यसको विशेष सुगन्धदेखि यसले उत्सर्जन गर्ने नेगेटिभ आयनसम्म, वर्षाले हाम्रो शरीरका लागि विशेषगरी हाम्रो मुडका लागि केही रोचक फाइदाहरू ल्याउँछ । कनेक्टिकटको न्यू मिलफोर्डमा लगातार छैटौँ दिन तापक्रम ३८ डिग्री सेल्सियस नाघेको थियो, जब आकाश एक डरलाग्दो गाढा रातो रङमा बदलियो । म एउटा आउटडोर थिएटर कार्यशालाको नेतृत्व गर्दै थिएँ, र मैले देखेँ कि शिविरमा सहभागीहरू टाउकोमाथि आइरहेको लामो डरलाग्दो बादललाई हेरिरहेका थिए । त्यसपछि मेघगर्जनले जमिन थर्कायो, र चट्याङ आकाशमा एउटा बाङ्गो–टिङ्गो जालो जस्तै फैलियो ।
हामीले पानी महसुस गर्नुअघि यसको आवाज सुन्यौँ, अनि अचानक हामी भारी वर्षाको भेलमा निथ्रुक्कै भयौँ । कसैले कसैको कुरा सुन्न सक्ने अवस्था थिएन, त्यसैले मैले लुगा राख्ने झोलाहरू भएको नजिकैको एउटा छाना भएको मञ्चतर्फ इसारा गरेँ, र म लगायत मेरा विद्यार्थीहरू त्यतै दौडियौँ । निथ्रुक्क भिजेर हाँस्दै, हामी लुगाको थुप्रोमा लड्यौं र बाहिर आँधी चलिरहेको हेर्यौँ । करिब ३० मिनेटपछि आकाश खुल्यो, र हावा आश्चर्यजनक रूपमा सफा र चिसो महसुस भयो । वर्षाको कडा र विशिष्ट सुगन्धले वरपरको वातावरण ढाकेको थियो । जब हामी रिहर्सलका लागि फर्कियौँ, घाँस र रूखहरू कता–कता हरिया र स्वस्थ देखिन्थे ।
सबैजना हलुका महसुस गरिरहेका थिए, सजिलै मुस्कुराइरहेका थिए, र मलाई मेरो दिमागको बोझ हटेर गएजस्तो लाग्यो । के यो तातो हावाको अन्त्य भएकोले गर्दा थियो वा ओत लाग्न दौडिँदा बढेको एड्रेनालिनका कारण थियो, वा हाम्रो सामूहिक रूपमा राम्रो भएको मुडमा वर्षाको केही हात थियो ? वर्षाले मुड सुधार्न सक्ने क्षमताका तत्त्वहरूको दशकौँको अध्ययनपछि, वैज्ञानिकहरूले यसलाई समर्थन गर्ने केही राम्रा प्रमाणहरू फेला पारेका छन् । र यो वर्षाको एक मात्र फाइदा होइनः अनुसन्धानले देखाउँछ कि वर्षाले हावाबाट हानिकारक पदार्थहरू हटाउँछ, जबकि यसको चिन्न सकिने सुगन्धले हाम्रो स्मरणशक्तिसमेत बढाउन सक्छ ।
सेरोटोनिनमा वृद्धि
यसको मुख्य कारण वर्षाले हावामा नेगेटिभ आयन (अतिरिक्त इलेक्ट्रोन भएका अक्सिजनका अणुहरू) उत्सर्जन गर्नु हुन सक्छ, जुन पानीका थोपाहरू एकआपसमा ठोक्किँदा वा कुनै सतहमा ठोक्किएर फुट्दा बन्छन् । उच्च स्तरमा, यिनीहरूले मस्तिष्कमा सेरोटोनिन र अल्फा तरंगहरू बढाउँछन् जसले मानिसलाई थप खुसी र शान्त अवस्थामा पुर्याउँछ भनी चिनिन्छ । जब वर्षाका थोपाहरू जमिनमा ठोक्किन्छन्, तिनीहरू छरपस्टिएर हावामा नेगेटिभ आयनहरू उत्सर्जन गर्न सक्छन्, यस प्रक्रियालाई ‘लेनार्ड प्रभाव’ भनिन्छ ।
त्यसैले यदि तपाईं सेरोटोनिन बढाउने नेगेटिभ आयनहरूको ठूलो मात्रा प्राप्त गर्ने आशामा हुनुहुन्छ भने, ठुलो वर्षामा हिँड्ने प्रयास गर्नुहोस् । तर सुरक्षाको लागि, यदि तपाईंले चट्याङ देख्नुभयो भने भित्रै बस्नुहोस् । केही वैज्ञानिकहरूको विश्वास छ, यी सकारात्मक प्रभावहरू नेगेटिभ आयनहरूले रगतमा अक्सिजनको स्तर बढाउने भएकोले हुन सक्छ, जसको परिणाम स्वरूप कडा व्यायाम गर्दा जस्तै मुडमा सुधार आउँछ । यद्यपि, यी प्रभावहरू उत्पादन गर्न ठ्याक्कै कुन संयन्त्रले काम गरिरहेको छ भनेर व्याख्या गर्न अझै कुनै ठोस प्रमाण भने छैन ।
अमेरिकाको पेन्सिलभेनियास्थित मोनेल केमिकल सेन्सेस सेन्टरकी कग्निटिभ साइन्टिस्ट पाम डाल्टनका अनुसार नेगेटिभ आयनले मुडका साथै थकान, कार्डियोभास्कुलर स्थिति र रक्तचापमा कसरी प्रभाव पार्छ भन्ने कुरा अझै राम्ररी बुझिएको छैन । उनी भन्छिन्, ‘यो चाखलाग्दो भए तापनि, यसका शारीरिक फाइदाहरूबारे धेरै सहमति छैन, र नेगेटिभ आयनहरूले यी प्रभावहरू कसरी ल्याउँछन् भन्ने सम्भावित संयन्त्रहरूको बारेमा अझ कमै मात्र बुझिएको छ ।’
मुडमा नेगेटिभ आयनहरूको प्रभावको अध्ययन सन् १९५० को दशकमा सुरु भएको थियो, यद्यपि १९९० को दशकमा नेगेटिभ आयनहरू अधिक कुशलतापूर्वक उत्पादन गर्ने उच्च–भोल्टेजका ‘आयोनाइजर’हरू उपलब्ध नहुँदासम्म परिणामहरू निष्कर्षविहीन थिए । सन् १९९५ को एउटा उल्लेखनीय अध्ययनमा, अनुसन्धानकर्ताहरूले मौसमी भावनात्मक विकार भएका सहभागीहरू, जसलाई उच्च–भोल्टेज आयोनाइजरहरूसँग दैनिक सेसनहरू दिइएको थियो, उनीहरूमा कम–आउटपुट उपचार दिइएकाहरूभन्दा लक्षणहरूमा धेरै कमी आउने सम्भावना बढी रहेको फेला पारे ।
कोलम्बिया विश्वविद्यालयका प्राध्यापक माइकल टेहान, जसले उक्त अध्ययनको नेतृत्व गरेका थिए, उनका अनुसार भारी वर्षाले उनको टोलीले प्रयोग गरेको उच्च–भोल्टेज आयोनाइजर जस्तै स्तरमा नेगेटिभ आयनहरू उत्पादन गर्छ । तर उनी यो पनि बताउँछन् कि अहिलेसम्म कुनै पनि अध्ययनले यसलाई प्रत्यक्ष रूपमा प्रमाणित गरेको छैन, न त वर्षामा बिताएको समयलाई मुड परिवर्तनसँग प्रत्यक्ष रूपमा जोडेको छ ।
सफा हावा
वर्षाका नेगेटिभ आयनहरूले हावाबाट प्रदूषण र एलर्जी गराउने जस्ता कणहरू हटाएर सास फेर्न सजिलो बनाउने पनि देखिन्छ । यसले मुड र स्वास्थ्यमा पनि प्रभाव पार्न सक्छः किनभने खराब वायुको गुणस्तर बढेको चिन्ता र गम्भीर मानसिक स्वास्थ्य विकारहरू विकास हुने जोखिमसँग सम्बन्धित छ, त्यसैले सफा हावाले यसको ठीक विपरीत काम गर्छ भन्नु तर्कसंगत हुन्छ । डाल्टन भन्छिन्, ‘त्यहाँ पर्याप्त प्रमाणहरू छन् कि नेगेटिभ आयनहरूले हावाबाट धुलो, ब्याक्टेरिया, एलर्जी गराउने तत्वहरू र अन्य कणहरू हटाउन सक्छन्, जसले धेरैको श्वासप्रश्वासको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ ।’
करिब एक दशकअघिसम्म नेगेटिभ आयनहरू हावा सफा गर्न कति सिपालु हुन्छन् भन्ने कुरा त्यति स्पष्ट थिएन । सन् २०१५ को एउटा अध्ययनमा, अनुसन्धानकर्ताहरूले पानीको थोपा उत्पन्न गर्ने एउटा सिसाको चेम्बरमा विभिन्न प्रकारका कणहरू पम्प गरेर यस क्षमतालाई सानो रूपमा दोहो¥याए । पानीका थोपाहरू वाष्पीकरण भएपछि, अनुसन्धानकर्ताहरूले बाँकी रहेका कणहरू जम्मा गरे र पानीका थोपाहरूले वास्तवमा तिनीहरूलाई आकर्षित गरेका थिए कि थिएनन् भनेर निर्धारण गर्न तिनीहरूको स्थान नोट गरे । तिनीहरूले साना पानीका थोपाहरू यी हावामा उड्ने कणहरूलाई आकर्षित गर्न विशेष रूपमा सिपालु भएको पाए ।
उक्त अध्ययनका सह–लेखक तथा अमेरिकाको इन्डियानास्थित पड्र्यु युनिभर्सिटीका पृथ्वी, वायुमण्डलीय र ग्रहीय विज्ञानका प्राध्यापक डान सिज्को भन्छन्, ‘जब वर्षाका थोपाहरू जमिनमा खस्छन्, तिनीहरूले अनिवार्य रूपमा आफ्नो बाटोमा पर्ने हावाका साना कणहरूलाई बढारेर लैजान्छन् ।’ पानीको थोपाभित्रको विद्युतीय चार्जले यी कणहरूका लागि चुम्बकको रूपमा काम गर्छ, जसको परिणामस्वरूप ‘कोगुलेसन’ भनेर चिनिने ‘बढार्ने’ प्रक्रिया हुन्छ । सिज्को यसलाई निर्माण कार्य गर्ने कामदारहरूले धुलो उड्ने ठाउँमा पानी छर्किंदा के हुन्छ भन्नेसँग तुलना गर्छन्, हावामा तैरिरहेको धुलो तल जमिनमा धकेलिन्छ, जसले गर्दा हावा सफा हुन्छ । वर्षाको तीव्रताले पनि फरक पार्छ ।
सिज्को भन्छन्, ‘जति भारी वर्षा हुन्छ, वायुमण्डलमा त्यति नै बढी सफाइको प्रभाव पाउनुहुनेछ ।’ यसमा हावामा हुने पोजिटिभ आयनहरूको मात्रा घटाउने कुरा पनि पर्छ, जुन चिडचिडापन र बढेको चिन्तासँग सम्बन्धित छन् । त्यसैले अर्को पटक ठूलो वर्षा हुँदा, पानी रोकिने बित्तिकै आफ्ना झ्यालहरू खोल्ने विचार गर्नुहोस् । तपाईंले हावा सफा भएको महसुस गर्नुहुनेछ, र यदि यो कोल्ड फ्रन्ट (जसरी भारी वर्षा प्रायः आउँछ) को पछाडि आएको हो भने, सँगै आउने हावाले त्यो सफा हावालाई तपाईंको घरभित्र पठाएर वायुको गुणस्तर सुधार्न सक्छ ।
स्मरणशक्ति बढाउने सुगन्ध
वर्षाको विशिष्ट सुगन्धले मनोवैज्ञानिक प्रभाव पनि पार्न सक्छ । ‘पेट्राइकोर’ को रूपमा चिनिने यो गन्ध आँधीपछि जमिनबाट उठ्छ र यसलाई प्रायः कडा र माटोको जस्तो, तर कता–कता सफा भनेर वर्णन गरिन्छ । बेलायतको क्यु गार्डेनमा वनस्पति र फङ्गल गुणहरूको कामको नेतृत्व गर्ने युनिभर्सिटी अफ ग्रीनविचका वनस्पति रसायनशास्त्रका प्राध्यापक फिल स्टिभेन्सन भन्छन्, ‘जब वर्षाले जमिनबाट एरोसोलहरू उत्सर्जन गर्छ, तब पेट्राइकोर उत्पन्न हुन्छ । सुख्खा मौसममा, बोटबिरुवा, जनावर र माटोबाट निस्कने जैविक अणुहरू सतहहरूमा जम्मा हुन्छन् । जब पानीका थोपाहरू ठोक्किन्छन्, यी अणुहरू – वाष्पशील वनस्पतिका तेलहरूसहित – हावामा उड्ने कणहरूमा टुक्रिन्छन् ।’
यो सफा सुगन्ध ओजोनको कारणले भएको मानिन्छ, जसलाई वर्षापछिको आँधीको हावाले पृथ्वीमा तल तान्न सक्छ । यो गन्धको अर्को भाग जिओस्मिनबाट आउँछ, जुन माटोमा हुने ‘एक्टिनोमाइसेट’ ब्याक्टेरियाले बीजाणुहरू बनाउँदा उत्पादन गर्ने एक रासायनिक यौगिक हो । स्टिभेन्सन भन्छन्, ‘वर्षाले यी बीजाणुहरू र जिओस्मिनलाई स्वतन्त्र गर्छ, जसले परिचित ‘खडेरीपछिको पहिलो वर्षा’ को सुगन्ध सिर्जना गर्छ, जुन न्यानो मौसममा सबैभन्दा बढी महसुस हुन्छ ।’ यसले मानिसहरू यसप्रति किन यतिधेरै संवेदनशील हुन्छन् भन्ने कुराको व्याख्या गर्न सक्छ, सार्क माछा रगतप्रति जति संवेदनशील हुन्छ, त्यो भन्दा बढी । वैज्ञानिकहरू अनुमान गर्छन् कि पेट्राइकोरले ताजा पानीको नयाँ प्रचुरतालाई जनाउँछ भन्ने कुरा बुझ्न हामी विकसित भएका छौं, जसले सायद हाम्रा पुर्खाहरूलाई सुरक्षित र शान्त महसुस गर्न मद्दत गर्यो ।
यी सुगन्धहरूले मस्तिष्कमा अल्फा र बिटा तरंग गतिविधिमा स्पष्ट परिवर्तनहरू ल्याउने देखाएको छ जुन शान्त र बढी आरामदायी अवस्थासँग जोडिएको छ । र यसको अनौठो सुगन्ध र यसले वातावरणलाई कसरी नाटकीय रूपमा परिवर्तन गर्छ भन्ने कुरालाई धन्यवाद, वर्षा विगतको याद (नोस्टाल्जिया) जगाउने एक शक्तिशाली माध्यम पनि हुन सक्छ । क्याम्पमा मैले आँधीको अनुभव गरेको २० वर्षभन्दा बढी भइसक्यो, तर हरेक पटक पानी पर्दा, मेरो दिमागले आश्चर्यजनक स्पष्टताका साथ त्यो दिनको तस्बिर कोर्छ । सुगन्धको मनोवैज्ञानिक महत्त्वबारे विस्तृत रूपमा अध्ययन गरेकी डाल्टन भन्छिन्, ‘आउँदै गरेको वर्षाको सुगन्ध वा त्यसपछिको अवस्था जस्तो अनुभव एउटा पृष्ठभूमि वा सन्दर्भ बन्न सक्छ जुन हाम्रा धेरै फरक ठाउँ वा भावनाहरूका सम्झनाहरूसँग जोडिन्छ ।’
उनी भन्छिन्, ‘कुनै पनि सुगन्धले एमिग्डालालाई सक्रिय गर्न सक्छ, जुन दिमागको त्यो भाग हो जसले भावनाहरू र भावनात्मक रूपमा महत्त्वपूर्ण सम्झनाहरूलाई प्रशोधन गर्छ । हाम्रो भावनात्मक केन्द्रसँगको त्यो सम्बन्धकै कारणले सुगन्धसँग जोडिएका सम्झनाहरू दिमागमा टाँसिने र जीवन्त रहने गर्छन् । त्यसैले तपाईं वर्षाजस्तो सुगन्धलाई राम्रो वा नराम्रो जसरी बुझ्नुहुन्छ भन्ने कुराले फरक पार्दैन; तपाईंले त्यो सुगन्ध कुन सन्दर्भमा अनुभव गर्नुहुन्छ भन्ने कुराले यसलाई यादगार बनाउँछ ।’ त्यसैले अर्को पटक पानी पर्दा खुला झ्यालबाट वा वर्षापछिको हिँडाइको क्रममा गहिरो सास लिएर सुगन्ध लिनुहोस् र हेर्नुहोस् लामो समय बितिसकेका पलहरूका कुन विवरणहरू सतहमा आउँछन् ।
आरामदायी आवाज
वर्षाको सुगन्ध लिने र सास फेर्ने कुराले मात्र हामीलाई राम्रो महसुस गराउँदैन; यसको आवाज सुन्नुले पनि त्यस्तै काम गर्छ, त्यसैले तपाईंले प्रायः साउन्ड मेसिनहरूमा वर्षाको ट्र्याकहरू पाउनुहुन्छ । एकनासको वर्षाले कोर्टिसोलको स्तरलाई कम गर्न सक्छ, जसले शान्तिको अनुभूति गराउनुका साथै बाधा पुर्याउने आवाजहरूलाई दबाउन मद्दत गर्छ । अमेरिकाको मिसिगनस्थित साउथफिल्डमा आउटपेसेन्ट हेरचाहमा काम गर्ने क्लिनिकल अडियोलोजिस्ट एमी सारो भन्छिन्, ‘पानीको आवाज प्यारासिम्प्याथेटिक नर्भस प्रणालीको सक्रियतासँग जोडिएको छ, जुन आराम र रिकभरीमा संलग्न स्नायु प्रणालीको एउटा शाखा हो । जब यो प्रणाली सक्रिय हुन्छ, हामीले कम हृदय गति र तनाव प्रतिक्रियामा कमी जस्ता शारीरिक प्रभावहरू देख्न सक्छौँ ।’
भर्खरैको एउटा अध्ययनले ४० देखि ५० डेसिबल दायरा (हल्का, कोमल वर्षाको बराबर) भित्रको वर्षाको आवाज सबैभन्दा प्रभावकारी भएको फेला पारेको छ, जसले तनावको स्तरलाई ६५% सम्म कम गर्छ । भारी वर्षा, जुन अझ कम ब्राउन नोइज फ्रिक्वेन्सीमा पर्छ, त्यसले झन् बढी गहिरो र तल्लीन गराउने महसुस गराउन सक्छ, सारो भन्छिन्, र निद्रालाई बढावा दिन बाधा पुर्याउने आवाजहरूलाई दबाउन सक्छ । दुवै स्तरहरू शान्त हुन सक्छन् । सारो भन्छिन्, ‘यो प्रायः व्यक्तिगत छनोटमा भर पर्छ । यदि कोही व्यक्तिले जानाजानी यी आवाजहरूलाई आराम गर्ने दिनचर्याको भागको रूपमा सुन्छ भने, त्यो अनुभव माइन्डफुलनेस वा ध्यान अभ्याससँग मिल्दोजुल्दो हुन थाल्छ, जहाँ आवाजले ध्यान र आरामको लागि आधारको रूपमा काम गर्छ ।’
यद्यपि मेरो त्यो आँधी–वर्षाले मलाई ठ्याक्कै ध्यान अवस्थामा त पुर्याएन, तर यसले मलाई राम्रो महसुस गरायो र वर्तमान पलसँग थप जोडिएको महसुस गरायो । अब, हरेक पटक भारी वर्षा हुँदा, म त्यसमा डुबेर अलि बढी समय बिताउने प्रयास गर्छु । अर्को पटक तपाईंले मौसम पूर्वानुमानमा वर्षा देख्नुभयो भने, तपाईं पनि यो अनुभवमा सामेल हुने विचार गर्नुहोस् । तपाईं सुखद रूपमा आश्चर्यचकित हुनुहुनेछ ।
