काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्तभित्र थप १७ लाख थान ‘स्मार्ट’ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने भएको छ । यातायात व्यवस्था विभागसँग वैशाख ४ गते भएको दोस्रो चरणको सम्झौता अनुसार केन्द्रले वैशाख तेस्रो सातादेखि छपाइ सुरु गरिसकेको छ ।
केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाका अनुसार पहिलो चरणको सम्झौताअनुसार १२ लाख थान लाइसेन्स छापेर वैशाख पहिलो साता नै विभागलाई बुझाइसकिएको छ । हाल नौ इन्जिनियर र १६ प्राविधिक गरी २५ जना कर्मचारी छपाइ कार्यमा खटिएका छन् । केन्द्रले लाइसेन्सका साथै हुलाक सेवा विभागका लागि हालसम्म ३० लाख थान हुलाक टिकटसमेत छापेर हस्तान्तरण गरिसकेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमल्सिनाले केन्द्रको अनुगमन गर्दै बजेट अभावमा काम नरोकिने र एक वर्षभित्र केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना रहेको बताएका छन् । राहदानी, बैंक नोट र अन्तः शुल्क स्टिकर लगायतका सामग्री नेपालमै छाप्न सकिने यो केन्द्र पूर्ण रूपमा सञ्चालनमा आएपछि वार्षिक १० अर्ब रुपैयाँ बाहिरिनबाट जोगिने अपेक्षा गरिएको छ ।
सत्यपाटी