२०८३ वैशाख २९ , मंगलबार 12, May 2026, Tuesday

सौराहाको हात्तीसारमा जन्मिए चार छावा

सत्यपाटीसत्यपाटी । चितवन । २०८३ वैशाख २९ गते मंगलबार

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा यस आर्थिक वर्षमा चारवटा छावा जन्मिएका छन् । गत आवमा दुईवटा छावा जन्मिएका थिए । थप एउटा हात्तीले यस वर्ष बच्चा जन्माउने अवस्थामा पुगेको छ ।

प्रजनन केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार तमोर, रिमझिम, लोकतन्त्र र तीर्थमान कलीले यस वर्ष छावा जन्माएका हुन् । तीर्थमान कलीले पोथी र अरुले भाले छावा जन्माएका छन् । हाल केन्द्रमा नौवटा माउ, एउटा तालिमे बच्चा र छवटा साना बच्चा छन् ।

तीमध्ये दुईवटा गत वर्षका हुन् भने चारवटा यसै वर्षका हुन् । हात्तीले गर्भधारण गरेको २२ देखि २४ महिनामा बच्चालाई जन्म दिने गर्दछन् । निकुञ्जभित्रका विभिन्न पोष्टमा गरी हात्तीको सङ्ख्या ५८ वटा रहेका थिए । गत वर्ष दुईवटा हात्ती कतार पठाइएको छ ।

वि.सं. २०४४ मा स्थापना भएको यस केन्द्रमा हालसम्म ६८ वटा बच्चा जन्मिसकेका छन् । यहाँका पोथी हात्तीलाई जंगली हात्तीले केन्द्रमा आएर गर्भधान गराउने गर्दछन् । ध्रुवे, रोनाल्डो, गोविन्दे र गत साल मरेको मकुनाले यहाँ पोथी हात्तीलाई प्रजनन गराउँदै आएका छन् ।

यसै महिनाबाट भीमगज र शेरगज नाम दिइएका दुईवटा जंगली हात्ती पनि केन्द्रमा आउन थालेका छन् । केही दिनअघि शेरगज र रोनाल्डोबीचमा केन्द्रमा लडाइँ भएपछि अन्य हात्ती र माउते त्रसित भएका थिए । यहाँ जन्मिएका हात्तीका छावालाई तालिम दिएर निकुञ्जका पोष्टहरूमा काम गर्न पठाउने गरिन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख २९ गते मंगलबार