल्याएको थोरै चामल र खाद्यान्न नै अहिले उनीहरूको सहारा बन्यो । शनिबार साँझ, आइतबार बिहान र साँझ खाँदा अब मुस्किलले एक–दुई छाक पुग्ने अन्न बाँकी छ । त्यसपछि के खाने भन्ने चिन्ता उनीहरूको आँखामा प्रस्ट देखिन्छ ।

‘उहाँ (श्रीमान्) बिरामी हुनुहुन्छ, काममा जान सक्नुहुन्न,’ भूमिसराले भनिन्, ‘म बच्चा स्याहार्नै व्यस्त छुँ । अब खाद्यान्न सकिएपछि के गर्ने थाहा छैन । हाम्रो पीडा आर्थिक अभावको कथा मात्र होइन । निरन्तरको मानसिक तनाव र असुरक्षाको पनि छ ।’ चार वर्षदेखि शक्तिमान सुगर रोगबाट पीडित छन् । सात वर्षअघि एक सन्तान डुबेर मृत्यु भएपछि परिवार अझै मानसिक आघातबाट बाहिर निस्किन सकेको छैन ।

त्यही पीडाबीच आठ महिनाअघि मात्रै उनीहरूले नयाँ बसोबासको खोजी गरेका थिए । अहिले फेरि विस्थापनको अर्को चोट आइपरेको छ । नयाँ बसपार्कको टर्मिनल भवन अहिले अस्थायी आश्रयस्थल बनेको छ । पहिलो तलामा ६७ जना र तेस्रो तलामा ४८ जना बसिरहेका छन् । तर, भवनभित्र छिर्दा सबैभन्दा बढी सुनिने शब्द हो, ‘खाना’ । शान्तिनगरबाट आएकी ३३ वर्षीया राधा गिरीको कथा पनि फरक छैन ।

‘हामीलाई सधैँका लागि सुकुम्बासी भएर बस्न मन छैन,’ उनले भनिन्, ‘तर अहिले खाना खाने समस्या भयो । हिजो साँझ पनि राम्रोसँग खान पाएनौं ।’ बस्ती खाली गर्ने त्रासले उनी हप्ता दिनदेखि ज्यालादारी काममा जान सकेकी छैनिन् । ‘सबै दिन काम पाइँदैन । पाए पनि महिलालाई कम ज्याला दिन्छन्,’ उनले भनिन्, ‘हप्ता दिन काममा जान नपाउँदा पैसा पनि छैन, खाद्यान्न पनि सकियो ।’ राधाको परिवारसँग एक किलो चामल मात्रै बाँकी छ ।

उनका छोरा कक्षा ८ मा पढ्छन् । विद्यालयको पढाइ खर्च धान्न हम्मेहम्मे भएको छ । होल्डिङ सेन्टरमा वृद्धवृद्धाको अवस्था झन् कठिन छ । शान्तिनगरबाटै शनिबार आइपुगेकी ७८ वर्षीया खगिसरा गिरी भवनको एक कुनामा चुपचाप बसिरहेकी थिइन् । दम, प्रेसर र सुगरकी बिरामी उनीसँग अहिले न औषधि किन्ने पैसा छ, न खान अन्न । डेढ वर्षअघि श्रीमान् मोति गिरीको मृत्यु भएपछि उनी छोराको सहारामा थिइन् । तर छोरा आफैँ मानसिक समस्याबाट पीडित छन् ।

‘शनिबार आधा किलो चामल ल्याएर दुई छाक टारेँ,’ उनले सुनाइन्, ‘अब न पैसा छ, न चामल ।’ जुम्लाबाट वर्षौंदेखि यहाँ बस्दै आएकी कल्पना कामी पनि अहिले होल्डिङ सेन्टरकै भीडमा छिन् । शान्तिनगरबाट आएकी झुक्री थरुनीलाई यहाँ आएको तीन दिन भयो । उनी भन्छिन्, ‘आफन्तले ल्याइदिएका सामानले अहिलेसम्म गुजारा चलिरहेको छ, तर अब कति दिन पुग्ला ?’ होल्डिङ सेन्टरभित्र कतै साना बालबालिका खेलिरहेका छन्, कतै वृद्धवृद्धा चुपचाप भित्तामा अडेस लागेर बसेका छन् ।

कसैले सिरानीमुनि चामलको सानो पोको लुकाएका छन् । नगरपालिकाले सुकुम्बासी बस्ती हटाएर वास्तविक भूमिहीन र सुकुम्बासीलाई अस्थायी रूपमा राख्न होल्डिङ सेन्टरको व्यवस्था गरेको छ । यहाँ पानी, शौचालय, सरसफाइ कर्मचारी र उपचारका लागि मेडिकल टोली खटाइएको छ । बिरामीको सामान्य उपचार भइरहेको छ । तर, खाद्यान्न व्यवस्थापनको विषय भने अझै अन्योलमै छ ।

होल्डिङ सेन्टर व्यवस्थापन संयोजक नरेश वान्तावा राईका अनुसार अहिले तत्कालका लागि आधारभूत व्यवस्थापन गरिएको भए पनि खाद्यान्न उपलब्ध गराउने निर्णय भएको छैन । ‘पानी, शौचालय, सरसफाइ र मेडिकल टोलीको व्यवस्था गरेका छौं,’ उनले भने, ‘तर खाद्यान्नको विषयमा कार्यपालिका बैठकले निर्णय गर्नुपर्ने हुन सक्छ । अहिले तत्काल त्यस्तो व्यवस्था छैन ।’

नगरपालिकाको यो अन्योलबीच होल्डिङ सेन्टरमा बसेका परिवारहरू भोकसँग जुधिरहेका छन् । सार्वजनिक जग्गा खाली गराउने सरकारी अभियानले उनीहरूलाई छानोमुनि त ल्यायो, तर भान्सामा अन्न राख्न सकेन । वृद्धवृद्धालाई औषधि चाहिएको छ, बिरामीलाई खाना चाहिएको छ, आमालाई बच्चाका लागि दूध चाहिएको छ । तर, भवनभित्र अहिले सबैभन्दा धेरै अभाव अन्नकै छ । छानोको व्यवस्था राज्यले गरिदिएको छ, तर पेटको जिम्मेवारी कसले लिने भन्ने प्रश्न अझै उत्तरविहीन छ ।

प्रकाशित मिति : २०८३ वैशाख २९ गते मंगलबार