२०८३ वैशाख २९ , मंगलबार 12, May 2026, Tuesday

बाँकेमा आप्रवासी स्रोत केन्द्रबाट ६२५६ जना लाभान्वित

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख २८ गते सोमबार

बाँकेमा आप्रवासी स्रोत केन्द्रबाट छ हजार बढीले सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा रहेको आप्रवासी स्रोत केन्द्रबाट चालू आर्थिक वर्षको हालसम्म छ हजार २५६ जनालाई सेवा प्रदान गरिएको हो । तीमध्ये पुरुष चार हजार ४१८ जना र महिला एक हजार ८३८ छन् । सूचना तथा परामर्शकर्ता आस्था पोखरेलका अनुसार आप्रवासी स्रोत केन्द्रबाट सम्भावित कामदारलाई वैदेशिक रोजगारी सम्बन्धि सूचना, परामर्श र जानकारी प्रदान गरिन्छ ।

‘वैदेशिक रोजगारीमा जाने सम्भावित कामदारलाई काउन्सिलिङ्ग गर्छौं,’ पोखरेलले भनिन् । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले यसमा सहजीकरण गरिरहेको छ । २०७५ सालदेखि यो सेवा उपलब्ध भइरहेको छ । सेवा लिन आप्रवासी स्रोत केन्द्र आएका कोहलपुरका आरती पौडेल र कृष्णबहादुर खत्रीले आफूहरूले सूचना र परामर्श पाउँदा धेरै लाभान्वित भएको बताए । जिल्ला प्रशासनमा सूचना तथा परामर्शकर्ता दुई जना छन् ।

पोखरेल र विनिता बस्नेत परामर्शकर्ताको रुपमा कार्यरत छन् । कोहलपुरमा पनि उपकेन्द्र छ । सामीका जिल्ला कार्यक्रम संयोजक कमल सिंह नेपालीका अनुसार आप्रवासी स्रोत केन्द्र सामीको ‘मुटु’ हो जहाँबाट वैदेशिक रोजगारका सम्भावित कामदारले आवश्यक सूचना र परामर्श पाइरहेका छन् । नेपालीका अनुसार ठगी, अङ्गभङ्गका ६५ केश दर्ता भएकोमा १४ वटा समाधान भएका छन् ।

सामीले ३३ लाख ६५ हजार ठगी रकम सहजीकरण गरेको छ । गत आर्थिक वर्षको बाँकी ११ लाख ५० रुपैयाँ पनि सहजीकरण गरिएको छ । पत्रकारहरूको उपस्थितिमा आज जिल्ला प्रशासन कार्यालयस्थित आप्रवासी स्रोत केन्द्रमा गरिएको अनुगमनका क्रममा नेपालीले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने सामीले पाँच वटा थिममा काम गरिरहेको बताए ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सूचनामा पहुँच, न्यायमा पहुँच (कानुनी सहजीकरण), सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरतामा काम गरिरहेको छ । सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २८ गते सोमबार